Successfully Copied

नि:शुल्क स्वास्थ्य शिविर

गत महिना मञ्चन नेपालले एम एसिया च्यारिटेवल ट्रस्टको सहयोगमा भूकम्पपीडित महिलाहरूलाई लक्षित गरी एकदिने नि:शुल्क स्वास्थ्य शिविर,

गत महिना मञ्चन नेपालले एम एसिया च्यारिटेवल ट्रस्टको सहयोगमा भूकम्पपीडित महिलाहरूलाई लक्षित गरी एकदिने नि:शुल्क स्वास्थ्य शिविर, औषधि वितरण तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न गर्‍यो । उपत्यकाका तीन स्थान (चापागाउँ–ललितपुर, ताथली–भक्तपुर एवं बूढानीलकण्ठ, चपली–काठमाडौं) तथा काभ्रेको भकुन्डेबेसीमा गरी जम्मा चार स्थानमा चार दिन सञ्चालित उक्त एक–एकदिने स्वास्थ्य शिविरबाट प्रत्यक्ष रूपमा करिब चार हजार महिला लाभान्वित भएको बताइन्छ ।

शैक्षिक गतिविधि सहज बनाउन कार्यशाला

गत महिना भूकम्पीय त्रासलाई न्यूनीकरण गर्ने उद्देश्यले रातो बंगला फाउन्डेसन एवं कारखानाको सहकार्यमा युरो इन्टरनेसनल स्कुल काँडाघारीद्वारा विभिन्न स्कुलका शिक्षिकाहरूलाई सहभागी गराई दुई दिने कार्यशाला सम्पन्न गरियो । कार्यशाला प्राकृतिक विपत्तिका कारण बालबालिकाहरूमा त्रास र मनोवैज्ञानिक विचलन आएकाले लामो बिदापछि विद्यालय सञ्चालन गर्नुपूर्व अपनाउनुपर्ने पूर्वसतर्कतालाई ध्यानमा राख्दै विद्यार्थी तथा अभिभावक वर्गमा रहेको चिन्ता एवं चासोलाई समेत कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो । तालिममा गोठाटार, मूलपानी, काँडाघारी, पेप्सिकोला टाउन प्लानिङ, कोटेश्वर, भैंसेपाटी आदि क्षेत्रका निजी तथा सामुदायिक गरी २८ विद्यालयका करिब ५ सय ६० जना शिक्षिकाको सहभागिता थियो ।

डीसीएलाई महिला क्रिकेटको उपाधि

धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले धनगढी महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गत महिना सम्पन्न फाइनलमा आयोजक डीसीएले क्यास्पियन एकेडेमीलाई ८ विकेटले पराजित गरेको थियो । टस जितेको क्यास्पियनले १३.२ ओभरमा सबै विकेट गुमाएर २९ रन मात्र बनायो भने जवाफमा उत्रिएको डीसीएले ३ं.४ ओभरमै लक्ष्य भेट्टायो । प्रतियोगितामा प्लेयर अफ टुर्नामेन्टको उपाधि डीसीएकी प्रतिमा सिंहले हात पारिन् जसले १ सय ५ रन बनाउनुका साथै दुई विकेट लिएकी थिइन् । प्रतियोगितामा क्यास्पियनकी सोनल भट्ट उदीयमान खेलाडी घोषित भइन् ।

भूकम्प बिर्सेर सडक खन्दै महिला

ओखलढुंगाका हर्कपुर, प्राप्चा एवं आसपासका अन्य गाविसका थुप्रै महिला भूकम्पले घरबारविहीन बनाएपछि रामपुर–खिजी–फलाटे सडकखण्डमा मजदुरी गर्दैछन् । गत वर्ष मात्र ट्रयाक खुलेको उक्त सडकलाई बिस्तार गर्न यसै वर्षदेखि सुरु भएको स्थानीय सडक सुधार कार्यक्रम (एलआरआइसी) अन्तर्गत भैरहेको काममा महिलाहरू अहिले श्रम गरिरहेका छन् । घरबारविहीन भएको पीडालाई भुलेर भए पनि परिवारको गर्जो टार्न सडक खन्न आएको उनीहरूको भनाइ छ । स्वीस सरकारको अनुदानमा रामपुरदेखि खिजी फलाटेसम्मको करिब ४४ किलोमिटर दूरीको उक्त सडकखण्ड सन् २०१८ सम्म पूरा गर्ने लक्ष्यसहित एलआरआइसी कार्यक्रम सुरु भएको हो । वैशाख १२ को भूकम्पपछि एक सातासम्म काम रोकिए पनि जेठ ७ गतेयता निरन्तर सडक बिस्तार एवं सुधारको काम चालु छ । यो कामको ज्यालामा महिला–पुरुषबीच कुनै भेदभाव हुँदैन । यसमा समान कामको समान ज्याला नीति अवलम्बन गरिएको छ ।

महिलालाई ड्राइभिङ तालिम

काठमाडौं क्षेत्र नं. ३ को संसदीय कोषबाट महिलालाई ड्राइभिङ तालिमका लागि सभासद् रामेश्वर फुयाँलले ५० हजार रुपैंयाँ प्रदान गरेका छन् । कपनस्थित ओजस्वी नेपालसँग समन्वय गरी १५ जना महिलालाई गत महिनादेखि उक्त तालिम प्रदान गरिँदै आएको छ ।

महिलालाई वैदेशिक रोजगार तालिम

गत महिना नारी स्वतन्त्र मञ्च नेपालले धरानमा दुई दिने सुरक्षित वैदेशिक रोजगार तालिम प्रदान गरेको छ । धरान–२२ पाँचकन्यास्थित मुना क्लबको भवनमा सञ्चालित तालिममा ४० जना महिला सहभागी थिए । जिविसको सहयोगमा सञ्चालित उक्त तालिम आर्थिक उपार्जनका लागि विदेसिने महिलाहरूमा लक्षित थियो ।

 

 Image