पूर्व मिस नेपाल माल्भिका सुब्बा अहिले श्रीमान् रियाज श्रेष्ठसँग सुखद् वैवाहिक जीवन बिताइरहेकी छिन् । सबैको जीवनमा उतारचढाव आउँछ तर आफूलाई सही रूपमा, सही तरिकाले ह्यान्डल गरेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्ने यो दम्पती एक अर्कासँग निकै खुसी छ । नेपालका एक परिचित सेलिब्रेटीका कति फ्यान हुन्छन् त्यो सबैलाई थाहै छ । त्यस्ता सेलिब्रेटीको एक आम मान्छेसँग साधारण तरिकाले विवाह हुँदा धेरै अचम्ममा पर्नु पनि स्वाभाविक हो, त्यसमा पनि अन्तरजातीय प्रेम विवाह । माल्भिकाको जीवनमा पनि उनलाई चाहनेहरू धेरै थिए अनि उनी आफू भने विवाह गर्दिन, एक्लै बस्छु भन्ने सोचमा थिइन् । त्यतिबेलै माल्भिका एएनए कन्भेन्सनमा भाग लिन अमेरिका पुगेकी थिइन् । अमेरिकामा हुँदा उनको उतै बस्दै आएका रियाज श्रेष्ठसँग चिनजान भएको थियो । केही दिन उता बस्दा सपिङ, घुमघाम भयो र माल्भिका नेपाल फर्किन् । माल्भिका सेलिब्रेटी थिइन् । त्यसैले उनका लागि त्यसरी प्रशंसकहरू भेट्नु, घुम्नु साधारण थियो तर रियाजलाई माल्भिकाको बोल्ने शैली, बानी एवं स्वभावले आकषिर्त गरिसकेको थियो ।
हुन त प्लस टु पढ्दा नै रियाज माल्भिकाप्रति आकषिर्त थिए । कलेज सकेर उनी माल्भिकासँग भेट्न उनको कलेज पुग्थे । त्यतिबेलै रियाजलाई माल्भिका बोल्ड एण्ड ब्युटिफुल लाग्थिन् । सन् २००४ को मिस नेपालमा साल्सा डान्स गर्न पुगेका रियाजले माल्भिकालाई त्यहाँ पनि देखेका थिए । संयोग भन्नुपर्छ, उही टिनएजमा राम्री लागेकी युवतीसँग अमेरिकामा साथीका रूपमा भेटघाट भयो । २०१० मा नेपाल फर्किएका रियाजले माल्भिकालाई ६ महिनासम्म भेट्ने प्रयास गरे तर सफल भएनन् । एकपटक अमेरिकाबाट रियाज र माल्भिका दुवैका साथी नेपाल आउँदा उनीहरूबीच भेटघाटको अवसर जुर्यो । त्यसपछि यी दुईको भेट निरन्तर हुन थाल्यो । रियाजसँग भेट्नुअघि विवाह गर्दिन, अबका दिनहरूमा एक्लै बस्छु भनेर बसेकी माल्भिकाको मनमा रियाजको आगमनसँगै चंगा उड्न थाल्यो । रियाज पनि विवाह गर्दिन भनेर बसेका थिए । दुवैको कुरा मिल्ने, बानी-व्यवहार पनि मिल्ने र एकको काममा अर्काको सपोर्ट हुन थालेपछि उनीहरू बेस्ट फ्रेन्ड मात्र रहेनन्, यी दुईले विवाह नै गर्ने योजना बनाउन थाले । माल्भिकाले उक्त निर्णय गर्नुअघि आफ्ना मन मिल्ने साथीहरूलाई रियाजलाई भेटाएर फिटब्याक लिइन् । सबैले सफा मन, मिलनसार छ भन्ने कमेन्ट गरेपछि उनीहरू उक्त निर्णयमा पुगेका थिए । माल्भिकाका अनुसार रियाज उनलाई हरेक दिन मन पर्दै गए ।
विवाह गर्दिन भनेर बसेकी छोरीले यो केटासँग विवाह गर्छु भनेर भेट्न लाँदा माल्भिकाकी मम्मीले तत्कालै उनको प्रस्ताव स्वीकार गरिन् । उता नेवार समुदायका रियाजले सेलिब्रेटी त्यसमा पनि लिम्बू केटीसँग विवाह गर्छु भनेर परिवारमा भन्न सक्ने कुरै थिएन । माल्भिकालाई आफ्नी आमासँग भेट्न लगेका बेला रियाज मौन थिए । माल्भिका आफैले रियाजकी मम्मीसँग तपाईंको छोरा र म एक-अर्कालाई मन पराउँछौं, अब विवाह गर्ने सोचमा छौं भन्दा उहाँले तिमीहरू साथी भएकै ठीक छ, विवाह गर्छु नभन भनेर माल्भिकाको मुखैमा रिजेक्ट गरेकी थिइन् ।
त्यतिबेला दुवैलाई निकै टेन्सन भएको थियो, रियाज घर छोडेर माल्भिकाको घरमा आए । छोरा घर नआएपछि उनका आमाहरू माल्भिकाको घर खोज्दै आए । धेरै ठाकठुक र विवाद भएपछि माल्भिकाले तपाईंको छोरा अहिले घर फर्किन्छन् र जबसम्म रियाज जन्ती लिएर मलाई लिन आउँदैनन् तबसम्म हामी विवाह गर्दैनौं भनेर पठाइन् । ६ महिना त कन्भिन्स गर्नै लाग्यो, रियाजलाई । विवाहभन्दा दुई दिनअघि हजुरबुवालाई आइसीयूमा राख्नुपरेकाले उनीहरूको विवाहमा बाजा बजेन, सामान्य तबरले, क्लोज फ्रेन्ड र परिवारका केही सदस्यहरू मात्र बसेर सबै विधि पुर्याउँदै रियाज र माल्भिका विवाह बन्धनमा बाँधिए । अन्तरजातीय विवाह गर्दा कठिन हुने उनीहरूको अनुभव छ । माल्भिकाको घरमा औंठी र टीका मात्र लगाएर रियाजको घरमा पोते, सिन्दूर लगाएर विधि पुर्याइयो ।
लिम्बू परिवारमा जन्मिएकी माल्भिकालाई नेवार परिवारमा घुलमिल हुन केही कठिन भए पनि हरेक कुरामा सपोर्ट र साथ दिने श्रीमान् पाएकीले अप्ठ्यारो भएन । विवाहको १ महिना उनी पूरै साडी, कुर्ता, चुरा, पोते आदि मात्र लगाएर बसिन् । पछि काममा बाहिर जानुपर्ने भएकाले पहिलेजस्तै पाइन्ट, स्कर्ट जे पनि लगाउन थालिन् । हजुरमुमा, सासू, ससुरा एवं बहिनीसँग संयुक्त परिवारमा बस्ने माल्भिका सबैसँग उत्तिकै फेन्डली छिन् । श्रीमान्का आमा, बुबालाई पनि आफ्नै आमा-बुवालाई जस्तै माया गर्ने माल्भिकालाई नेवारी समुदायको म्ह पूजा, सिठी नख:, देवाली र दसैं निकै मन पर्छ । चाडपर्वमा काममा बाहिर जानु नपर्दा साडी लगाएर बस्न रुचाउने माल्भिका श्रीमान्लाई पूजापाठ मन नपरे पनि कल्चर बचाउनुपर्छ भनेर फोर्स गरिरहन्छिन् ।
समय भयो भने यो जोडी घरमै बसेर चलचित्र हेर्न, मीठा-मीठा परिकार बनाएर खान तथा गफ गर्न मन पराउँछ । सकेसम्म रातिको खाना सँगै खानुपर्छ भन्ने मान्यता राख्ने माल्भिका सासू-ससुराको कोठामा बसेर केही समय कुराकानी गर्न रुचाउँछिन् । रियाजका अनुसार माल्भिका र उनको ड्याडको ९० प्रतिशत कुरा मिल्छ ।
फुर्सदमा रियाज र माल्भिका पोखरा जान रुचाउँछन् । सकेसम्म वर्षको दुईपटक बाहिर जाने प्रयास गर्छन् । माल्भिका झनक्क रिसाउँछिन् भने रियाजको मुड अफ भएपछि धेरै बेरसम्म मुड अन गर्न कठिन हुन्छ । दुवैका अनुसार दुवैले कहिल्यै सँगै काम गर्न सक्दैनन् । माल्भिका एकपटकमा ४-५ वटा काम पनि एकसाथ गर्न सक्छिन् तर रियाजमा एउटै काममा एकोहोरो लाग्ने स्वभाव छ ।
अहिले सन्तानका बारेमा प्लान बनाइनसकेको बताउने यो दम्पतीको आफ्नै घर भएपछि मात्र त्यस्तो योजना बनाउने सोच छ । माल्भिकामा आफ्ना सन्तानलाई आफ्नै नियमअनुसार हुर्काउने चाहना छ । सन्तानको अभावलाई यी दुईले सानो पप्पी कफी पालेर पूरा गरेका छन् । कफीलाई उनीहरूले छोरीजस्तै पालेका छन्, पछिका लागि प्राक्टिस पनि हो-रियाज हाँस्दै भन्छन् । हरेक दिन सम्झना लायक भएको अनुभव सुनाउने यो दम्पतीको झगडा परालको आगोजस्तै हुन्छ । एक-अर्कामा सपोर्ट, विश्वास एवं समझदारी भयो भने सम्बन्ध सुमधुर हुने यो दम्पतीको भनाइ छ ।
रियाज माल्भिका सम्बन्धमा
माल्भिकाको कामप्रतिको रुचि तथा समयको भ्यालु मनपर्छ तर मुडी स्वभाव मन पर्दैन ।
माल्भिका रियाजका सम्बन्धमा
सबैसँग मिल्ने, घुलमिल हुने, खुलेर बोल्न सक्ने तथा मिलनसार स्वभाव मन पर्छ तर समयको सदुपयोग गर्न नसक्ने बानी देखेर दिक्क लाग्छ ।
रुचि : माल्भिकाको रुचि काम नै हो, काम भयो भने जीवन राम्रो लाग्छ । माल्भिकामा टेलिभिजन हेर्ने, आइप्याडमा गेम खेल्ने रुचि छ भने रियाजमा साल्सा डान्स गर्ने तथा रमाइलो गरी खाना बनाउने काममा रुचि छ ।
खाना : खानामा यो दम्पतीको स्वाद उल्टो छ । माल्भिकालाई इटालियन फुड पास्ता, नुडल्स आदि मनपर्छ । उनलाई भान्टा, परबल मन पर्दैन भने रियाजलाई नुडल्स, परबल र भान्टा मन पर्दैन ।
अवस्मिरणीय क्षण : माल्भिका दुलही भएर बसेका बेला, रियाज आएर हाई बेबी भन्दै किस गर्दा, सबै जना तीनछक्क परेर दुलहा-दुलहीजस्तै सिरियस भएर बस भन्दा पनि वास्ता नगरी गफ गरेको क्षण दुवैका लागि अविस्मरणीय क्षण हो ।