Successfully Copied

चलचित्र: अर्धकट्टी

असार एक गते भूकम्प पीडितको सहयोगार्थ प्रदर्शन हुने चलचित्र अर्धकट्टी कमेडी र सोसेल ड्रामामा आधारित छ ।

असार एक गते भूकम्प पीडितको सहयोगार्थ प्रदर्शन हुने चलचित्र अर्धकट्टी कमेडी र सोसेल ड्रामामा आधारित छ । प्रदिप उदयको निर्माण तथा सुब्रत आचार्यको निर्देशनमा तयार पारिएको यो चलचित्रले युवापुस्ताका जीवनशैली र उनीहरूको धारणालाई हास्यपरक रुपमा प्रस्तुत गरेको छ । चलचित्र रिलिज हुनुअघि नै फिगर कोकाकाला तथा नम्रता शीर्षकका गीतहरू लोकप्रिय भैसकेको यो चलचित्रमा नम्रता श्रेष्ठको समेत अतिथि भूमिका छ । सुवास ढकालको कथा एवं विजय अधिकारीको पटकथामा निर्मित चलचित्र अर्धकट्टीमा विल्सनविक्रम राई, गौरव पहाडी, प्रदीप बास्तोला, अशिष्मा नकर्मी एवं रिस्ता बस्नेतको मूख्य भूमिका छ ।

पुस्तक : लक्ष्मी बडालका कविताहरू

काभ्रे तीनपिप्ले पाँचखालकी कवयित्री लक्ष्मी बडालको मनभित्रका कविताहरू चौथो कविता संग्रहका रूपमा प्रकाशित भएको छ । विविध शीर्षकमा ८३ वटा कविता समावेश उनका कृतिमा विदेश गएका दाजुभाइ, दिदीबहिनीहरूको पीडा, देशको माया, देशको अवस्था, मानिसहरूको क्रुरता, माया–प्रेमदेखि नारी भावनासम्मलाई समेटिएको छ । कवयित्री बडालको यो कृति जनमत प्रकाशन नेपाल, बनेपाले प्रकाशित गरेको हो । मूल्य १ सय रूपैयाँ राखिएको यो कृतिको आवरणमा कलाकार गेहेन्द्रमान अमात्यको सिर्जना छ ।

कला : शारदा चित्रकारको नारी

कलाकार शारदा चित्रकारले केही समय अघि मात्र तयार पारेको नारी शिर्षकको यो चित्रमा महिला हिंसालाई मुख्य विषय बनाइएको छ । कानुनमा जे भए पनि महिलाहरू विगत देखि वर्तमानसम्म हिंसामा रहेको सन्दर्भलाई यो चित्र मार्फत व्यक्त गरिएको छ । जन्मथलोदेखि कर्मथलोसम्म कुनै कुनै रुपमा महिला हिंसा हुन्छ भन्दै यो चित्रमा महिलालाई बस्तु झैं हेर्ने र काग कराउँदैं गर्छ, पिना सुक्दै जान्छ भन्ने कुरालाई चित्र मार्फत अभिव्यक्त भएको छ ।

सौरगंगाको सेल्फ रेस्पेक्ट

कलाकार सौरगंगा दर्शनधारीले सिर्जना गरेको यो कला सेल्फ रेस्पेक्टको थीममा बनाइएको छ । उनले हामीले आफूलाई माया गर्नुपर्छ, मान्नुपर्छ र कदर गर्नु पर्छ भनेर यो चित्र बनाएकी हुन् । भगवानको मूर्तीको पछाडि हुने प्रभालाई मान्छेको टाउको पछाडि राखेर आफ्नो राम्रो पक्षको कदर आफै गर्नु पर्ने, फूलहरूलाई राम्रो पक्षको रुपमा कपालमा बेरेर सुन्दर देखाएको छ ।

क्यासेट : निमफुट्टीको पहिलो भेट

दोभाने भोजपुरमा जन्मिएकी सुमधुर स्वरकी धनी निमा फुट्टी शेर्पा पहिलो भेट शीर्षकको एल्बम लिएर बजारमा आएकी छिन् । सानैदेखि संगीतमा रुचि राख्ने निमा स्कुल–कलेजका कार्यक्रमहरूमा अब्बल साबित हुँदै आएकी थिइन् । ६ वटा गीत रहेको उनको एल्बममा पाल्देन शेर्पाको शब्द अनि रोज मोक्तानको संगीत छ । पहिलो भेटमा राजनराज शिवाकोटी, खेमराज गुरुङ, विश्व दोङ, डुक्पा लेप्चाको शब्द संगीत सुन्न सकिन्छ । नमस्ते इन्टरटेन्टमेन्टले बजारमा ल्याएको यो एल्बमको मूल्य २ सय ५० रूपैयाँ छ ।

 Image