विभिन्न जातमा सानादेखि ठूला आकारका फूल तथा रंगका लागि सबैको रोजाइमा पर्ने लाहुरे फूल प्राचीन समयमा मेक्सिको हुँदै सेन्टर अमेरिका तथा कोलोम्बियाबाट आएको मानिन्छ । यो फूल झ्वाट्ट हेर्दा सूर्यमुखी तथा जिनियाँ फूलजस्तो पनि लाग्न सक्छ । यसका ३६ प्रजाति छन् । त्यसमा पनि हाइब्रिड लाहुरे फूलले बगैंचामा विशेष स्थान पाउने गरेका छन् । यसको एउटा हाँगामा एउटा फूल फुल्छ । यसको हाँगामा स-साना पात हुन्छन् भने हाँगाको माथिल्लो भागमा फूल फुल्छ । यो फूल ब्रिडिङ, बोर्डर तथा कन्टेनरमा रोप्न उपयुक्त मानिन्छ । रोपेको ४० दिनमा यसमा कोपिला लाग्न थाल्छ । यसका केही प्रजाति :
फिग्रो सेरिज
यो फूल सेमी तथा डबल फूलका लागि उपयुक्त मानिन्छ । यसको फूल कुनै एक पत्रयुक्त हुन्छ भने कुनै डबल पत्रयुक्त । यसको फूल सानोमा ५ सेन्टिमिटर हुन्छ भने ठूलोमा ६ सेन्टिमिटरसम्म पुग्छ । यसको बिरुवाको उचाइ ४० देखि ४५ सेन्टिमिटरसम्म हुन्छ । यसको बिरुवा ३० देखि ३५ सेन्टिमिटरसम्म फैलन्छ । लाहुरे फूल रातो, पहेंलो, सेतो तथा मिक्स आदि विभिन्न रंगमा उपलब्ध हुन्छ ।
टेन्डर हार्ट
मिक्स रंगमा पाइने यो फूल सुन्दर रंग तथा छिटो फुल्ने हुँदा बगैंचाप्रेमीहरूको रोजाइमा पर्दै आएको छ । यो बिरुवा ३५ सेन्टिमिटरसम्म लामो हुन्छ । यो २० सेन्टिमिटरसम्म फैलन्छ । यसले पुतली तथा माहुरीलाई आकषिर्त गरेको पाइन्छ । टेन्डर हार्ट मिक्स विविध रंगका फूलका लागि धनी मानिन्छ । यसको फूल ६ सेन्टिमिटरसम्म ठूलो हुन्छ ।
अर्ली वर्ड
अर्ली वर्ड मिक्स ड्वाफ्मा कम्प्याट फूल हो । यसको फूल गाढा रंगको हुन्छ । त्यसैगरी यसको फूल डबल पत्रयुक्त हुन्छ जसको आकार ६ सेन्टिमिटरसम्म हुन्छ । यसको बिरुवा ४५ सेन्टिमिटरसम्म अग्लो हुन्छ भने यो ३५ सेन्टिमिटरसम्म फैलन्छ ।
हेबिस्कस
जाडो मौसममा तुषारो तथा शीतले गर्दा धेरै बोट-बिरुवा सुक्छन् । यतिबेला फूल रोप्न तथा स्याहार-सुसार गर्न कठिन हुन्छ । मौसम पनि सुख्खा हुने हुँदा पानी पनि बढी मात्रामा दिनुपर्ने हुन्छ । यसका लागि हेबिस्कस राम्रो विकल्प हुनसक्छ । यो दुई प्रकारको हुन्छ । साउथर्न बेली तथा डिस्को बेली । यो फूललाई राम्रो हेरचाह, पानी तथा मल दिए यो बार्है महिना फुल्छ । यो रातो, सेतो, हल्का गुलाबी मिक्स आदि विविध रंगमा उपलब्ध हुन्छ । यसको बियाँ अथवा नर्सरीबाट बोट नै ल्याएर घरमा हुर्काउन सकिन्छ । यसको बियाँ ५ देखि ७ दिनमा उम्रन्छ भने यसलाई एक ठाउँबाट अर्को ठाउँमा २५ देखि ३० दिनमा सार्न सकिन्छ । यसलाई गमला तथ जमिनमा रोप्न मल तथा माटोको मिश्रण तयार गरेर खुकुलो माटो बनाउनुपर्छ । यसलाई दैनिक रूपमा पानी दिनुपर्छ । पानी दिन बेलुकीपखको समय उपयुक्त हुन्छ । यसले गर्दा रातभर जरा चिसो हुन पाउँछ । रोपेको ६० देखि ६५ दिनमा यसको कोपिला लाग्न थाल्छ । यसको फूलको साइज २३ देखि २५ सेन्टिमिटर हुन्छ । यसको फूल गोलो आकारको हुन्छ भने बीच भागमा घन्टीजस्तो लामो टेल हुन्छ । साउर्थन बेलीको बिरुवाको उचाइ डिस्को बेलीको तुलनामा ठूलो हुन्छ । साउर्थन बेलीको उचाइ १ सयदेखि १ सय २० सेन्टिमिटर हुन्छ भने चौडाइ ५० देखि ६० सेन्टिमिटरसम्म हुन्छ । त्यसैगरी डिस्को बेलीको उचाइ ६० देखि ७५ सेन्टिमिटर तथा उचाइ ४० देखि ६० सेन्टिमिटरसम्म हुन्छ ।
असर्फी फूल
जाडो मौसममा सजिलै हुर्कने तथा रोप्न उपयुक्त फूल केलेन्डुला पनि हो । यो फूल रोप्न तथा हुर्काउन सजिलो हुन्छ । समय नभएका मानिसले समेत यो फूल सजिलै हुर्काउन सक्छन् । अरु फूलको तुलनामा यो फूललाई धेरै समय खर्चिरहनु पर्दैन । यसलाई दैनिक पानी तथा समय-समयमा मल दिए पुग्छ । यो फूल सुन्तला तथा पहेंलो रंगमा उपलब्ध हुन्छ । यो फूल एकपटक रोपेर सोही ठाउँमा सुकेर र्झन दिएपछि फेरि यसको बिरुवा उम्रेर आउँछ अथवा यसको फूललाई घाममा सुकाएर यसको बीउ राख्न सकिन्छ । त्यसपछि यसलाई आफूलाई उपयुक्त लाग्ने ठाउँमा सार्न सकिन्छ । यसका इक्लिप्स सेरिज तथा क्ल्याप्सो सेरिज गरी दुई प्रकार छन् ।
इक्लिप्स सेरिज
यसको बिरुवा सानो हुन्छ । जाडो मौसमको सुरुवातसँगै यो फूलले हाम्रो घर-आँगन सुन्दर बनाउन थाल्छ । स्वतन्त्र रूपमा फुल्ने यो फूलले चिसो मौसममा पनि वातावरणसँग आफूलाई भिजाएको हुन्छ । यसको फूल पत्र-पत्र परेको हुन्छ । रोपेको एक महिनामै यसमा कोपिला लाग्न थाल्छ । यसको बिरुवाको उचाइ २५-३० सेन्टिमिटर हुन्छ भने चौडाइ ३०-३५ सेन्टिमिटरसम्म हुन्छ । यसको फूल ८ देखि १० सेन्टिमिटरको हुन्छ ।
क्ल्याप्सो सेरिज
सानो बिरुवामा इक्लिप्स सेरिजमा भन्दा केही साना फूल फुल्छन् । यो फूलको बीच भागमा सुन्दर कालो केन्द्रजस्तो भाग हुन्छ भने त्यसको वरपर पहेंलो तथा सुन्तला रंगका पत्र-पत्र परेका फूल हुन्छन् । यसलाई बाहिर सूर्यको प्रकाश पर्ने ठाउँमा राख्न सकिन्छ । यसको फूलमा इक्लिप्समा भन्दा केही थोरै पत्र हुन्छ । यसको फूलको आकार ६-७ सेन्टिमिटर हुन्छ । बिरुवाको उचाइ २५ देखि ३० सेन्टिमिटरसम्म हुन्छ । यो ३० देखि ३५ सेन्टिमिटरसम्म फैलन्छ ।
भाले फूल
असोज-कात्तिक महिनादेखि नै फुल्न थाल्ने यो फूललाई गमला तथा क्यारीमा लगाइने सुन्दर फूल मानिन्छ । भालेको टाउकोमा हुने शिउरजस्तै देखिने हुँदा यो फूललाई भाले फूल भनिएको हो भने यसको फूल चराको पखेटाजस्तो पनि देखिन्छ । यसलाई असार-साउन महिनामा रोप्न सकिन्छ । रोपेको केही समयमै यसमा कोपिला लाग्न थाल्छ । यो रातो, कलेजी, पहेंलो आदि विभिन्न रंगमा उपलब्ध छ । त्यसैगरी यसका विविध जात नेपाली बजारमा उपलब्ध छन् । यो फूलका जात तथा फूलको आकार पनि जातअनुसार धेरै हुन्छन् ।
कम्बो सेरिज
यो सानो आकारको हुन्छ । बिरुवा सानो भए पनि यसको फूल भने गोलो, ठूलो तथा सुन्दर हुन्छ ।
रेड ह्याट
रातो रंगको यो फूल हेर्दा ह्याट आकारको हुन्छ । यो फूल गुराँसजस्तो पनि देखिन्छ । यसको बिरुवाको साइज २० देखि २५ सेन्टिमिटर हुन्छ भने चौडाइ पनि सोही अनुपातमा हुन्छ । यसको फूलको साइज १५ देखि २० सेन्टिमिटर हुन्छ । रोपेको एक महिनादेखि यसमा फूल फुल्न थाल्छ ।
सेन्चुरी सेरिज
यो फूल लामो आकारको हुन्छ । यसका फूल उज्याला तथा गाढा रंगका हुन्छन् । यो फूललाई आउट डोर कटफ्लावरका लागि उपयुक्त मानिन्छ । यसका साथै यो फूललाई ल्यान्डस्केपका लागि पनि उपयुक्त मानिन्छ । रोपेको एक महिनापछि नै यसमा फूल लाग्न थाल्छ । यो बिरुवाको उचाइ ४० देखि ४५ सेन्टिमिटर हुन्छ भने चौडाइ २० देखि २५ सेन्टिमिटर हुन्छ ।
युक्ता सेरिज
यो फूलको बिरुवा अरूको तुलनामा सानो हुन्छ भने यसले साना सयौं फूल दिन्छ । यो हरेक प्रकारको मौसमका लागि उपयुक्त मानिन्छ । विभिन्न सुन्दर रंगमा उपलब्ध यो फूल आँगन एवं बगैंचामा बोर्डर लाइन दिन पनि लाभदायक मानिन्छ । यसको फूलको साइज ८ देखि १० सेन्टिमिटर हुन्छ भने बिरुवाको उचाइ १० देखि १२ सेन्टिमिटर हुन्छ । त्यसैगरी यसको चौडाइ १५ देखि २० सेन्टिमिटर हुन्छ ।
किमोन सेरिज
सानो साइजका बिरुवामा यो सबैभन्दा बढी चलेको बिरुवा हो । यसको फूल सानो, तल झुम्म परेको तथा माथिको भाग चुच्चो परेको हुन्छ । गाढा तथा उज्यालो रंगमा उपलब्ध यो फूल राता, सुन्तला, गुलाबी, पहेंला तथा मिक्स आदि रंगमा उपलब्ध छन् । बिरुवा रोपेको २५ देखि ३० दिनमा फूल देखिन थाल्छ भने फूलको साइज १५ देखि २० सेन्टिमिटर हुन्छ । यो बिरुवाको उचाइ १५ देखि २५ सेन्टिमिटर हुन्छ भने चौडाइ २० देखि २५ सेन्टिमिटर हुन्छ ।
क्यास्टल सेरिज
यसको फूलको आकार सेन्चुरीको भन्दा ठूलो हुन्छ । यो फूल बासल ब्रान्चिङका लागि विशेष राम्रो मानिन्छ । यो रातो, गुलाबी, पहेंलो तथा सुन्तला रंगमा उपलब्ध छ । यो फूलको साइज २० देखि २५ सेन्टिमिटरसम्म हुन्छ भने बिरुवा ३० देखि ३५ सेन्टिमिटर अग्लो तथा २० देखि २५ सेन्टिमिटर चौडाइको हुन्छ । यसले पनि रोपेको २५ दिनदेखि ३० दिनसम्ममा फूल दिन थाल्छ ।