हरेक पल नयाँ कुरा सिकौं भन्ने सोचका साथ अघि बढिरहेकी १७ वर्षीया युवती हुन्–आना शर्मा । गत वर्ष युवापुस्तालाई लक्षित गरी निर्माण गरिएको जेरीमा उनी नायिकाका रूपमा देखा परिन् । धेरै नयाँ युवतीबाट तस्बिर हेरेर उनलाई छानिएको हो । एक वर्षअघि प्रदर्शित जेरीमार्फत उनले पर्याप्त प्रशंसक बटुलिन् तर अन्य धेरै चलचित्रका अफर भने अस्वीकार गर्दै गइन् । आना भन्छिन्, ‘आफूले सोचेजस्तो स्क्रिप्ट तथा पात्र नभएकाले अरू चलचित्रमा नदेखिएकी हुँ ।’ आनाले चलचित्र जेरीबाटै नेफ्टा नवनायिकाको अवार्ड प्राप्त गरेकी थिइन् । उनी ह्याविट फोर ह्युमानेटड नेपालकी युथ एम्बेसडर पनि हुन् भने पोलिलाइड क्यामेराको फेस अफ पोलिलाइड पनि हुन् ।
भविष्यमा सफल उद्यमीका रूपमा आफूलाई स्थापित गर्ने सपना पालेकी आनामा आफूले हात हालेको कुनै पनि काम पूरा नगरी नछोड्ने स्वभाव छ । कुनै कुरामा पनि नहड्बडाउने तथा नआत्तिने आनाको रुचि पढ्ने तथा बेकिड गर्ने हो । कोरियोग्राफर आमा रचना गुरुङ शर्माकी कान्छी छोरी आनालाई मिस नेपालमा भाग लिने रहर कहिल्यै भएन तर सन् २००२ को मिस नेपालदेखि को मिस नेपाल हुन्छिन् भनेर आफूले गरेको भविष्यवाणी ठ्याक्कै मिलेको उनले बताइन् । आना धेरैजसो समय गीत सुनिरहेकी हुन्छिन् । फुर्सदमा दिदी अमालियासँग हलमा पुगेर चलचित्र हेर्न रुचाउने आना आफूलाई सजिलो हुने पहिरनमै सजिन्छिन् । विभिन्न देशका परिकार चाख्न रुचाउने शर्मा नियमित बास्केटबल खेल्नुका साथै जिम पनि जान्छिन् ।
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : सविना महर्जन अवाले, लाइक्रा बुटिक, कुपन्डोल
मेकअप तथा हेयर स्टाइल : स्वस्तिका राजभण्डारी, स्वस्तिका मेकअप स्टुडियो, कुपन्डोल
लोकेसन : ब्लुम डिजाइन स्टुडियो, झम्सिखेल, ललितपुर