Successfully Copied

बिम्बाका सपना

काठमाडौं मलस्थित थिएटर मल एवं थिएटर आकारको संयुक्त प्रस्तुतिका रूपमा नाटक बिम्बाको सपना मञ्चन भएको छ ।

काठमाडौं मलस्थित थिएटर मल एवं थिएटर आकारको संयुक्त प्रस्तुतिका रूपमा नाटक बिम्बाको सपना मञ्चन भएको छ । डा.अभि सुवेदीद्वारा लिखित यो नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गरेका हुन् । यो नाटक सिद्धार्थ गौतमले दरबार छाडेर गएपछि उनकी पत्नी यशोधराले पाएको पीडामा आधारित छ । नारी संवेदनामा केन्द्रित बिम्बाका सपनामा यशोधराले छोरा राहुललाई दरबारभित्र बसेर हुर्काउन गरेको संघर्षको कथा छ । नाटकमा बिम्बा अर्थात् यशोधराको भूमिकामा सुषमा कोइरालाको एकल अभिनय थियो भने सुमन कोइराला, रविना श्रेष्ठ, विवेक गोपाली, अञ्जनी भरतवाल, प्रज्वल डंगोल एवं शंकर भण्डारीले छाया दृश्यमा अभिनय गरेका थिए ।

पुस्तक : जुकरबर्ग क्याफे

युवापुस्तालाई लक्षित प्रेमसम्बन्धी कथाहरूको संगालो हो–जुकरबर्ग क्याफे । दुई दशकदेखि पत्रकारितामा सक्रिय अश्विनी कोइरालाको जुकरबर्ग क्याफेमा २४ वटा कथा समावेश छन् । इला मिसको पत्रमा पुरुष प्रवृत्ति एवं नारीको सुधोपन चित्रण गरिएको छ भने सावित्री सत्यवान्मा प्रेमबिम्बदेखि भर्चुअल दुनियाँका च्याटरुमसम्मको प्रेमलाई उतारिेएको छ । सन्नी लियोनमा मान्छे जस्तो देखिन्छ वास्तविक जीवनमा त्यसो नहुने यथार्थ प्रस्तुत गरिएको छ । जुकरबर्ग क्याफे आख्यान रुचाउने पाठकका लागि पठनीय संग्रह हो । बुक हिल पब्लिकेसन यो पुस्तकको मूल्य तीन सय रुपैंयाँ छ ।

कला : चिरागको गणेश कला

कलाकार चिराग बाङदेलले देवी–देवताका चित्र पनि कोर्न थालेका छन् । यस क्रममा उनका गणेश सिरिजका कलामध्ये यो पनि एउटा हो । हिन्दू धर्ममा कुनै पनि नयाँ काम सुरु गर्नुअघि गणेशको पूजा गर्ने चलन छ । त्यसैलाई आधार मानेर यो गणेशको चित्रमा उनलाई सेतो धोती लगाइदिएर पवित्रताको प्रतीकका रूपमा उभ्याउने प्रयास गरिएको छ भने हातमा ओम शान्तिलाई प्रतीकका रूपमा राखिएको छ । रातो क्यानभासमा सुन्तला रंगको गणेशमा सेतो, कालो तथा पहेंलो रंग समावेश गरी शुभ दिन एवं शुभ कार्य दर्शाइएको छ ।

 

 रेश्मा सुनुवारको नम सेवल

मै ठूली भइछु रे गीतबाट चर्चित रेश्मा सुनुवारले झन्डै एक दशकपछि आफ्नो दोस्रो एल्बम नमसेवल बजारमा ल्याएकी छिन् । पप, रक, आधुनिक तामाङ सेलोदेखि ज्याज बिटका गीतहरू समावेश गरिएको यो एल्बमको तिमीलाई हेर्ने धेरै गीत एल्बम निस्कनुअघि नै चर्चित भैसेकको छ । नाट्यकर्मी अनुप बरालले पहिलो पटक म्युजिक भिडियो निर्देशन गरेको यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक छ । कल्याण सिंह, भरत लामा, रोज मोक्तान, शिव मुखिया, बिजु बज्र एवं रेश्मा सुनुवारको संगीत तथा सुशील सापकोटा, भूपेन्द्र खड्का, रोज मोक्तान, शिव मुखिया र रेश्मा सुनुवारको शब्द छ । जसमा बोनस ट्रयाकका रूपमा बादलबाट गीत समावेश गरिएको छ । भाइब्स क्रियसन्सले बजार व्यवस्थापन गरेको यो एल्बमको शीर्षक किराँत भाषाबाट राखिएको छ, जसको अर्थ नमस्कार हुन्छ ।

 Image