Successfully Copied

तीजमा डिजाइनर पहिरन

हिजोआज टिनएजर मात्र होइन विवाहितहरूले पनि रातोका साथमा अरू रंगका पहिरन रुचाउन थालेका छन् ।

रुना मानन्धर गुरुङ, फेसन डिजाइनरइनोभ एट नागपोखरी तथा कुपन्डोल

परम्परागत रूपमा चलिआएको तीजको पहिरन अहिले आधुनिक डिजाइनर लुक्समा ढल्किएको छ । हिजोआजका महिलाहरू सरल, सहज एवं स्मार्ट लुक्स देखिने पहिरन लगाउन चाहन्छन् । तीजको पर्यायवाचीका रूपमा रहेको रातो रंगमा पनि फरकपन खोज्न थालिएको छ । अहिले रातो मात्र नभई अरेन्ज तथा पहेंलोको फरक सेड मिलाएका क्रिमसन रेड, लेमन एल्लो, गोल्ड, अरेन्ज आदि रंगमा प्याच वर्क, बोर्डर वा भराइमा मिक्स म्याच गरिएका डिजाइन आइरहेका छन् । रातो साडीमा सिल्भर भेल्भेट प्याचवर्क, रेडमा प्यारोट ग्रिनको कम्बिनेसन तथा अरेन्जको कम्बिनेस पनि यसपटकको तीजलाई लक्षित गरी बनाइएका साडीका कलर कम्बिनेसन हुन् ।  

हिजोआज पहिलेजस्तो तीज भन्नासाथ साडी नै लगाउनुपर्छ भन्ने चलन पनि घटेको छ । साडीकै झझल्को दिने डिजाइनर साडी गाउन, पेन्सिल साडी, ग्याडर साडी, लेहेंगा, लेहेंगा साडी आदि लगाई मोर्डन लुक्स प्राप्त गर्न सकिन्छ ।  लेहेंगा पनि आफ्नो शरीरको बनावट तथा छालाको रंग सुहाउँदो बनाएर अझ आकर्षक देखिन सकिन्छ । अहिले साडीमा बेल्ट लगाउने चलन पनि बढ्दो छ । साडीकै कलरमा र ब्लाउजको कलरसँग कन्ट्रास्ट हुने गरी बेल्ट लगाउँदा अरु भन्दा फरक देखिन्छ । बेल्ट भेल्भेट फेब्रिकमा भरेर बनाएको राम्रो हुन्छ ।  दिनभरिजसो भोकै बसेर घाम–पानी नभनी पूजापाठ एवं नाचगान गरिने भएकाले धेरै हेबी साडी लगाउन गार्‍हो हुन्छ । त्यसैले प्याच वर्क लगाउनु नै बेस हुन्छ तर कतिपय महिला तीजका दिन हेबी साडी नै लगाउन चाहन्छन् । उनीहरूका लागि हेबी देखिने तर हल्का बोर्डर वर्क तथा लेस प्याच गरिएका डिजाइन उपयुक्त हुन्छन् ।

यसैगरी तीजमा महिलाहरू टाउकोमा राख्ने चन्द्रमा, क्लिपदेखि लिएर चुरा, पोते, टीका, धागो, जुत्ता आदि सबै उत्तिकै महत्वका साथ छनोट गरी राम्रो देखिने प्रयासमा हुन्छन् । तीजका पहिरन बनाउँदा आफ्नो रूप, रंग र फिगरमा पनि उत्तिकै ध्यान दिनुपर्छ । दुब्ला वा अग्लाहरूलाई जस्तो पहिरन पनि सहजै सुहाउने भए पनि मोटा महिलाहरूले पहिरन छनोट गर्दा अलि विचार पुर्‍याउनु आवश्यक हुन्छ । मोटा महिलाहरूले  तीजमा साडी नै लगाउने हो भने जर्जेट फेब्रिक छान्नुपर्छ । नेटमा स्लिम देखिने भए पनि बडी देखिने हुँदा त्यति उपयुक्त मानिँदैन । मोटो जिउ भएकाहरूले धेरै हेबी साडी लगाउनु हुँदैन । सानो बोर्डर मात्र राख्दा दुब्लो देखिन सकिन्छ । क्रेपमा हल्का भरेर अलि लामो ब्लाउज लगाउँदा स्लिम देखिन्छ । लेहेंगा लगाउने हो भने नेटको लेहेंगामा लामो चोली बनाउने र सकेसम्म फिटिङ ब्लाउज लगाउँदा स्लिम देखिन सहयोग पुग्छ ।

नवदुलहीहरूका लागि हाफ सिल्भ वा कुहिनासम्मको बाहुला उपयुक्त हुन्छ । यसमा अगाडि जिपर लगाउने र मिरर ह्यान्ड इम्ब्रोइडरी गरिएको ब्लाउजले नवदुलहीको सौन्दर्य वृद्धि हुन्छ । साडी नै लगाउने बानी छ र त्यसलाई सम्हाल्न सकिन्छ भने लेस प्याच गरेर मोतीको वर्क गरी समर भेल्भेट वा प्रिन्टेड नेटमा हाफ बाहुला ब्लाउज बनाउँदा पनि हुन्छ ।  

बक्स

गीता बस्नेत ‘कुसुम’, कुसुम बुटिक, लाजिम्पाट

दर खान जाँदा 

तीजमा आफन्त एवं साथीहरूबीच तीज कार्यक्रमहरू पनि आयोजित भैरहेका हुन्छन् । दर खान जाँदा दर खानुका साथै नाचगान पनि हुने भएकाले सजिलो पहिरन छनोट गर्नु उपयुक्त हुन्छ । दरका लागि लङ लेन्थ कुर्ता विथ सरारा लगाउन सकिन्छ जुन टिनएजरदेखि चालीस नाघेकाहरूलाई एकदम राम्रो देखिन्छ । यस्तो पहिरनले मोटोलाई दुब्लो र होचोलाई अग्लो देखाउँछ । यसमा वर्क मन पराउनेहरूले वर्क गराउन सक्छन् भने प्याच वर्क मात्र पनि गर्न सकिन्छ । यसले पार्टी लुक्स दिनुका साथै स्मार्ट र भिन्न देखाउँछ । साडी नै लगाउन चाहनेहरूले मुजा फिक्स गरी तयार पारिएको साडी लगाउन सक्छन्। 

कलर तथा फेब्रिक

तीज भन्नासाथ रातो रंग भन्ने कन्सेप्ट आइहाल्छ तर अहिले तीजमा रातो रंगका साथै अरू ब्राइट कलर पनि प्रयोग हुन थालेका छन् । हिजोआज टिनएजर मात्र होइन विवाहितहरूले पनि रातोका साथमा अरू रंगका पहिरन रुचाउन थालेका छन् । लाइट पिंक, ग्रिनको एल्लो सेड, लेमन ग्रिन, पिच, डार्क पर्पल, रानी, रोयल ब्लु गोल्ड, लेमन एल्लो तथा अरेन्ज कलरहरू तीजका पहिरनमा प्रयोग गर्न सकिन्छ । यी रंगहरूले भदौको गर्मीमा शीतल महसुस गराउँछन् । होइन रातै साडी लगाउँछु भन्ने हो भने ब्लाउजलाई फरक कलरमा हेबी वर्क गर्न सकिन्छ । रातोमा गोल्डेन, अरेन्ज, एल्लो, पर्पल आदि  कलर पनि त्यत्तिकै सुहाउने भएकाले प्लेन रातो साडीमा ब्लाउजमा बोर्डर तथा गला तथा हात आदिमा प्याच वर्क प्रयोग गरी हेबी लुक्स दिन सकिन्छ । तीजको पहिरनका लागि अहिले ब्रोकेट, सिल्क, जर्जेट, क्रेप सिल्क आदिलाई मिक्स एण्ड म्याच गरी फरक स्टाइलमा प्रयोग गर्न थालिएको छ।

तस्विरहरु : महेश प्रधान

 Image