Successfully Copied

संसारले नचिनेकी साकिरा

सन्तान जन्माएपछि कोलम्बियाली पप गायिका एवं नर्तकी साकिरा इजाबेल मुबारक रिपोलको खुसीको ठेगाना छैन । उनलाई गायिका, गीतकार, नर्तक, रेकर्ड निर्माता, कोरियोग्राफर एवं मोडलका रूपमा मात्र चिन्नेहरूलाई यो मातृप्रेम देखेर अचम्म लाग्न सक्छ ।

सन्तान जन्माएपछि कोलम्बियाली पप गायिका एवं नर्तकी साकिरा इजाबेल मुबारक रिपोलको खुसीको ठेगाना छैन । उनलाई गायिका, गीतकार, नर्तक, रेकर्ड निर्माता, कोरियोग्राफर एवं मोडलका रूपमा मात्र चिन्नेहरूलाई यो मातृप्रेम देखेर अचम्म लाग्न सक्छ । सन् १९९० को सुरुवातमा कोलम्बिया र ल्याटिन अमेरिकी संगीतमा देखापरेकी साकिराको यो बालप्रेम नयाँ वा अन्य आमाझैं सीमित छैन । उनले पहिलेदेखि नै बालबालिकाका लागि काम गर्दै आएकी छिन् ।

सन् २०१० को वल्र्ड कपमा ‘वाका वाका’ गीतमा सबैलाई झुमाउने, ग्रेमीसहित थुप्रै पुरस्कार पाएकी तथा टेलिभिजनका लागि अभिनयसमेत गरेकी साकिराको जीवनको आधार एवं लक्ष्य नै बालप्रेम हो । भनिन्छ, उनको शरीर संगीतको लयमा मच्चिए पनि मुटु भने निर्दोष एवं असहाय बालबालिकाका लागि धड्किन्छ । परिवारको आर्थिक अवस्था खस्किएपछि भएको एक घटनाले उनलाई सर्वाेत्तम नारी बनाएको हो । सारा विश्वलाई आफ्नो प्रेमी बनाएकी साकिराको वास्तविक रूप त्यही कारणले अझ सुन्दर छ । ३६ वर्षको उमेरमा दौडिरहेकी साकिरा गरिब एवं बेसहारा बालबालिकाका लागि काम गर्छिन् । उत्कृष्ट कलाकार साकिराको यो पक्षको चर्चा नगर्दा उनीप्रति साँच्चिकै अन्याय हुन्छ । अधिकांशलाई आफ्नो करिअरको मात्र चिन्ताले यो उमेरमा साकिराको मानवतालाई महत्व दिएकी छिन् । गायिकाका रूपमा परिचय हुन लागिरहेकै बेला बालसेवा सुरु गरेकी साकिराले १८ वर्षदेखि आफ्नो मुुलुक कोलम्बिया तथा वरिपरिका ल्याटिन अमेरिकी मुलुकमा असहाय बालबालिकाहरूका लागि फाउन्डेसन चलाइरहेकी छिन् । उनको फाउन्डेसनद्वारा निर्मित स्कुलमा समाज एवं परिवारबाट उपेक्षित बालबालिकाको स्वास्थ्य एवं शिक्षामा ध्यान दिइन्छ । युनिसेफको गुडविल एम्बेसडर साकिरा विपन्न नागरिकका लागि धन जुटाउन गल्ली, चोक एवं टोलहरूमा ‘बेनेफिट कन्सर्ट’ गर्दै हिँड्छिन् ।

उनी अन्य सेलिब्रेटी एवं कलाकारझैं सञ्चारमाध्यमलाई बोलाएर सामाजिक सेवाको विज्ञापन गराउँदिनन् । उनी यसलाई दायित्वका रूपमा लिन्छिन् । आफूलाई चर्चामा राख्न तथा सस्तो लोकप्रियता पाउन वृद्धाश्रममा चाउचाउ, बिस्कुट र लुगा बाँडेको समाचार तथा तस्बिर छपाउने कलाकारहरूले साकिराबाट पाठ सिक्नुपर्छ । 

साकिराले आठ वर्षको उमेरमै ठूलो भएर बालबालिकाका लागि केही गर्ने मन बनाइसकेकी थिइन् । त्यतिबेला न त उनीसँग धन थियो, न त करिअर । सञ्चार माध्यममा कमै आएको उनको यो अलग रूपका पछाडि पनि मार्मिक कथा छ । २८ वर्षअघि उनका पिता आर्थिक रूपमा टाट पल्टिएका थिए । खान–लाउन धौधौ परिरहेको बेला अभिभावकले साकिरालाई अमेरिकाको लसएन्जेल्सस्थित नातागोताकहाँ बस्न पठाएका थिए । अमेरिकामा केही समय बिताएर कोलम्बिया फर्कदा सबै कुरा समाप्त भैसकेको थियो । परिवारजन लगभग सडकमा आइसकेको हुनाले उनले आफ्नो अगाडि अन्धकार मात्र देखेकी थिइन्, उनलाई आफ्नो चाहना र संसार समाप्त भैसकेको अनुभव भैरहेको थियो । संसारमा मानिसहरू आफूहरूभन्दा पनि दयनीय अवस्थामा बाँचिरहेका छन् भन्ने कुरा देखाउन पिताले उनलाई त्यतिबेला एउटा बगैंचामा लगे, जहाँ खुला आकाशमुनि अनाथ बालबालिकाहरूले आश्रय लिएका थिए । ती स–साना बालबालिकाको पीडादायक अवस्था देखेपछि साकिराले त्यतिबेलै प्रसिद्ध कलाकार बनेर धेरै पैसा कमाउने र पहुँचविहीन बालबालिकाको सेवा गर्ने अठोट गरिन् ।

कोलम्बियाली सहर बारानक्विलामा सन् १९७७ को २ फरबरीमा जन्मिएकी साकिरा जब आफ्नो बाल्यकाल सम्झन्छ्नि् उनको अनुहारमा उज्यालो मुस्कान छरिन्छ । ‘म जब चार वर्षकी थिएँ, बुबाले अरबी रेस्टुराँमा लानुभएको थियो, त्यहाँ अरबी संगीतमा ब्याली डान्स भैरहेको थियो, उनी भन्छिन्, ‘थाहै नपाई म मस्त भएर नाच्न थालें । साकिरा भन्छिन्–‘मलाई त्यतिबेलै थाहा भैसकेको थियो कि आउने समयमा म पनि एक प्रस्तोता र मञ्चको कलाकार बन्न गैरहेकी छु ।’ 

उनी सानैदेखि विशेष प्रतिभाकी धनी थिइन् । उनले चार वर्षको उमेरमा पहिलो कविता रचेकी थिइन् । सात वर्षको उमेरमा आफैले कविताहरू टाइप गर्न थालेकी थिइन् । बाल्यकालमा लेखिएका कवितामध्ये केहीले उनको करिअरमा गीतको रूप लिए । उनी विद्यालयमा पनि मित्र तथा अध्यापकहरूलाई गीत सुनाउँथिन् । हुन त दुई कक्षामा पढ्दा नै आवाजमा कम्पनका कारण उनी समूह गायनमा छनोट हुन पाइनन् तर उनको जाँगरलाई कसले चुनौती दिन सक्थ्यो र ? ठूलो कलाकार बन्ने सपना बोकेकी साकिराले हिम्मत हारिनन् । उनी हरेक साता नयाँ गीत सिकेर प्रत्येक शुक्रबार हुने बालसभामा ब्याले डान्स प्रस्तुत गर्थिन् ।

यतिबेलादेखि नै उनमा ‘लाइभ फरफार्मेन्स’ प्रति रुचि उत्पन्न भैसकेको थियो । उनी पिता विलियम मुबारक छादिद तथा आमा निडिया रिपोलकी एक्ली सन्तान थिइन् । उनका पिताको पहिलो विवाहबाट भने ८ सन्तान थिए । त्यसैले उनको घरमा होहल्ला र मस्ती चलिरहन्थ्यो । मूलत: लेबनानी नागरिक उनका पिता पाँच वर्षको उमेरमा सपरिवार कोलम्बिया आइपुगेका थिए । सम्भवत: साकिराका नसा–नसामा बगिरहेको अरबी रगतले उनलाई ब्याले डान्सको रोल मोडल बनाउन सघायो । तेर्‍ह वर्षको उमेरमै उनको पहिलो एल्बम बजारमा आइसकेको थियो । उनले आफ्नो जन्मभूमिमा भने त्यसअघि नै पहिचान बनाइसकेकी थिइन् । कोलम्बियामा मात्र सार्वजनिक भएका उनका दुई एल्बमले प्रशंसा पाए पनि कमजोर बजार प्रवद्र्धनका कारण सफल हुन सकेनन् । आफ्नै म्युजिक ब्रान्डमा एल्बम निकाल्न थालेपछि भने उनी रातारात चर्चित भइन् । सन् १९९९ मा सार्वजनिक साकिराको एउटा एल्बम संसारभरि ७० लाखप्रति बिकेको थियो । 

साकिराले लक्ष्यतर्फ केन्द्रित भएर पाइला अघि सार्दै युवा उमेरको सुरुवाती वर्षलाई संगीतप्रति समर्पित गरिन् । उनी २३ वर्षकी हुँदा अर्जेन्टिनाका राष्ट्रपतिका छोरा एवं अधिवक्ता एन्टोनियो डेला रुआको मित्रता एवं प्रेममा परेकी थिइन् । चम्किलो एवं रंगीन संसारकी साकिराको जीवन झन्डै १० वर्षसम्म एन्टिनियोको वरिपरि घुम्यो । उनीहरूबीच इन्गेजमेन्ट भए पनि विवाह भने हुन सकेन । सन् २०१० को अगस्तमा उनीहरूले रोमान्सबाट ब्रेक लिएको घोषणा गरे । केही समय व्यक्तित्व विकासमा ध्यान दिने भन्दै अस्थायी दूरी बनाएको उनीहरूले बताएका थिए । 

साकिराले एन्टोनियो पहिलेझंै आफ्नो व्यावसायिक जीवनको साझेदादर रहने घोषणा गरेकी थिइन् । सन् २०१२ मा उनीहरूबीच ठूलो व्यावसायिक किचलो भयो । त्यतिबेला रुआ त अदालतसम्मै पुगे । साकिरा अनाहकको विवादभन्दा कम र इमान्दारितामा विश्वास गर्ने हुनाले एन्टोनियोसँग बिनाकिचकिच अलग भएकी थिइन् । उनले जीवनमा कुनै पनि काम देखाउनका लागि गरिनन् । जे गरिन्, मनले गरिन् । साकिराले आफ्नो व्यक्तिगत जीवनलाई पनि खल्लो र खाली हुन दिइनन् । उनी देखावटी र नक्कली जीवनमा विश्वास गर्दिनन् । 

एन्टोनियोसँग अलग्गिएपछि उनी स्पेनका चर्चित सेन्टर ब्याक फुटबलर गेरा पाइकसँग जोडिन पुगिन् । सन् २०१० को विश्वकप फुटबलका लागि साकिराको गीत ‘वाकावाका’ (दिस टाइम फर अफ्रिका)’को म्युजिक भिडियोमा गेरार्डले पनि काम गरेका थिए । त्यही क्रममा उनीहरूबीच प्रेम हुन पुगेको थियो । आफूभन्दा १० वर्ष कान्छा पाइकलाई उनले पूर्णरूपमा माया गरिन् । सन् २०११ को २९ मार्चमा साकिराले सुन्दर शब्दमा गेरार्डसँग सम्बन्धलाई फेसबुकमार्फत् सार्वजनिक गरिन् । गेरार्ड र आफ्नो तस्बिरमुनि साकिराले लेखिन्–‘म तपाईंलाई आफ्नो जीवनको उज्यालोको अनुभव गराइरहेकी छु ।’ सञ्चारमाध्यमले केही महिनासम्म विभिन्न अनुमान गरेपछि उनले यो प्रेममा लालमोहर लगाएकी थिइन् । सन् २०१२ को सेप्टेम्बरमा उनले सन्तान जन्माउन लागेको घोषणाा गरेकी थिइन् । सन् २०१३ को २२ जनबरीमा स्पेनको बार्सिलोनामा साकिराले छोरा मिलान पिक इसा मुबारकलाई जन्म दिइन् । 

यति हुँदाहुँदै पनि उनी व्यक्तिगत जीवनका केही पक्षलाई सधै गोप्य राख्न चाहन्छिन् । इतिहासकी जानकार साकिरा रोमन क्याथोलिक हुन् । उनको रुचि विश्व इतिहासमा छ । उनी जहाँ पुग्छिन्, त्यहाँको इतिहास र भाषाका सम्बन्धमा पूरा जानकारी लिन खोज्छिन् । मूल रूपमा स्पेनी भाषी साकिरा अंग्रेजी, पुर्तगाली, इटालियन तथा फ्रेन्च आदि भाषा पनि बोल्छिन् । यही रुचिका कारण उनी सन् २००७ मा युनिभर्सिटी कलेज अफ लस एञ्जेल्समा ‘विश्व सभ्यताको इतिहास’ कक्षामा सहभागी भइन् । पढ्दाको एक रोचक प्रसंगलाई सम्झेर उनी निकै रमाउँछिन् । उनले कक्षाका प्राध्यापकलाई कोलम्बियाबाट आएको बताए पनि आफ्नो परिचय भने बीचको नाम ‘इजाबेल मुबारक’ भनेर दिएकी थिइन् । आफूलाई कसैले नचिनून् भनेर उनले त्यसो गरेकी थिइन् । ‘म ख्यातिप्राप्त रंगमञ्च प्रस्तोता भए पनि कक्षामा त अरु झैं सामान्य विद्यार्थी नै थिएँ,’ साकिरा भन्छिन्–‘त्यहाँ मेरो कलाकार परिचय वा सेलिब्रेटी छवि प्रकट गर्नु आवश्यक थिएन । 

 Image