Successfully Copied

छोराको बिहे

तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?

तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ? एक बचन सोध्न पनि उचित ठान्नु भएन मलाई, अठोट लगाएर कुरा नै छिनिसक्दा पनि थाहासम्म भएन । त्यही सहरमा त थिएँ, कि मलाई बोलाउँदा बिहे भाँड्छे जस्तो लाग्यो । बिहे जस्तो कुरामा पनि किन  हतार गरेको ?’ 

बहिनीका कुरा सुनेर मेरो सातो गयो अनि हतारिँदै सोधें–‘किन र नानी ? केटीलाई तैंले चिनेकी छस् र ? कस्ती छ केटी, कस्तो छ घरपरिवार ?’ 

रिसाएर आगो ओकल्दै थिई बहिनी । त्यो आगोको झिल्कोले कोसौं टाढा छट्पटाइरहेकी मलाई पनि डढाउँदै थियो ।

‘के कुरा गर्नु दिदी, तिम्रा दुःखका दिन सुरु भए । घोडाका जस्ता अल्खा काटेर अगाडि झारेका कपाल त्यो पनि रातो, कालो चस्मा लगाएर सिनेमामा खेल्ने हिरोइनको जस्तो ढाँचा । विभिन्न रंगका छोटा लुगा, पाइन्ट र भेस्ट लगाएर हिँड्ने केटीले दुःख बुझेर तिमीलाई खुब माया गरी, के गर्नु उमेश मान्दैन होला अब नत्र त अठोट तोडेपनि हुन्थ्यो त्यो परिवारमा त । राम्री मात्र भएर हुन्छ र ? त्यसको रूप लपलप चाट्न मिल्दैन, हामीलाई चाहिएको त संस्कार र व्यवहार हो । हेर्दै कहीँ नभएकी घमण्डी जस्ती । बोलेको त छैन तर त्यस्ताको बानी के राम्रो होला ? जतिखेर पनि साइकल हाँकेर बजार–बजार दगुरेको देख्छु । क्याम्पसबाट आउँदा–जाँदा नेता जसरी हात हल्लाएर बोलिरहेकी हुन्छे । हाँसी भने त अझ टोलै थर्किन्छ । देहातमा आएर तपाईंहरूको सेवा गरेर एक दिन पनि बस्छे जस्तो लाग्दैन मलाई त । सहरमा हुर्केकी, दुःख नगरेकी केटी, खोई के भनौं? मलाई त डर लागेको छ, उमेशले दुःख पाउँछ कि ?’ 

छाँगाबाट खसेजस्तै भएँ । हात–गोडा चिसा भए । मुटु एकतमासले काम्न थाल्यो । तर पनि हिम्मत जुटाएर बोलें, ‘कत्रो दुःखले जन्माएँ, हुर्काएँ, पढाएँ आज लाठे भएर बिहे गर्ने बेलामा एक बचन सोध्न पनि त आएन नानी । नपढेकी भएपनि आमा पो हुँ त ।दुःख गरेर छोरा पढाएकै थिएँ । 

कम्ता रहर थिएन, जेठो छोरोको बिहे, कति सपना बुनेकी थिएँ । छोराको बिहेमा यो गरौँला त्यो गरौँला । भएजति आफन्ती बोलाएर रत्यौली खेलौंला । आफूसँग दस लाल सुन नभए पनि दस तोला सुन लिएर दुलही भित्राउँला भन्ने कम्ता रहर थिएन । बढेको छोरा, त्यो पनि बुद्धिमान् अनि हर्ताकर्ता हजुरआमा सँगै भएपछि, म त कहाँ हराएँछु पत्तै पाएनन् । सासूको निर्णयमा के बोलौं । मेरो भाग्यमा जे लेखेको छ त्यही भोग्ने हो । आखिर मेरा लागि बिहे गरेको पनि त होइन ।

छोराले आफ्नै लागि बिहे गरेको हो, विचार गरेकै होला । यो गाउँमा आएर बुहारी बस्ने पनि होइन । वर्षमा धेरै आए एक–दुई पटक त आउलान् । आएका बेलामा एक मुठ्ठी भात पस्केर मै खान दिउँला । धेरै आश गरेर बसे पो दुःख हुन्छ । जे हुनु भयो भयो अब मेरो मन भुस भएको बेला त्यहाँबाट आगो नझोस्, बरू खुरुक्क भोलि नै आइज, लु राखें अहिले ।’

म्यासेन्जरबाट लामो कुराकानी भयो बहिनीसँग । छोराले अठोट लगाएर आएदेखि मेरो मन खरानी भएको थियो । आँसु जमेर असिना बन्दै थियो । जहाँ एकान्त पायो त्यहीँ दुःखका असिनाहरूसँग गट्टा खेलेर अँध्यारो भविष्यको भुईंकुहिरोमा हराउँदै थिएँ । कति तीब्र गतिमा बढ्दो रहेछ नकारात्मक कुराको प्रभाव । यसरी मन भुट्भुटिने थिएन यदि बहिनीले राम्रा कुरा गरेकी भए । नकारात्मकताको गुरुत्वाकर्षणले कति सजिलै मनलाई तानेर अँध्यारो भुमरीमा जाक्दो रहेछ ।

मस्तिष्कको मदानीले बहिनीका कुराहरू मथेर घार्रघुर्र पार्दै थियो । मनमा चिन्ताको पहिरो खसेर उठिबास नै लगाएर उखपात थियो । म कुहिरोको काग हुँदै थिएँ । साँच्चै छोरीकी आमालाई भन्दा बढी चिन्ता त छोराकी आमालाई पो हुने रहेछ । कस्ती बुहारी आउली, बुहारीको चालढाल कस्तो होला ? परिवारमा बुहारी भित्रिएपछि घरको वातावरण कस्तो होला ? यस्तै–यस्तै तर्कनाहरूको रोटेपिङमा रातदिन रूमल्लिएर ज्यान सुक्दै थियो । सोच्दिन भन्दा पनि यस्ता प्रश्नले डस्न छोडेका थिएनन् । रानो हराएको मौरीझैं भएकी थिएँ आफ्नै घारमा ।

निम्तो बाँडियो । परपाहुना ओहोरदोहोर गर्न थाले । घर–आँगन लिपपोत गरियो । सरसफाइको म्याराथन नै भयो । बिहान–बेलुकाघरमा थरिथरिका खाना पाक्दा पनि मेरो पेट खैंजडी नै हुन्थ्यो । हाँसो र खुसीले घर त के टोलै थर्किएको थियो । न्याउली भएको मनलाईखुसीले पनि पोल्दो रहेछ । सुमधुर संगीतले पनि घाँटी न्याक्न आउँदो रहेछ । अरू हाँसेको देख्दा पनिकतिखेर भाउन्न हुन्थ्यो । सबै दङ्गदास भएको देखेर सम्हालिँदै भुतुक्क भएर ओठसम्म हाँसो ल्याउने भागीरथ प्रयास हजारौं पटक नगरेको होइन । 

आफ्नो रगत न हो, मेरो मन उडेको उमेशले चाल पाएछ । जन्ती जाने अघिल्लो रात मेरो काखमा टाउको राख्दै बार्दलीको खटियामा पुर्लुक्क ढल्किँदै भन्यो–‘आमा किन उदास देख्छु तपाईंलाई । मेरो बिहेमा तपाईंको खुसी किन हरायो ? तपाईंले भनेजसरी नै बिहे गर्न लागें त ।

दस तोला सुन नभएपनि दुई–चार तोला जोडेकै छु । लुगाफाटो रक्सौलबाट ल्याएको छ । भोजभतेरको तयारी पनि टुङ्गो लाग्यो । चेलीबेटी, ज्वाईं, भान्जाभान्जी सबैलाई बिदौरी पनि ठिक्क पारेकै छ । तपाईंको मनमा अरू केही भए भन्नुस् । होइन भने यसरी गुम्सिएर नबस्नुहोस् । भन्नु त, किन मन अमिलो पारेको ? अठोट लाउँदा हजुरआमा, दिदी, काका र बाबासँगै हुनुहुन्थ्यो । छुट्टी मिलाउन गाह्रो भएर चाँडै निर्णय गर्नुपरेको हो । तपाईंको अपमान गरेको कदापि होइन आमा । त्यही पनि मेरो कारणले तपाईंको चित्तदुखेको छ भने मलाई माफ गरिदिनुहोस् ।’ 

दुवै गोडा च्याप्प समातेर उमेशले मलाई ढोग्यो । आमाको मन न हो एकै छिनमा पग्लेर पानी भएको हृदयले मनमा जमेको फोहोर सुलुत्तै बगाएको पत्तै भएन ।

बहिनीले सल्काएको शंकाको झिल्को अझ भर्भराउँदो थियो । उमेशलाई भनौं कि नभनौं दोधारमा थिएँ । विचरा, आफैं अभिभावक भएर परिवारको सम्पूर्ण दायित्व निर्वाह गर्दै आएको वर्षौं भयो । जिम्मेवारीको बोझले बाल्यकाललाई थिलथिलो पारेर बाल अधिकारका कुराहरू पाताल लोकमा विलुप्त भएको बबुरो केटो । अनगिन्ती दुःखका पहाड उक्लिएर बल्लतल्ल सुखको देउरालीमा टुसुक्क बसेर सन्तोषको श्वास फेर्न खोज्दैछ । आ यस्ता नचाहिँदा कुरा सुनाउँदिन ।

जिम्मेवारीले लखेट्दा–लखेट्दै, संघर्षको भुमरीमा हाँस्न बिर्सिएको मेरो मुटुको टुक्रा, आनन्द र शान्तिको जमिन भेट्न नसकेर सुकुम्बासी भएको कठैवरा, मेरो बाबु बल्लतल्ल प्रेमको भूमि टेक्न लाग्दैछ, त्यो पनि भत्काइदिऊँ आमा भएर । यस्ता बेतुकका शंका र चिन्ताले छोराको खुसी कदापि खोस्न सक्दिन । 

बिहेमा रमाइलो गर्न आएकाहरूको के कुरा सुन्नु ? सबैका कुरा सुन्ने हो निर्णय त आफ्नो लिने हो । म लाटी जताजता हावा चल्छ उतैउतै बहन्छु । उमेरको पनि हेक्का राख्दिन ।

शंकाले लंका डडाउँछ भन्छन् । दुलहीको लागि जति डराएकी छु, त्यति आफ्ना सोच र व्यवहारलाई नियाल्न समय खर्च गरेकी छु त ? कति तनाव लिनु ? अब मैले सकारात्मक तरिकाले सोच्नैपर्छ ।’ आफ्नै मनोवादको मैदानमा कपर्दी खेल्दै दर्‍हो मुठ्ठी कसें ।

आमा फेरि कुन दुनियाँमा हराउनुभयो, यसरी नटोलाउनुस् त । ‘उमेशले घच्घच्याउँदा पो झसङ्ग हुँदै प्वाक्क बोल्न पुगें । मनमा खेलेको कुरो कसैगरी बाहिर आइहाल्यो–

‘बाबु केटी व्यावहारिक छ त ? ठूला घरकी छोरी हाम्रो घरलाई हृदयबाट अपनाउली त ? मनमा अलि डर लागेर राति निद्रा लागेको थिएन, त्यसैले अलि थाकेकी छु । टोलाएको होइन बाबु चिन्ता पनि केही छैन ।’ 

‘आमा तपाईं अरूका कुरा धेरै नसुन्नुस् है, हजार थरिका मान्छेहरूले हजार थरिका कुरा गर्छन् । तपार्इं राम्रो सोच्नुस् सबै राम्रो हुन्छ । तपाईं सासू मात्र भएर नसोच्नुस्, आमा भएर पनि सोच्नुस् । तपाईं छोरीलाई जस्तो माया, इज्जत र क्षमा बुहारीलाई दिन सक्नुहुन्छ ? पहिले तपाईं आफ्नो विचारलाई विवेकको आँगनमा राम्रोसँग निफनेर केलाउनुस् अनि सकारात्मक सोचेर सकारात्मक काम गर्न थाल्नुस् नतिजा सकारात्मक नै हात लाग्छ । मलाई सबै कुरा थाहा छ । तपाईंको मनमा कस्ता विचारका ज्वारभाटा उठेका होलान् त्यो म बुझ्छु । अब चिन्तानगर्नुस् आमा तपाईंको छोरा जिउँदो छ । मलाई विश्वास गर्नुस् । छोडिदिनुस् सबै चिन्ता म मिलाउँछु । तपाईं खुसी भएर हाँस्नुस् मात्र । अरूले कान भरेको भरमा आफ्नो रगत नसुकाउनुस् ।’ 

उमेशको कुराले खडेरी भएर चिराचिरा भएको मनलाई थोरै भएपनि शीतलता प्रदान गर्‍यो ।

बरियाँती जाने दिन बिहान मान्छेहरू आँगनमा जम्मा हुन थाले । पञ्चेबाजा बजिरहेका थिए । अझ पनि बहिनीको अनुहार चुक खाएजस्तै थियो । बेहुलो अन्माउने बेला दही खुवाउन बहिनीलाई पनि बोलाए । दूबोको माला लगाउँदा त मेरो उमेश राजकुमारजस्तै देखियो । किनकिन छोरो अन्माउने बेला आँखा रसिला भएछन् । नाच्दै–गाउँदै जन्तीहरू गए ।

ओसराको खटियामा बसेर ढुंगेल्नी बज्यै नाकका पोरा फुलाउँदै आँखाबाट तुरुक्क आँसु झारेर बोल्न थालिन्–‘उमेशकी आमा । आजसम्म छोरो तिम्रो मात्र थियो, आजबाट तिमीले पनि छोरो जिम्मा लगायौ है कुटुम्बलाई ।’ 

‘काकी किन त्यसो भनेको बुहारी पो ल्याउन आँटेको त । अनि छोरो कसरी कुटुम्बको भयो ? बुहारीले पो हाम्रो गोत्र, थर स्वीकार गरेर हाम्रो घरको सदस्य हुन आउँछे, छोरो पनि कतै पराई हुन्छ ?’ 

‘बाबै भर्खर छोरो अन्माएकी छस् । बिस्तारै थाहा होला । यो सेतो कपाल घाममा सुकेर पाकेको होइन । आजको रात त काट्न दे, थाहा पाउँछेस् भोलि बिहानबाट छोराको चालढाल ।

छोरो पाए बुहारीलाई, छोरी पाए ज्वाईंलाई । तेरा दुःख तैंसँग बाबै मुटु बलियो बना, छोरा पाउनेको चित्त झिंगाको पित्त जत्रो हुनुहुँदैन । अब बुहारीले उठ भन्दा उठ्छ बस भन्दा बस्छ छोरो ।’ 

सबै गलल्ल हाँसे । हिजोभर्खर उमेशले आली लगाएर टालेको मनमा पुनः ढुंगेल्नी बज्यैको कुराले भडखालो गयो ।

रत्यौली खेल्न आएका आइमाईहरूको उपद्रो हेरिसक्नु थिएन । तिलचामल भएका कपालहरू पनि छिल्लिएर उल्का थियो । मलाई पनि गर्न हुने नहुने जम्मै लीला गर्न लगाए । चिन्ताले पिना भएको मुटु लिएर म पनि गोडामा जीवनजल छर्किंदै नाचें ।

‘बेहुली ल्याए बेहुली ल्याए, ऊ बाजा घन्कियो ।’ 

बुधुनी कराउँदै डगरतिर बत्तिई । मुटुमा एक्कासि हिउँ पर्न थालेर धड्कन चिसिँदै थियो । झिँझाका डाँकाहरू अचानक बन्दुक तेर्साएर मूल ढोकामा उभिए जस्तो ऐंठन छातीमा भएर ओसराको खटियामा थचक्क बसें । मेरा हातगोडा शिथिल भएर लत्र्याकलुत्रुक भए अनि बेहुली भित्र्याउने चाँजोपाँजो गर्दै बुधुनीले धानका थुप्रोमा माटाका दियोहरू झलल्ल बालेकी थिई । चुल्ठो जोड्ने सर्दाम ठिक्क पारी । मुख हेर्ने ठाम मिलाएर चिटिक्क पारेकी थिई । शंकाको सुनामीले उठाउने र पछार्ने गर्दैगर्दा शान्तिलाई अँध्यारो सुरुङमा थचार्दै लगेर थिलथिलो पारेको थियो ।

ठूलै साहस गरेर चुल्ठो जोड्दा पुलुक्क दुलहीको मुहार हेरें । अहो, कस्तो निर्दोष अनुहार । दुरुस्त मेरी करुणाको जस्तै । अचानक स्मृतिमा करुणाको सम्झना ताजा भएर ह्वारह्वार्ती आउन थाले करुणाको आवाज कानमा गुन्जियो ‘आमा, कति चिन्ता गर्नुहुन्थ्यो, लु अब म आएँ’, अबदेखि कहिल्यै नरुनू।’ मेरा आँखा दुलहीको अनुहारमा टपक्क टाँसिँदै गए । हृदय प्रेम र वात्सल्यले भरिएर लभालभ थियो । धेरै वर्षअघि खसेकी मेरी छोरीको दुरुस्त रूप घुम्टोबाट चियाएर मलाई हेर्दै मुस्कुराएको जस्तो लाग्यो र अचानक आँखामा समुद्र मडारियो, मन भरिएर आयो । बर्सौंदेखि हराएका जम्मै खुसीहरू फर्किए जस्तो भयो ।

‘आमा ढोग गरें भन्दा पो झसङ्ग भएँ । 

मेरो मनमा आएको भुईंचालो रोकिनेवाला थिएन । भावना पोख्नुमै आनन्द मानेर उषालाई अंगालो मार्दै निधार र गालामा च्वाप्प मोही खाएर भनें–‘तिमी मेरी करुणा हौ ।’ उषाको स्पर्श नौलो थिएन, करुणालाई छोएको आभास भयो र अंगालो हालेर रोएँ । जड भएर उषाले हेरिरहिन् त्यो हेराइमा प्रेम, माया, श्रद्धा र विश्वास छताछुल्ल देखें । धक मान्दै रून खोजेका ओठहरूमा अपनत्व थियो । अल्खा झरेका केसरी केशमा संस्कार झुलेको थ्यो । उषाले मेरा हात च्याप्प समातेर चुम्दै छोरीले गर्ने स्नेह देखाइन् ।

मलाई नरुन भन्ने संकेतमा मेरा आँखाबाट झरेका आँसु रोक्न खोजिन् । घाँटीमा कुँदेको ट्याटुमा बुद्धको प्रतिछायाले शान्ति छर्दै थियो । बहिनीले भनेझैं उषामा अहंकार र छाडापन कतै थिएन । उषाका चालमा कुनै घमण्ड थिएन । भर्खरै भित्रिएकी दुलहीका पैतालाहरू चिरपरिचित लाग्दै गए । शंकाका तमाम पर्दा झिकी हुत्याएर भनें–‘उषा तिमी मेरी बुहारी होइनौ, मेरी छोरी हौ, मेरी करुणा हौ ।’ 

समाज र सम्बन्धहरूले ढाडेका जस्ता आँखाले हामीलाई नियालिरहेका थिए । हिजो त कैकेयीलाई एक मन्थराले मतिभ्रष्ट पारिदिएकी थिई भने आज त यत्रतत्र मन्थराहरूको झुण्ड डुलिरहन्छ र सकारात्मक सोचलाई सर्लक्क निलेर विषादको मौसम चौबीसै घण्टा मडारिरहन्छ । म सचेत हुनैपर्छ ।

 Image