Successfully Copied

पुरातन शैलीको आधुनिक घर

कपन गाविस १-फेकस्थित गीता चालिसेको यो घरमा आधुनिक कन्सेप्टमा पुरातन संस्कृतिलाई सँगै लान खोजिएको छ ।

कपन गाविस १-फेकस्थित गीता चालिसेको यो घरमा आधुनिक कन्सेप्टमा पुरातन संस्कृतिलाई  सँगै लान खोजिएको छ । डेढ रोपनी जग्गामा फैलिएको यो घर ५ आनामा बनेको छ । साढे ३ तल्लाको यो घरको मुख्य विशेषता वास्तुशास्त्रको पालना हो । दुईवटा मुख्य गेट भएको यो घरको ग्राउन फ्लोर फ्लाट सिस्टममा तयार पारिएको छ । पहिलो तल्लामा लिभिङ रुम, मास्टर बेडरुम, रिडिङ रुम एवं बाथरुम छन् । मास्टर बेड रुमबाट बाहिर निस्कन मिल्ने सानो बरन्डा छ । घरधनी प्रेम भन्छन्, 'मैले ९ वर्षको साउदी तथा ३ वर्षको कतारको कामको अनुभवलाई यो घरको डेकोरेसनमा उतारेको छु ।

यो घरको मुख्य आकर्षक लिभिङ रुम हो, जहाँ वासेबल कलर प्रयोग गरिएको छ । त्यसको टेक्चर रफ छ भने रंगमा रातो, गुलाबी, आकासे नीलो तथा उड कलर प्रयोग भएको छ । कोठाको सिलिङमा नीलो आकाशको कन्सेप्टमा आर्ट गरिएको छ । भित्ता गुलाबी रंगले कलात्मक तुल्याइएको छ । भुईंमा पार्केटिङ छ भने भित्ताको आधा भाग पनि वाल पार्केटिङ गरिएको छ । लिभिङको एक भागमा एल आकारको एक्योरियम राखिएकाले कोठाको आकर्षण बढेको छ । चारैतिरको झ्यालले पनि यो कोठालाई उज्यालो बनाएको छ र कलर संयोजनले घरमा क्लासिक लुक झल्कन्छ ।  यो घरमा एउटा खुल्ला लबी छ, जसको भित्तामा ठूलो ऐना छ । घरको पूरै भर्‍याङमा पार्केटिङ गरिएकाले सफा देखिन्छ ।

घरको दोस्रो तल्लामा  डाइनिङ प्लस किचेन, वास रुम, मिनी लिभिङ रुम तथा बेड रुम छन् । डाइनिङ १२ ह १६ को छ भने किचेन १२ ह १० को छ । डाइनिङमा पनि लिभिङमा जस्तै टेक्चर रफ डिजाइन छ । डाइनिङमा बस्दा रमाइलो होस् भन्ने उद्देश्यले प्रकृति झल्काउने वाल पेन्टिङ गरिएको छ । त्यहाँ ८ जना अट्ने डाइनिङ टेबुल छ । डाइनिङ र किचेनको बीचमा पुरातात्विक संस्कृति झल्काउने हिसाबमा सिमेन्टको पिल्लर बनाइएको छ । पहेंलो, सुन्तला, कालो तथा  डार्क पहेंलोलाई मिक्स गरेर काठको कलर निकालिएको छ । उक्त कलात्मक पिल्लर काठकै  हो जस्तो लाग्छ । किचेनमा इटालियन ग्रेनाइट प्रगोग गरिएको छ । किचेनमा पहेंलो र सुन्तला रंग लगाइएको छ । डाइनिङदेखि किचेनसम्म भित्ताको तल्लो भागमा समुद्रका ढुंगाहरू राखिएको छ । जसले खोला, नालाको अनुभूति गराउँछ । किचेनको स्लासको साइडमा आगो बलेको सुन्दर कला छ । घरमा आगो भएपछि भूतप्रेतको बास हुँदैन भन्ने अवधारणाअनुसार उक्त कला त्यहाँ प्रयोग गरिएको हो । किचेनको पछाडि बरन्डामा मानिसहरू धेरै हुँदा भाँडा माझ्न मिल्ने ठाउँ छ ।

यो घरको तेस्रो तल्लामा पूजा कोठा छ । पूजा कोठाबाट निस्कने पानी ढलमा नपठाई अन्तै जाने व्यवस्था छ । पूजा कोठाको सिलिङ पनि आकाशजस्तै देखिने हिसाबमा आर्ट गरिएको छ । भित्ताको एक भागमा प्रकृतिको राम्रो चित्र छ भने अर्को भित्तामा रातो, गुलाबी रंगमा फूलहरूको चित्र छ । अरू भाग पूरै कौसी छ । कौसीभन्दा माथि टपमा सोलार तथा इन्भर्टर आदि राखिएका छन् । यो घरको छतबाट कपन गुम्बा, एयरपोर्ट, धरहरा आदि छर्लङ्ग देखिन्छ ।

प्रेम लिम्बु, आर्किटेक्ट

 Image