मौसम परिवर्तनसँगै घरपालुवा कुकुर तथा बिरालोको रेखदेखमा पनि आवश्यक परिवर्तन ल्याउनुपर्ने हुन्छ । चिसोका कारण घरपालुवामा विभिन्न किसिमका समस्या देखा पर्छन् । स्वास्थ्यका कतिपय समस्या जाडो महिनामा मात्र देखिन्छन् । जाडो महिना सुरु हुनुअघि जसरी हामी आफ्ना लागि न्यानो ओढ्ने, ओछ्याउने तथा लुगाको प्रबन्ध गछौर्ं त्यसैगरी घरपालुवाका लागि पनि न्यानो वासस्थानका साथै न्याना लुगा तथा ताजा खानेकुराको व्यवस्था गर्नुपर्छ । साना बच्चा तथा बढी उमेर भएका घरपालुवाको स्याहार चुनौतीपूर्ण हुन्छ ।
हुन त प्रकृतिले प्रत्येक जनावरलाई चिसोबाट बच्न त्यस्तै क्षमता प्रदान गरेको हुन्छ । यद्यपि घरपालुवा जनावरमा चिसोसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले जाडो याममा घरपालुवाको रेखदेखमा विशेष ध्यान पुर्याउनु आवश्यक छ ।
जाडोमा स्वास्थ्य समस्या
बाथ रोग : पाको उमेरका घरपालुवालाई जाडो महिनामा जोर्नीसम्बन्धी समस्या बढी हुनसक्छ ।
निमोनिया : चिसो मौसममा खासगरी छाउरा-छाउरी तथा पाका उमेरका कुकुर-बिरालोमा यस्तो समस्या देखा पर्नसक्छ । समयमा उपचार नभए निमोनियाँका कारण ज्यानसमेत जानसक्छ ।
छालासम्बन्धी समस्या : जाडोमा घरपालुवाको उचित स्याहार नहुँदा छालामा सुख्खापन आउँछ जसले गर्दा चायाँ आउने सम्भावना बढ्छ ।
मोटोपन : जाडोमा शारीरिक परिश्रमको कमीले घरपालुवामा मोटोपन बढ्छ । बढी पोषिलो खानेकुराका कारण पनि यस्तो समस्या देखा पर्नसक्छ ।
शरीरमा पानीको कमी : जाडो महिनामा वातावरण चिसो हुँदा घरपालुवाले कम पानी पिउँछन् भनेर पानी नदिँदा शरीरमा पानीको कमी हुनसक्छ ।
कसरी व्यवस्थापन गर्ने ?
- जाडो सुरु हुनेबित्तिकै पशुचिकित्सकसँग सल्लाह लिने ।
- घरपालुवाको बस्ने ठाउँ न्यानो राख्ने ।
- स्वेटर वा ज्याकेट प्रयोग गर्ने ।
- तातो तथा ताजा खाना दिने ।
- चौबीसै घन्टा पानी उपलब्ध गराउने ।
- छाउरा-छाउरी तथा पाको उमेरका घरपालुवाको स्याहारमा विशेष ध्यान दिने ।
- शरीरको तापक्रम घटे-बढे, नाकबाट सिंगान, आँखाबाट कचेरा आए, खोकी लागे पशुचिकित्सककहाँ पुर्याउने । .
डा.शरद सिंह यादव
एडभान्सड पेट हस्पिटल एण्ड रिसर्च सेन्टर
विशालनगर