हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
नर्स सरिताको संगीत मोह
बिरामीको सेवा गरेर डेढ दशक बिताइसकेकी सरिता प्रजापती गीत पनि गाउँँछिन् । सानैदेखि नेपाली गीतहरू सुन्ने र हुबहु गाउन खोज्ने सरिता नारायण गोपाल, अरुणा लामा, तारादेवी, भक्तराज एवं अरुण लामाकी प्रशंसक हुन् । यी अग्रज स्रस्टा नै उनका प्रेरणाका स्रोत पनि हुन् । नर्स भए पनि फुर्सदमा गीत रेकर्ड गर्ने, भिडियो बनाउने सरिताले २०६७ मा पहिलो एल्बम सुनिधि बजारमा ल्याएकी थिइन् । पप र आधुनिक गीत समाविष्ट उक्त एल्बमले खासै बजार लिन सकेन । त्यसपछि सरिताले २०७० सालमा हेर्दाहेर्दै शीर्षकको एल्बम बजारमा ल्याइन् । उक्त एल्बमको हेर्दाहेर्दै जवानीले छोएछ गीत इमेज अवार्डमा मनोनयनमा पनि परेको थियो । अब संगीतलाई करिअरका रूपमा अघि बढाउँदै जाने सरिताको योजना छ ।
यो वर्ष मात्र उनले दुई दर्जन स्टेज शो दिएकी छिन् । सरिताले यसपटक तीजका लागि आइ लभ यू भन्छु काले माइन्ड नगर भन्ने एल्बम बजारमा ल्याएकी थिइन् भने छिट्टै ढाकाटोपी शीर्षकको एल्बम सार्वजनिक गर्ने तयारीमा छिन् । नर्सिङ कलेजमा पढाउने सरिता तालिम लिने–दिने क्रममा धेरै जिल्ला पुगिसकेकी छिन् । उनी हरेक जिल्ला पुग्दा त्यहाँको संगीत तथा संस्कृति राम्रोसँग नियालेर आउँछिन् ।