आनन्दबस्ती, हात्तीवनस्थित यो बंगला स्टाइलको साढे दुई तल्लाको घर सानो परिवारका लागि उपयुक्त छ । मूल गेटबाट भित्र छिर्नासाथ ढुंगा छापिएको ठाउँ छ, जहाँ गाडी पार्किङ गर्न तथा बालबालिकाहरू खेल्न सक्छन् । दायाँ भाग बगैंचा र बारीका रूपमा छुट्याइएको छ । ३ लेबल भर्याङ चढेपछि एउटा पिल्लर छ त्यससँगै मूल ढोका आउँछ । साइडमा सानो मन्दिर बनाएर गणेशको मूर्ति राखिएको छ । ढोकाबाट भित्र छिर्नासाथ क्लासिक ड्रेसिङ टेबल छ । खाली लबीबाट २ लेवल तल झरेपछि लिभिङ रुम छ । पार्केटिङ गरिएको लिभिङ रुममा ठूला तीनवटा झ्याल छन् । क्रिम कलरको भित्ताको बीच भागमा डार्क ब्राउन पिल्लर बनाइएको छ जहाँ आकर्षक डेकोरेसन पिस राखेर सुन्दर बनाइएको छ । यो लिभिङ रुमलाई इन्टेरियर डेकोरेसनका क्लासिक सामानहरूले अझ सुन्दर बनाएको छ । त्यहाँका सबै फर्निचर डार्क ब्राउन कलरका छन् । लिभिङको माथिल्लो भागमा सिमेन्टको डार्क ब्राउन कलरको डिजाइनिङ पिल्लर छ । त्यहाँ डाइनिङ रुम छ । डाइनिङ रुम पछाडिको भागमा लामो भान्सा छ । भान्साबाट बाहिर जाने ठाउँमा भाँडा एवं लुगा धुने ठाउँ बनाइएको छ । डाइनिङ सँगै माथि जाने काठको रेलिङ राखिएको भर्याङ छ । भर्याङमा दुईवटा ठूला ऐना छन् । भर्याङसँगै एउटा सिटिङ रुम र सँगै बाथरुम छ । पहिलो तल्लामा पुग्नासाथ बायाँ भागमा चिल्डेन रुम छ । खाली ठाउँमा लाइट रिफ्लेक्स हुने हिसाबमा माथि खाली भागमा सिसा हालेर पूर्णरूपमा लाइट निकालिएको छ जसमा सिलिङमा डबल भी आकार बनाइएको छ । उक्त स्थान गेटटुगेदर तथा आरामका लागि उपयुक्त छ । घर पूरै पार्केटिङ गरिएकाले न्यानो तथा सफा देखिन्छ । पहिलो तल्लामा मास्टर बेडरुम छ । एकातिरको पूरै भित्तामा काठको डिजाइनिङ दराज बनाइएको छ भने त्यहाँ बेड र ड्रेसिङ टेबल पनि छ । बेडरुममै अट्याच बाथरुम छ । बेडरुम इन्टेरियर डिजाइन र क्लासिक फर्निचरहरूले सिंगारिएको छ । दोस्रो तल्लामा पूजा कोठा र स्टोर रुम बनाइएको छ । स्टोर रुमसँगै कौसी छ । उक्त कौसी माथि अर्को कौसी पनि छ ।
यो घरको मुख्य आकर्षण घरको इन्टेरियरलाई घरको स्वरूपअनुसार ढालिनु हो । कलर, फर्निचर, फर्निसिङ तथा डेकोरेसन आदि स-साना कुरालाई समेत ध्यान दिएर घरलाई सुन्दर बनाइएको छ । यो घरले धेरै ठूलो घर बनाएर स्पेसलाई त्यत्तिकै छोड्नुभन्दा सानो ठाउँलाई पनि म्याचिङ कम्बिनेसनद्वारा आकर्षक बनाउन सकिने उदाहरण प्रस्तुत गरेको छ ।