चाडपर्वको मौसम नजिकिँदै छ । चाडपर्वको आगमनसँगै घर सजावटमा पनि मानिसको ध्यान जान थाल्छ । अन्य समयमा मानिसहरू व्यस्त रहन्छन् । यतिबेला चाहेर पनि आफ्नो घर सजावटमा समय दिन भ्याइँदैन । त्यसैले चाडपर्वको मौका पारेर हरेकले आफ्नो घरमा नयाँ–नयाँ सजावटका सामग्री खरिद गर्छन् । उनीहरू घरलाई नयाँ लुक्स दिन चाहन्छन् । घरलाई नयाँ लुक्स दिन सुख्खा फूल (ड्राई फ्लावर) ले पनि सहयोग गर्छ ।
घरमा फुलेको फूलले जोकसैको मन जित्छ । फूलले वातावरण नै रमणीय एवं मनमोहक बनाउँछ । प्राकृतिक फूल राम्रो देखिए पनि ओइलाएपछि त्यसको सुन्दरतामा कमी आउँछ । हामीकहाँ जुन घरमा फूल छ त्यो घरमा बस्ने मानिसको जीवन पनि सकारात्मक हुन्छ भन्ने धारणा छ । विभिन्न अर्थ बोकेको फूलले घरको सुन्दरतामा रौनक बढाउने काम गर्छ ।
कमलादीस्थित फन्र्स पेटल्समा यस्ता विभिन्न किसिमका सुख्खा फूल पाइन्छन् । यस्ता फूल विवाह पार्टी, घर, अफिस, बर्थडे पार्टी, बेबी सावर, एनिभर्सरीका लागि डेकोरेसन गर्न प्रयोग गरिने फन्र्स पेटल्सकी म्यानेजर सुषमा खड्का बताउँछिन् । फन्र्स पेटल्समा राखिएका सुख्खा फूल तथा भासहरू भारतबाट आयात गरिन्छ । यस्ता फूल एकपटक खरिद गरेपछि लामो समयसम्म रहन्छन् । एकपटक खरिद गरेपछि वर्षौंलाई हुने यस्ता फूल धोएर पुन: प्रयोग गर्न सकिन्छ ।
सुख्खा फूल खरिद गर्ने ग्राहक मध्यम तथा उच्च वर्गका छन् । ग्राहकको बजेट एवं आवश्यकताअनुसार फूलको डिजाइन गरिने सुषमाले बताइन् । यी फूल तथा भास अन्य ठाउँमा यस्तै वस्तुभन्दा केही फरक भएको दाबी सुषमाको छ । यस्ता सुख्खा फूलमा ड्राई स्टिक पनि मिसाएर भासमा राख्दा घरकै सौन्दर्यमा वृद्धि हुन्छ । विभिन्न आकार–प्रकारमा उपलब्ध यस्ता फूल गुणस्तरीय हुन्छन् । सुख्खा फूलसँग क्रिस्टल तथा स्टोन मिसाएर भासमा राख्दा अझ आकर्षक देखिन्छ ।
यस्ता सजाबटी फूलमा गुलाब, अर्किड, लिली, सनफ्लावर, कार्नेसन, हाइडेन्जिया आदि उपलब्ध हुन्छन् । यी फूल विवाहको गाडी सिंगार्न पनि प्रयोग गरिन्छ । बर्थडे वा विवाहमा पनि यस्ता फूलको बुके दिने चलन छ । सुख्खा फूल लामो समयसम्म रहने भएकाले यसको प्रयोग निरन्तर बढिरहेको छ । हेर्दा प्राकृतिक जस्तो देखिने हुँदा यस्ता फूलको माग वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।
तस्बिरहरू : श्रुति श्रेष्ठ
फूलको प्रयोग कहाँ–कहाँ
–सुख वा दु:खमा फूल प्रयोग गरिन्छ ।
–माया साटासाट गर्न तथा रिसाएका आफन्तलाई फकाउन फूल प्रयोग गर्न सकिन्छ ।
–कुनै पनि उत्सव फूलबिना अपूरो हुन्छ ।
–विवाह कार्यक्रममा फूल प्रयोग गरिन्छ ।
–भ्यालेन्टाइन डे, तीज, दसैं, तिहार, पूजाआजा आदि हरेक पर्वमा फूलको प्रयोग गरिन्छ ।
–स्वागत, बिदाइ, सम्बन्ध गाँस्न, घर एवं अफिस सजाउने आदि काममा फूल प्रयोग गरिन्छ ।