Successfully Copied

सदावहार सुन्दरी उषा

पूर्व मिस नेपाल तथा फेसन डिजाइनर उषा खड्गी तिमिल्सिना मिस नेपाल भएको १५ वर्ष बितिसक्दा पनि त्यत्तिकै सुन्दर छिन् ।

पूर्व मिस नेपाल तथा फेसन डिजाइनर उषा खड्गी तिमिल्सिना मिस नेपाल भएको १५ वर्ष बितिसक्दा पनि त्यत्तिकै सुन्दर छिन् । सुन्दरता उनको एउटा राम्रो पक्ष भए पनि कामप्रतिको लगनशीलता, मेहनत तथा सबैसँग सहज घुलमिल हुन सक्ने खुबीकै कारण धेरै मिस नेपाल आएर हराइसक्दा पनि उषा त्यही स्थानमा सबैको मनमस्तिष्कमा रहन सफल छिन् । भिजेबाट आफ्नो करियर सुरु गरेकी उषाले मिस नेपालपछि पनि भिजे तथा प्रोडुसरका रूपमा थुप्रै कार्यक्रम चलाइन् । उनी अहिले पनि नयाँ थुप्रै मोडलका बीच अग्रणी नै छिन् जसको परिणामस्वरूप उनलाई अहिले पनि थुप्रै विज्ञापन तथा होडिङ बोर्डहरूमा देख्न सकिन्छ ।

विवाहपछि त्यसमा पनि आमा भएपछि सौन्दर्य तथा फिटनेसमा कमी आउने आमधारणालाई उनले उल्टाइदिएकी छिन् । आमा भएपछि उनको सुन्दरतामा थप निखार आएको धेरैको ठम्याइ छ । ११ वर्षकी छोरी उगेष्णाकी आमा उषाले केही महिनाअघि पुन: एक छोरा जन्माएकी छिन् । छोरीको एक्लोपन र भाइको रहर गरेकीले आफूहरूले ढिलै भए पनि छोराको प्लान गरेको उनी बताउँछिन् । धेरैले अब उषा फेरि त्यही रूप, रंग र साइजमा देखिन सक्दिनन् कि भनेर अनुमान गरिरहँदा उनको सकारात्मक सोच, मेहनत, आफ्नो शरीर तथा स्वास्थ्यको मायाले उनी पुन: त्यही रूपमा र्फकन सफल भएकी छिन् ।

छोराछोरीको स्याहार गरेर उनी दिउँसो श्रीमान्सँग मिलेर खोलेको प्रोमोटोस नेपाल पुग्छिन् । त्यहाँको काम हेरेर कुपण्डोलस्थित युआर स्टाइलिस्ट बुटिक जान्छिन् । पहिले भन्दा अलि बढी समय घर र सानो छोरालाई दिनुपरे पनि समय व्यवस्थापन गर्न निपुण उषा आफ्ना सबै काम भ्याइरहेकी छिन् ।

शरीर मेन्टेनका लागि

हरेक बिहान आधा घन्टा योग गर्छु । उठ्नेबित्तिकै मनतातो पानी पिउँछु । कार्बाेहाइड्रेट कम खान्छु भने प्रोटिन बढी खान्छु । शरीर मेन्टेनकै लागि चिनी छोडेकी छु । हरेक दिन गर्मीमा सुन्तला र मौसमको तथा जाडोमा उखुको जुस पिउँछु ।

सौन्दर्य मेन्टेनका लागि

राम्रो ब्रान्डको मेकअप तथा स्किन केयर प्रसाधन प्रयोग गर्छु । सौन्दर्य मेन्टेनका लागि आफूलाई समय दिन्छु । महिनाको एकपटक फेसियल, मेनिक्योर तथा पेडिक्योर गराउँछु । हप्ताको एकपटक ओयल मसाज गर्छु । १५ दिनमा हेयर टि्रटमेन्ट गर्छु । सकारात्मक सोचका साथ खुसी रहने प्रयास गर्छु । फिट एन्ड फाइन भएर हिँड्छु ।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : शुभेच्छा भँडेल, क्रसरोड एपिरियल, लाजिम्पाट

गहना :    शाक्यमुनि लोकमान एण्ड सन्स, न्यूरोड कम्प्लेक्स

मेकअप : दीपा शाही, ब्युटि डिभा, कालीमाटी

लोकेसन : पाटन म्युजियम, पाटन दरबार स्क्वायर

 Image