मेडिकल रिप्रेजेन्टेटिभ अर्थात् एमआर पनि महिलाका निम्ति उपयोगी हुनसक्छ । धैर्यवान्, शालीन एवं नम्र व्यवहार भएकाहरूले यो क्षेत्रमा प्रगति गर्न सक्छन् । यद्यपि यो जति आकर्षक छ उत्तिकै चुनौतीपूर्ण र संवेदनशील पनि छ । यो मानव स्वास्थ्यसँग सोझो सम्बन्ध राख्ने काम हो ।
बारम्बार चिकित्सकसँग साक्षात्कार गर्नु, आफ्ना उत्पादनका बारेमा विश्वास दिलाउनु यो पेसाको आकर्षण र चुनौती हो । एमआरले आफूलाई सधै सफा, स्वस्थ, आकर्षक एवं सभ्य रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । अंग्रेजी भाषामा राम्रो दख्खल, कम्युनिकेसन स्किल, मार्केटिङ ज्ञान, बोलीमा मिठास र प्रभावशाली व्यक्तित्व एमआरका लागि आवश्यक गुण हुन् । एमआरले कुनै पनि कम्पनीले उत्पादन गरेको औषधिको बजार प्रवद्र्धन गर्छ । कुन कम्पनीको औषधि हो, कति मूल्य पर्छ, अन्य औषधि भन्दा के फरक छ, यसको प्रभावकारिता आदिका सम्बन्धमा जानकारी गराएर बिक्री गर्न सक्नुपर्छ । यसका लागि उनीहरूमा औषधिसम्बन्धी ज्ञानका अतिरिक्त त्यसको सबल पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने क्षमता पनि हुनुपर्छ ।
एमआरले चिकित्सकसँग प्रत्यक्ष भेटेर आफ्नो परिचय, कम्पनीको परिचय, औषधि (मोलिक्युल) आदि विषयमा जानकारी दिनुपर्छ भने अरू मोलिक्युलभन्दा आफ्नो मोलिक्युल किन प्रभावकारी छ भन्ने कुरा बुझाउन सक्नुपर्छ । यसरी आफ्नो कम्पनीको औषधिप्रति चिकित्सकलाई आकर्षित गर्नु नै एमआरको सफलता हो ।