Successfully Copied

एक्लो सन्तानको विवाह

जब छोरीको विवाह एक्लो सन्तानसँग तय हुन्छ त्यहाँ छोरीले सुख तथा समृद्धि प्राप्त गर्छे भन्ने विश्वास गरिन्छ । राम्रो परिवारको एक्लो छोरासँग विवाह हुनुलाई हाम्रो समाजमा निकै ठूलो उपलब्धि मानिन्छ । यस विषयमा हाम्रो समाजमा निकै चर्चा हुन्छ । तथापि यसका राम्रा तथा

जब छोरीको विवाह एक्लो सन्तानसँग तय हुन्छ त्यहाँ छोरीले सुख तथा समृद्धि प्राप्त गर्छे भन्ने विश्वास गरिन्छ । राम्रो परिवारको एक्लो छोरासँग विवाह हुनुलाई हाम्रो समाजमा निकै ठूलो उपलब्धि मानिन्छ । यस विषयमा हाम्रो समाजमा निकै चर्चा हुन्छ । तथापि यसका राम्रा तथा नराम्रा दुवै पक्ष छन् ।

सबै यसको हो 

विवाहको कुरा चल्दा आफ्नो छोरा होस् वा छोरी एक्लो सन्तान हुनेहरूले भएको आफ्नो सरसम्पत्ति सबै एक्लो सन्तानको हो भन्ने भाव प्रकट गर्छन् । भोलिको दिन कसैको बसमा हुँदैन । पैसाका तीन नेत्र हुन्छन् । सम्बन्ध बिग्रदै जाँदा आमाबाबुको सम्पत्ति सामाजिकीकरण पनि हुनसक्छ । छोराबुहारीको व्यवहार राम्रो भएन भने सासू–ससुराले आफ्नो सम्पत्ति उनीहरूलाई नदिन सक्छन् । त्यसलाई उनीहरू दान दिन पनि सक्छन् । त्यसैले आमाबाबुको सम्पत्तिलाई मात्र विवाहको मापदण्ड मान्नु हुँदैन । आमाबाबुको  सबै कुरा आफ्नो हो भनेर सम्झदा आफ्नो काम गर्ने शैलीमा बाधा पर्न सक्छ । हाम्रो समाजमा आमाबुवाको सम्पत्तिमा रजाइँ गर्ने सन्तानको कमी छैन । त्यसैले आफ्नो बलबुतामा सम्पत्ति आर्जन गर्नुपर्छ । 

केटीको परिवार हाबी 

केटा पट्टिको सन्तानमा कमी छ भने छोरी पट्टिको परिवारको दख्खलअन्दाजी बढी हुन्छ । केटीतिरकाले हामी नै यो परिवारका सबैभन्दा नजिकका हौं हाम्रो राज हुनुपर्छ भन्ने जस्तो मनसाय बनाउँछन् । यसबाट घरपरिवारको उत्साह भंग हुन सक्छ । यस्तो अवस्थामा छोरीको घरमा कुनै प्रकारको उत्सव हुनेबित्तिकै माइतीका मानिसहरूको भीड लाग्छ । सानो परिवार भएका घरपरिवारले वास्तवमा ठूलो परिवारमा सम्बन्ध गाँस्न मन पराउँछन् । उनीहरूलाई आफूकहाँ मानिसहरू आवतजावत गरेको मनपर्छ । किनभने उनीहरूलाई सानो परिवारको कमी–कमजोरीको अनुभव भैसकेको हुन्छ । तैपनि यसो भन्दैमा आफ्नी चेलीको घरमा सदैव डेरा जमाउनु उनीहरूको व्यवहारमा हस्तक्षेप गर्नुभने जायज होइन । 

एक्लो हुनु हुँदैन 

एक्लो छोराको विवाह हुनेबित्तिकै आमाबाबुहरू आफूले अर्की एउटी छोरी पाएको अनुभव गर्छन् । छोरी पाएपछि उनीहरू एकल महसुस गर्दैनन् । एक्लो सन्तानमा एकाकीपन हुन्छ । उनीहरूमा सबै कुरा मेरै हो भन्ने भान हुन्छ । कुनै पनि आफ्ना कुरा अरूलाई बाँड्न मन पराउँदैनन् । यस्तो अवस्थामा विवाहपछि कलह हुने सम्भावना प्रबल हुन्छ । कसैकसैमा त आफूले पाएको सन्तानलाई आफ्ना आमाबाबुले बढी माया गर्दा असहज महसुस हुन्छ । 

केयरिङ तथा सेयरिङ

एक्लो छोराको विवाह वास्तवमा एउटा चुनौती नै हो । एक त एक्लो सन्तानलाई निकै माया गरेर लालनपालन गरिएको हुन्छ । उनीहरू जन्मदै सुनको चम्चा लिएर जन्मन्छन् । उनीहरूका हरेक चाहना आमाबाबुले पूरा गर्छन् । त्यसैले उनीहरूमा आफूलाई सबैले केयर गर्नुपर्छ भन्ने भावना रहन्छ । उनीहरू अरुको विषयमा त्यत्ति वास्ता गर्दैनन् । उनीहरूमा आफ्नो भन्ने भावना हाबी हुन्छ  । त्यसैले श्रीमतीका रूपमा कोही उसको जीवनमा प्रवेश गर्छ भने त्यसलाई उनीहरू सहर्ष स्वीकार गर्न सक्दैनन् । आफ्नो वस्तु तथा अरू सामग्रीहरू शेयर गर्ने विषयमा पनि उनीहरू खुल्न सक्दैनन् । उनीहरूमा हाम्रो भन्दा मेरो भन्ने भावना बढी हुन्छ । सबैले आफूलाई केयर गर्ने भएकाले अरूको केयर गर्ने बानी पनि उनीहरूमा हुँदैन । यस्तो भए श्रीमान्–श्रीमतीबीच कलह हुनसक्छ । कहिलेकाहीँ परिवारमा आए पनि श्रीमान्को व्यवहारका कारण एक्लो महसुस गर्छन् । उनीहरू मनमा धेरै कुरा गुम्साएर बाँच्न बाध्य हुन्छन् । सबै कुरा पुगे पनि उनीहरूमा मनको शान्ति भने कम हुन्छ । 

हरेक एक्ला सन्तान उस्तै हुँदैनन् 

सबैमा एकाकीपनको हस्तक्षेप हुँदैन । कोही–कोही एक्ला भए पनि भीडभाडमा बस्न रुचाउने, आफ्ना सामग्रीहरू बाँड्न रुचाउने खालका हुन्छन् । जमघट तथा परिवारबीच रमाउन चाहन्छन् । आफ्नो तथा आफ्नो ससुराली एउटै परिवार हो भनी आफ्ना हरेक कुरा शेयर गर्न रुचाउँछन् । आफ्नो दु:खजस्तै अरूको पनि दु:ख हुन्छ भन्ने कुरा उनीहरूलाई अनुभव हुन्छ । उनीहरूलाई सामूहिक जीवन बिताउन रमाइलो लाग्छ । त्यसमा आमाबाबुले राम्रो संस्कार दिनुपर्छ । आमाबाबुले दिने संस्कारले पनि छोराछोरीको आनीबानीमा परिवर्तन ल्याउँछ । उनीहरूलाई धेरै माया गरेर बिगार्नु हँुदैन । आमाबाबुले दिने संस्कार छोराको भविष्य हो । यसले दाम्पत्य जीवनमा पनि असर पुर्‍याउँछ । एउटै मात्र सन्तान छ भने पनि उसलाई सामूहिक हिसाबले लालनपालन गर्नुपर्छ । 

 

 Image