Successfully Copied

खरायोको स्याहार

कम स्याहार गर्नुपर्ने, धेरै समय दिनु नपर्ने तर पाल्दा आनन्द आउने हुँदा खरायो पाल्ने चलन बढिरहेको पाइन्छ । बालबालिकाहरू भएको घरमा खरायो पाल्दा धेरै रमाइलो हुन्छ ।

व्यस्त सहरिया जीवनमा हिजोआज कुकुर–बिरालो सँगै अन्य घरपालुवा जनावर पाल्ने चलन पनि बढेको छ । कम स्याहार गर्नुपर्ने, धेरै समय दिनु नपर्ने तर पाल्दा आनन्द आउने हुँदा खरायो पाल्ने चलन बढिरहेको पाइन्छ । बालबालिकाहरू भएको घरमा खरायो पाल्दा धेरै रमाइलो हुन्छ । 

नेपालमा पाइने खरायोका जातमध्ये अंगोरा, चिनचिला, क्यालिफोरनियन आदि प्रमुख छन् । खरायोको सरदर उमेर ८ देखि १२ वर्ष हुन्छ । खरायोले ३० दिनमै बच्चा जन्माउँछ । घर भाले र पोथी दुवै खरायो पाले धेरै छिटोछिटो बच्चा पाएर कठिनाइ उत्पन्न हुन्छ । तसर्थ खरायो पाल्नुअघि पशु चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ । नेपालमा अझै पनि खरायोको बन्ध्याकरण गर्न कठिन मानिन्छ । 

खरायोको वासस्थान 

खरायोका लागि जाडो तथा गर्मी दुवै मौसम अनुकूल हुने काठ तथा फलामबाट निर्मित खोर बनाउनुपर्छ । खोरभित्र नरम परालको व्यवस्था गर्नुपर्छ । हावाको आवतजावत राम्रोसँग हुनुपर्छ । खाना तथा पानी राख्ने व्यवस्था हुनुपर्छ । हल्ला हुने तथा चर्को आवाज आउने ठाउँमा खोर राख्नुहुँदैन । खरायोमा ठूलो आवाज सहन सक्ने क्षमता कम हुन्छ । 

खरायोको खानपान 

–खरायोलाई प्राय: हरियो सागसब्जी, गेडागुडी, बढी फाइवरयुक्त खाना दिनु आवश्यक हुन्छ । गाजर, काउली, मुला, कलिला घाँसपात, साग आदि दिन सकिन्छ । अहिले बजारमा विदेशबाट झिकाइएको तयारी खाना पनि उपलब्ध छ । 

स्वास्थ्य समस्या 

–खरायोको खानपिन नमिल्दा पेटमा ग्यास भरिने, खाना नखाने, झोक्राउने आदि समस्या हुन्छन् । बढी फाइवरयुक्त खानाले यस्ता समस्या आउन दिँदैन । 

–गर्मीमा ‘हिट स्ट्रोक’ हुने सम्भावना धेरै हुने भएकाले विशेष ध्यान पुर्‍याउनुपर्छ । 

–गर्मीमा उपियाँको समस्या पनि देखा पर्छ । 

–आँखा पाक्ने रोगको सम्भावना हुन्छ । 

–कहिलेकाहीँ दिसा गर्ने ठाउँमा दिसा अड्किएर ठूलै समस्या देखा पर्छ । बेलाबेलामा दिसा सफा गरिरहनुपर्छ । 

–भ्याक्सिनेसनजस्तै ‘म्याक्सोमाटोसिस’ गर्नुपर्ने हुन्छ, जुन अहिले नेपालमा उपलब्ध छैन । 

–बेलाबेलामा पशुचिकित्सकको सल्लाहमा जुकाको औषधि दिनुपर्ने हुन्छ । खरायोको वजन सन्तुलित राख्नुपर्छ, वजन बढेपछि यिनीहरूको स्वास्थ्यमा समस्या देखा पर्छ । बेलाबेलामा केशमा ब्रस गर्नुपर्छ जसले गर्दा खरायो सफा देखिनुका साथै केश लट्टामुक्त हुन्छ । 

स–साना कुरामा ध्यान दिन सके खरायोलाई विभिन्न रोगबाट जोगाउन सकिन्छ ।

डा. शरद सिंह यादव

एडभान्स्ड पेट हस्पिटल विशालनगर, काठमाडौं

 Image