नेपाली चलचित्र उद्योगकी उदीयमान नायिका हुन्-अशिष्मा नकर्मी । चलचित्र अन्तरालबाट नेपाली चलचित्रको यात्रा प्रारम्भ गरेकी नकर्मीको चलचित्रसँगको सम्बन्ध भने धेरै अघिदेखिको हो । बीचमा केही वर्ष विदेश बसेका कारण यो क्षेत्रबाट टाढिए पनि उनले नेपाल भाषाका ८ वटा चलचित्र तथा अनेकौं म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । अमेरिकामा हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन गरेर नेपाल फर्किएकी अशिष्माले चलचित्र अन्तरालपछि थुप्रै म्युजिक भिडियो, विज्ञापन एवं चलचित्रमा काम गरिन् । त्यसपछि उनले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । मिलनसार एवं मिजासिली अशिष्माले राम्रा प्रोजेक्टहरू पाइरहेकी छिन् ।
सानैदेखि सांगीतिक परिवेशमा हुर्किएकी अशिष्मालाई तबलावादक बुवा मनराज नकर्मीको संगीतले निकै प्रभाव पार्यो जसले गर्दा उनले सितार सिकिन् । एसएलसीपछि नेपाल भाषाका म्युजिक भिडियो एवं चलचित्रबाट प्रस्ताव आउन थालेपछि संगीत यात्रामा पूर्णविराम लगाए पनि उनले सोखका रूपमा सितार बजाउन भने छाडेकी छैनन् । नायक राजेश हमाल एवं नायिका करिष्मा मानन्धरबाट प्रभावित अशिष्मा सफल नायिकाका लागि बाहिरी सुन्दरताका अतिरिक्त अभिनय क्षमता, नृत्य, भाषा, बोली एवं व्यवहार पनि असल हुनुपर्ने बताउँछिन् । नकर्मी चलचित्रमै भविष्य बनाउने योजनामा छिन् ।
अशिष्मा फुर्सदमा घरमै बसेर उपन्यास पढ्ने, मीठा परिकारहरू बनाएर खाने-ख्वाउने, गीत-संगीत सुन्ने एवं साथीहरूसँग घुम्ने काममा रुचि राख्छिन् । क्याजुअल वेयरमा हिँड्न रुचाउने अशिष्मालाई महिलाका लागि सबैभन्दा सुहाउँदिलो पहिरन साडी नै हो भन्ने लाग्छ ।
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : उमा नेमकुल, काव्य बुटिक, पाटनढोका
मेकअप : वसन्ती, फेसनज् हेयर एण्ड ब्युटी सैलुन, कमलपोखरी
हेयर स्टाइल : प्रह्लाद तथा रमेश
लोकेसन : नमुना नेपाली घर, साँगा, काभ्रे