‘म मरें भने’
म मरें भने, मेरा चिसा भएका पैतालालाई , चिसै माटोमा धस्काइदिनू म बाँच्दा तिनै माटोमा, तिनै पैतालाले संसार डुलेकी थिएँ

घरमा सरसामग्रीलाई व्यवस्थित ढंगबाट राख्न सक्नु पनि एउटा कला हो । सीमित ठाउँमा पनि बढीभन्दा बढी सामग्री सम्हालेर राख्न सके घर व्यवस्थित देखिन्छ ।
बेडरुम घरको त्यस्तो विशेष स्थान हो, जहाँ आफूलाई आवश्यक पर्ने सरसामग्रीको उपस्थिति सबैभन्दा बढी हुन्छ तर यहाँ वार्डरोबलाई व्यवस्थित राख्नु अत्यन्त कठिन कार्य हो । यसबाट जोगिन दुईवटा वार्डरोब बनाउनुपर्छ । एउटामा फर्मल र अर्कोमा क्याजुयल आउटफिट्स राख्नुपर्छ । त्यसो गर्न सम्भव छैन भने एउटै वार्डरोबमा आफ्ना कपडालाई अलग–अलग सेल्फमा व्यवस्थित गर्नुपर्छ ।
पन्जा, मोजा, रुमालजस्ता स–साना कुरा खोज्न बढी समय खेर जान्छ । त्यसैले वार्डरोबमा एउटा छुट्टै ड्रयर हुनुपर्छ, सम्भव नभए साना सामग्रीलाई कुनै ब्यागमा अलग्गै राख्नुपर्छ ।
मौसमअनुसार कपडाको आवश्यकता परिवर्तन हुन्छ । यस्तोमा कपडा सुरक्षित राख्न बक्स बेड राम्रो विकल्प हुनसक्छ । यसबाट कम ठाउँमा बढी सामग्री सुरक्षित राख्न सकिन्छ ।
ज्वेलरी तथा अन्य यस्तै खालका एसेसरिजका लागि बेडरुममा ड्रेसिङ टेबलका साथमा भर्टिकल स्टोरेजको व्यवस्था हुनुपर्छ ।
बेडरुमका लागि त्यस्तो साइड टेबल छनोट गर्नुपर्छ, जसको मुनितिरको भागमा दैनिक आवश्यकताका स–साना सामग्री राख्न पर्याप्त ठाउँ होस् ।
सानो ठाउँमा बढीभन्दा बढी सामग्री राम्रोसँग राख्न घरको हरेक बेडरुममा सिलिङ सेल्फको व्यवस्था गर्नुपर्छ । यसमा त्यस्ता सरसामान राख्नुपर्छ जसको प्रयोग त्यति गरिँदैन ।
किचनको भित्री भित्ता मोटो छ भने काटेर क्रकरी राख्ने क्याबिनेट बनाउन सकिन्छ ।
किचनको सफाइमा जोडिएका सामग्री जस्तै डस्टर, क्लिनिङ ब्रस र लिक्विड सोप आदि राख्न सिन्क तल सानो खालको कबर्ड एरिया हुनुपर्छ ।
सरसामान व्यवस्थित राख्न मोड्युलर किचन धेरै राम्रो विकल्प हो ।
हिजोआज ड्रइङ रुमका लागि पनि स्टोरेज फ्रेन्डली फर्निचरको प्रयोग बढ्दो छ । सोफामा पनि बक्स बेड जस्तै सामान राख्ने ठाउँ बनाउन सकिन्छ । यसबाहेक सेन्टर टेबलभित्र पनि यस्तो ड्रयर हुन्छ, जसमा पत्रपत्रिका राख्न सकिन्छ ।
ड्रइङ रुम र लबीको कुनामा सेल्फ राख्नु राम्रो हुन्छ । यसबाट स–साना सो–पिस तथा फोटो फ्रेम सजाउने ठाउँ प्राप्त हुन्छ ।
घरको भित्री भागमा भर्याङ छ भने मुनितिरको खाली ठाउँमा स्लाइडिङ डोर लगाएपछि त्यसको प्रयोग स्टोरेज एरियाका रूपमा गर्न सकिन्छ । त्यहाँ ती सामग्री राख्न सकिन्छ, जसको दैनिक प्रयोग हुँदैन तर सम्हालेर राख्नु आवश्यक छ ।
बालबालिकाहरूको कोठामा स्टोरेजको व्यवस्थाका साथै पढ्न र इन्डोर गेम्स खेल्न पर्याप्त खुला ठाउँ हुनुपर्छ । उनीहरूको बेडमुनि दराज हुनुपर्छ जसले गर्दा बालबालिकालाई आफ्ना सरसामान निकाल्न असुविधा हुँदैन ।
स्टडी टेबलका साथमा एउटा क्लिप वार्ड हुनुपर्छ, जहाँ बोर्ड पिनको सहायताले आवश्यक पेपर्स अटेच गर्न सकियोस् ।
कोठाको एउटा कुनामा एउटा ठूलो सेल्फ बनाउनुपर्छ, जसमा बालबालिकाहरूका स्कुले ब्याग तथा प्रोजेक्ट वर्कसित जोडिएका सरसामान राख्न सकियोस् ।
बालबालिका साना भए कोठामा आकर्षक डिजाइनयुक्त प्लास्टिक कन्टेनर हुनुपर्छ, यसमा उनीहरूका खेलौना सम्हालेर राख्न सकिन्छ ।
घर सफा र व्यवस्थित देखिन घरको कुनै एउटा भागमा सानो युटिलिटी एरिया हुनुपर्छ जहाँ घरको सफाइसम्बन्धी सरसामान, लन्ड्री, ब्याग, सु–र्याक, कपडा प्रेस गर्ने टेबल तथा टुल बक्स आदि राख्न सकियोस् ।
बाथरुममा पनि वास बेसिनमुनि खाली ठाउँमा सेल्फ र ढोका लगाएर त्यसको प्रयोग टोइलेट्रिज राख्न सकिन्छ ।
हरेक दुई–तीन महिनाको अन्तरालमा घरका अनावश्यक सरसामान हटाउनुपर्छ । यसबाट राम्रो र नयाँ सरसामानका लागि सधैं ठाउँ तयार भैरहन्छ ।