विनीता पन्त, डाइटिसियन, अल्का अस्पताल
जाडो महिनामा कस्तो खाना खानु उचित हुन्छ ?
जाडो होस् वा गर्मी, हरेक मौसममा सन्तुलित खाना (अन्न, दाल, गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्लो समावेश भएको खाना) खानु आवश्यक हुन्छ । जाडो मौसममा चिसोले सताउने भएकाले तातो खानेकुरा खानुपर्छ । तातोमा बस्दा तथा तातो कपडा लगाउँदा शरीर सुख्खा हुन सक्ने भएकाले झोल खानेकुरामा जोड दिनुपर्छ भने शरीरलाई प्रतिरक्षात्मक शक्ति वृद्धि गर्ने फलफूल र तरकारीजस्ता भिटामिन र खनिजयुक्त खाद्य पदार्थको मात्रा बढाउनुपर्छ । लसुन, अदुवा, दालचिनीको पात वा बोक्रा, मरिच, टिम्मुर आदिलाई तरकारी तथा सूपमा समावेश गर्नु उपयुक्त हुन्छ ।
जाडो मौसममा उमेरअनुसार कस्तो खाना खानुपर्छ ?
उमेरअनुसार पौष्टिक तत्वको मात्रा फरक पर्ने भएकाले खानाको मात्रा र तरिका त फरक पर्छ नै तर पनि खाना सन्तुलित नै हुनुपर्छ । स–साना शिशु, बालबालिका एवं बूढाबूढीलाई चिसोले बढी सताउने भएकाले तातो तरकारीको सूप, मासुको सूप, गेडागुडीको सूप, तातो दूधका साथै फलफूलहरू खान दिनुपर्छ जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।
जाडो महिनामा तातो खाना खानुपर्ने कारण के होला ?
शरीरलाई तातो तथा स्वस्थ राख्न तातो खानेकुरा खानु उपयुक्त हुन्छ । यसले गर्दा चिसोका कारणले हुने रुघाखोकी, निमोनिया तथा दमको समस्याबाट जोगिन सकिन्छ ।
के जाडो मौसममा चिया फाइदाजनक छ ?
थोरै मात्रामा चिया वा कफी (दिनमा १–२ कप) खान सकिन्छ तर स्वास्थ्यका लागि फाइदाजनक भने मान्न सकिँदैन । क्याफिनले शरीरमा विभिन्न भिटामिन तथा खनिजको शोषणमा अवरोध पुर्याउँछ ।
जाडोमा बढी खाना रुच्नुको कारण के होला ?
बाहिरी तापक्रम कम भएकाले शरीरको तापक्रम ठीक राख्न बढी क्यालोरी खर्च हुन्छ । त्यसकारण आवश्यकताअनुसार माग पनि बढी हुन्छ र खाना बढी खान मन लाग्छ ।
रुघाखोकी लाग्नबाट जोगिन कस्ता खानेकुरा खानुपर्छ ?
मौसम परिवर्तनसँगै तातो वा चिसोका कारण रुघाखोकी लाग्छ । यसबाट जोगिन ताता झोल खानेकुरा खानुपर्छ । खानामा अमला, अम्बा, सुन्तला, मौसम, कागती, आँप, मेवा, लट्टेको साग, बन्दा, पालुङ्गो, करेला, चुकन्दर आदि भिटामिन सीयुक्त खानेकुरा समावेश गर्नु उपयुक्त हुन्छ ।