Successfully Copied

तिहारकाे मसला र फाइदा

तिहारमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न किसिमका उपहारका साथमा मिठार्इं, फलफूल, काजु, पेस्ता, बदाम, अन्जिर, ओखरजस्ता मसला दिन्छन् । तिहारमा दाजुभाइलाई प्रेमपूर्वक प्रदान गरिने मसलाहरू स्वास्थ्यका दृष्टिले निकै फाइदाजक हुन्छन् ।

ड्राई फुटसकाे  फाइदा  

तिहारमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न किसिमका उपहारका साथमा मिठार्इं, फलफूल, काजु, पेस्ता, बदाम, अन्जिर, ओखरजस्ता मसला दिन्छन् । तिहारमा दाजुभाइलाई प्रेमपूर्वक प्रदान गरिने मसलाहरू स्वास्थ्यका दृष्टिले निकै फाइदाजक हुन्छन् । 

ओखर

ओखरमा पर्याप्त मात्रामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसले कोलस्ट्रोललाई सन्तुलित गर्छ । नियमित रूपमा यसको सेवन गरे मुटु रोगबाट छुटकारा पाउन सकिन्छ । यसमा एन्टी अक्सिडेन्टको गुण हुन्छ । यसले शरीरका विभिन्न पीडामा पनि राहत प्रदान गर्छ । ओखरले क्यान्सरबाट समेत जोगाउँछ । ओखरमा भिटामिन ई पाइने भएकाले यसले छालालाई सुरक्षा प्रदान गर्छ भने बढ्दो उमेरमा हुने चाउरीपनबाट पनि राहत दिन्छ । ओखरको प्रयोगले अनावश्यक वजन कम गर्न सकिन्छ । यो गर्भवती महिलाका लागि पनि निकै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेक्स पाइन्छ । ओखरमा विभिन्न मिनरल, म्याग्नेसियम, जिंक, क्याल्सियम, आइरन, कपर, भिटामिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले गर्दा मानिसको दिमाग तेज हुन्छ । फ्याटको मात्रा कम हुने भएकाले ओखर वृद्धवृद्धाहरूका लागि निकै लाभदायक हुन्छ । मधुमेहका बिरामीका लागि पनि यो उत्तिकै लाभदायक छ । 

पेस्ता 

पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन बी ६ पाइन्छ । यो हेमोग्लोबिन निर्माणका लागि आवश्यक हुन्छ । पेस्तामा प्रशस्त मात्रामा एन्टिअक्सिड पाइन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक फाइबर पनि हुन्छ । पेस्ताको नियमित सेवनले मस्तिष्क तेज हुनुका साथै रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । यसको सेवनले हर्ट एट्याकको जोखिम घटाउँछ । 

काजु

काजुमा प्रशस्त मात्रामा मिनरल, आइरन, प्रोटिन, म्याग्नेसियम, फस्फोरसजस्ता तत्व पाइन्छन् । यो हरेक उमेरका मानिसका लागि लाभदायक हुन्छ । मधुमेह भएका मानिसका लागि पनि यो निकै लाभदायक छ । यसमा भएको रसायनले ब्याक्टेरिया नष्ट गरी दाँत दुख्ने, कीरा लाग्नेजस्ता समस्याबाट छुटकारा दिलाउँछ । काजुले केश तथा छालाका लागि आवश्यक पौष्टिकतत्व पनि प्रदान गर्छ  । 

काजी बदाम

काजी बदाममा सन्तुलित मात्रामा फोलेट पाइन्छ । यो गर्भवती तथा सुत्केरी महिलाका लागि पनि निकै लाभदायक हुन्छ । काजी बदामले गलस्टोनबाट जोगाउँछ । यसबाट भिटामिन बी ३ प्राप्त हुने भएकाले स्मरण शक्ति बढ्छ । तौल बढी भएकाहरूले यो बदामको नियमित सेवन गरे तौल कम हुनुका साथै मुटु रोग तथा क्यान्सरबाट जोगिन सकिन्छ ।       

ल्वाङ 

यसको बढी प्रयोग दाँतसम्बन्धी समस्यामा हुन्छ । ल्वाङको तेलले प्राकृतिक रूपमा पीडा कम गर्छ । दाँत दुखेका बेला ल्वाङको तेल राख्दा पीडाबाट छुटकारा प्राप्त गर्न सकिन्छ । यसमा भएको एन्टिसेप्टिकले दाँतसम्बन्धी विभिन्न रोगबाट मुक्ति दिलाउँछ । यसको प्रयोग मुख सफा गर्न तथा मञ्जनका लागि पनि भएको पाइन्छ । यसले मुखको दुर्गन्ध हटाई माउथ फ्रेसनरको काम गर्छ । ल्वाङमा भएको एन्टी फंगल तथा एन्टी ब्याक्टेरियल क्षमताले विभिन्न किसिमका इन्फेक्सनमा राहत दिन्छ । पेटको पीडाबाट छुटकारा पाउन चिनीका साथ ल्वाङ सेवन गर्नुपर्छ । यसले एसिडिटीबाट पनि छुटकारा दिलाउँछ । ल्वाङ चिसो मौसम तथा रुघाखोकीमा पनि लाभदायक सिद्ध हुन्छ । 

सुकमेल 

अपच भएका बेला सुकमेल, अदुवा तथा मरिच पिसेर खाए फाइदा हुन्छ । सुकमेल खाए सास गन्हाउने समस्या कम हुन्छ । यसले मुखमा भएका कीटाणु नाश गरी सासलाई ताजा बनाउँछ । सुकमेलको धूलो चियामा हालेर पिउँदा डिप्रेसनबाट जोगिन सकिन्छ । यसले अपच तथा टाउको दुख्ने समस्याबाट राहत दिन्छ । मुखको इन्फेक्सन वा टन्सिल भएका बेला सुकमेलको धूलो मनतातो पानीमा हालेर कुल्ला गर्नुपर्छ । 

नरिवल 

कमजोरीमा नरिवल सेवन गरे तत्काल शक्ति प्राप्त हुन्छ । अन्य फ्याटको तुलनामा यसमा कम क्यालोरी हुन्छ । यसमा आमाको दूधमा पाइने लाउरिक एसिड हुन्छ । लामो समयदेखि नरिवल खाँदै आएका मानिसले केही समय खाना नखाँदा पनि यसले शक्ति प्रदान गर्छ । नरिवलले थकान पनि कम गर्छ । नरिवलले मुटु रोग, थाइराइड तथा मधुमेह हुने सम्भावना कम गर्छ । नरिवलमा भएको फ्याटले उच्च रक्तचाप कम गर्न सघाउ पुर्‍याउँछ । 

अन्जिर 

अन्जिरमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ । यसको सेवनले रगतलाई सन्तुलित राख्छ । यसले कब्जियतमा पनि राहत प्रदान गर्छ । दिनहुँ यसको सेवन गरे यस्ता समस्याबाट जोगिन सकिन्छ । यो फाइबरयुक्त हुन्छ । त्यसैले यसले तौल सन्तुलन राख्न सघाउ पुर्‍याउँछ । यसमा उच्च फाइबर भएकाले पाचन क्रियालाई सुस्त बनाई भोक कम गराउँछ । यसले गर्दा बढ्दो वजन कम गर्न सकिन्छ । अन्जिर विश्वमै ठूलो समस्याका रूपमा देखिएको स्तन क्यान्सरबाट जोगिने राम्रो फल हो । यसबाट क्याल्सियम, पोटासियम पनि प्राप्त हुन्छ । त्यसैले यो हड्डीको विकासमा उपयोगी हुन्छ । अन्जिरको सेवनबाट मुटु रोगबाट पनि जोगिन सकिन्छ । 

कटुस 

यसमा प्रशस्त मात्रामा पौष्टिक तत्व हुन्छ । १ सय ग्राम कटुसमा ६ सय २८ क्यालोरी हुन्छ । यसमा भएको मोनोस्याचुरेटेड फ्याटी एसिडले कोलस्ट्रोलको मात्रा सन्तुलन राख्न सहयोग पुर्‍याउँछ । कटुसमा फोलेट पाइने भएकाले रक्तअल्पता हुन पाउँदैन । यसमा पर्याप्त भिटामिन ई पाइन्छ फलस्वरूप शरीरलाई ऊर्जा प्राप्त हुन्छ । कटुसमा एस्टिजेन्टको गुण हुने भएकाले छालालाई सुख्खा हुन दिँदैन । यसको तेल खानामा प्रयोग गर्न सकिन्छ । यसमा पोटासियम, म्याग्नेसियम, कपर, आइरनजस्ता विभिन्न मिनरल पाइन्छन् जुन शरीरका लागि फलदायक हुन्छन् । 

किसमिस

किसमिसमा ग्लुकोज हुन्छ । किसमिसको नियमित प्रयोगले पाचन क्रिया बलियो हुन्छ । यसमा प्रोटिन, भिटामिन तथा शरीरलाई आवश्यक पर्ने अरु पौष्टिक तत्व पनि समावेश हुन्छ । किसमिस अन्धोपन तथा आँखासम्बन्धी रोगका लागि पनि लाभदायक छ । यसले एसिडिटीमा राहत प्रदान गर्छ । यसमा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ फलस्वरूप हड्डीको विकासमा सघाउ पुर्‍याउँछ । यो एन्टिब्याक्टेरियल हुने भएकाले विविध प्रकारका संक्रमणमा फाइदाजनक साबित हुन्छ । यसले दाँत कीराले खाने समस्याबाट पनि छुटकारा दिलाउँछ । 

 Image