शरीरमा थरीथरीका कलाकृति कुँदाउने कलालाई ट्याटु भनिन्छ । यो परम्परा निकै पुरानो हो । समयअनुसार यो कलामा आमूल परिवर्तन आइसकेको छ । आज यो फेसनको पर्याय बनेको छ भने कतिपय सेलिब्रेटीको ट्याग बनेको छ । मानिसहरूमा ट्याटु बनाउने क्रेज बढ्दो छ । कुनै–कुनै संस्कृतिमा धार्मिक दृष्टिकोणले पनि ट्याटु बनाइन्छ । ट्याटु व्यवसायलाई अघि बढाउने उद्देश्यले नेपालमा ट्याटुको अन्तर्राष्ट्रिय कन्भेन्सन पनि हुने गरेको छ ।
कहाँबाट गर्ने कोर्स ?
–यो कोर्स कुनै कलेजमा सिकाइँदैन ।
–कुनै प्रोफेसनलको अन्डरमा बसेर ट्याटु बनाउन सिक्नुपर्छ ।
–हिजोआज विभिन्न पार्लरमा पनि ट्याटु बनाइन्छ ।
–अनुभवी ट्रेनरबाट तालिम लिनुपर्छ ।
–ट्याटुका विशेष तथा प्राइभेट क्लास पनि संचालन हुन्छन् ।
योग्यता
ट्याटु मेकरका लागि कुनै प्रोफेसनल डिग्रीको आवश्यकता पर्दैन तर प्राथमिक ज्ञान हुनु आवश्यक छ । राम्रो ट्याटु मेकरलाई चित्र बनाउन आउने हुनुपर्छ । ट्याटु एउटा विशेष कला हो । त्यसैले यसमा रंग तथा कलाको विषयमा जानकारी हुनुपर्छ । त्यसका साथै सिर्जनशील पनि हुनुपर्छ । यो क्षेत्रमा टपमा रहनु छ भने हरेक पल नयाँ काम गर्न जरुरी हन्छ । नयाँ–नयाँ कलाबाट ग्राहकहरूलाई प्रभावित तुल्याउन सके आफ्नो माग पनि बढ्दै जान्छ । यो विषयमा रुचि कम भए नयाँ सिर्जना फुर्न सक्दैन । ट्याटु बनाउने कला त्यति सजिलो पनि छैन किनभने यसमा साधारणदेखि जटिल चित्र पनि कोर्नुपर्ने हुन्छ । त्यसका लागि समय, संयम तथा परिश्रम चाहिन्छ । राम्रो कला सिक्न राम्रो ट्ेरनरको आवश्यकता पर्छ । चाँडै निराश हुनेहरूका लागि यो क्षेत्र उपयुक्त छैन । कुनै पनि कुरा चाँडै सिक्ने क्षमता वा कला हुनुपर्छ । यो क्षेत्रमा निरन्तर नयाँ–नयाँ डिजाइनको विकास हुन्छ । यस्तो अवस्थामा चाँडै सिक्ने कला भएन भने आफू पछि परिन्छ ।
सम्भावना
आफूलाई ट्याटु बनाउन आउँछ तर लगानी छैन भने आफ्नो घरमै ट्याटु स्टुडियो स्थापना गर्न सकिन्छ । यो व्यापार घरबाटै पनि गर्न सकिन्छ । सुरुका दिनमा सानातिना पम्प्लेटको मद्दत लिन सकिन्छ । साथीभाइको मद्दतबाटै यो काम सुरु गर्न सकिन्छ । ठूल्ठूला मलहरूमा ट्याटु बनाउने काम गर्न सकिन्छ । अहिले यसको बजार राम्रो भएकाले आफ्नै स्टुडियो खोल्दा पनि खासै फरक पर्दैन । कुनै राम्रो ट्याटु पार्लरमा जागिर खाएर पनि करियर सुरु गर्न सकिन्छ ।
ट्याटुका प्रकार
कुनै पनि ट्रेनरबाट ट्याटुको तालिम लिँदा त्यो ठाउँमा सबै प्रकारका ट्याटु बनाउन सिकाइन्छ कि सिकाइँदैन बुझ्नुपर्छ ।
-एब्स्ट्रयाक्ट ट्याटु
-नेचरलिस्टिक ट्याटु
-सिम्लिफिकेसन ट्याटु
-कम्प्लेक्स ट्याटु
नेपालमा प्रचलित ट्याटु
-देवी–देवताका ट्याटु
-मेहन्दी ट्याटु
-मयूरको प्वाँख
-जनावर ट्याटु
-चराको ट्याटु
-नामको ट्याटु
-राशि चिह्नको ट्याटु