Successfully Copied

मिस नेपाल अस्मि श्रेष्ठ

मिस नेपालको उपाधिसँगै अब उनको एउटै सपना छ मिस वल्र्डमा आफूलाई उत्कृष्ट साबित गर्ने ।

सधैं सकारात्मक सोच राख्नुपर्छ भन्ने मान्यता बोकेकी युवती हुन्–अस्मि श्रेष्ठ । कुनै पनि कुरामा लागिपर्ने हो भने अवश्य सफल हुन सकिन्छ भन्ने कुरा अस्मिले मिस नेपालको उपाधि जितेर पुष्टि गरिन् । मिस नेपाल हुनकै लागि उक्त प्रतियोगितामा सहभागी भएकी श्रेष्ठ ब्युटी प्याजेन्टमार्फत देशको प्रतिनिधित्व गरेर केही फरक सफलता आत्मसात् गर्न चाहन्छिन् । मिस नेपालको उपाधिसँगै अब उनको एउटै सपना छ मिस वल्र्डमा आफूलाई उत्कृष्ट साबित गर्ने । पत्रिकाको फोटोसुटबाट करियर प्रारम्भ गरेकी अस्मि फेस अफ क्लासिक डायमण्डको उपाधि जितेपछि र्‍याम्प मोडलिङ तथा पेपर एडहरूमा छाइन् । किशोरावस्थादेखि नै मोडलिङमा लागेकी अस्मि यो क्षेत्रलाई कहिल्यै नछोड्ने बताउँछिन् । यो वर्ष मिस नेपाल भएपछि आफूमा थपिएका जिम्मेवारीहरूका कारण मोडलिङमा त्यति सक्रिय हुन नसके पनि अर्काे वर्षदेखि त्यसलाई निरन्तरता दिने उनको सोच छ । 

अस्मिलाई म्युजिक भिडियो तथा चलचित्रमा आउने रहर भने छैन । इसिएस लाइफमा कार्यक्रम चलाएको अनुभव भए पनि उनलाई मिडियामा जम्ने रहर छैन । बरु अस्मिले उद्यमीका रूपमा स्थापित हुने सपना सजाएकी छिन् । साहसिक पर्यटनमा रुचि राख्ने अस्मि हाइकिङ, प्याराजम्प, साइकिलिङ, बन्जी जम्प आदिमा रुचि राख्छिन् । छिट्टै कसैसँग घुलमिल हुन नसक्ने श्रेष्ठ आवश्यक कुरा मात्र बोल्छिन् । मिस नेपालको उपाधि जितेपछि विभिन्न अन्तर्वार्ता तथा फोटोसुटमा व्यस्त श्रेष्ठ अब भने मिस वल्र्डको तयारीमा लाग्ने बताउँछिन् । 

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप : सानु गुरुङ्ग

पहिरन : उत्तम बनेपाली, उत्तम्स् क्रियशन्स्, कुपण्डोल

लोकेशन : हिमालयन होटल, वुमन्स हेल्थ क्लब, कुपण्डोल

 Image