Successfully Copied

क्यासेट : मधुर मिलन

आसाममा स्थापित भैसकेकी गायिका मिलन नेवारले विवाह भएर काठमाडौं आएपछि आफ्नो सांगीतिक यात्रालाई अघि मात्र बढाइनन्

आसाममा स्थापित भैसकेकी गायिका मिलन नेवारले विवाह भएर काठमाडौं आएपछि आफ्नो सांगीतिक यात्रालाई अघि मात्र बढाइनन्, उनी लोकप्रिय गायिका पनि भैसकेकी छिन् । मिलनको नेपाली भाषाको दोस्रो एल्बम मधुर मिलन भर्खरै बजारमा आएको छ जसमा राजुबाबु श्रेष्ठको शब्द तथा सुनील मास्केको संगीत सुन्न सकिन्छ । भाइब्स क्रियसनले बजारमा ल्याएको यो एल्बमको संगीत संयोजन सचिन सिंहले गरेका हुन् भने यो एल्बममा प्रेम प्रसंगका मधुर गीतहरू समावेश छन् ।

चलचित्र : रंगबैजनी

१२ वर्षपछि नेपाली चलचित्रमा फर्किएका शम्भु प्रधानले चलचित्र रंगबैजनीको निर्देशन युवापुस्ताको माया-प्रेमलाई लक्षित गरेर गरेका छन् । चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे तथा दिक्पाल कार्कीको मुख्य भूमिका छ । नूतन प्रधानको कथा तथा निर्माणमा तयार भएको यो चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित छ ।

कला

कलाकार प्रमिला बज्राचार्यको नवौं एकल कला प्रदर्शनी गत महिना पार्क ग्यालेरी, पुल्चोकमा सम्पन्न भयो । यो उक्त प्रदर्शनीमा राखिएका २८ वटा चित्रमध्ये एउटा चित्र हो । कला प्रदर्शनीका क्रममा बंगलादेश पुग्दा उनले त्यहाँ स्थानीय पहिरनमा सजिएर नृत्य गरिरहेका युवतीहरू देखेर नै यो डान्सिङ सिरिज तयार गरेकी हुन् । प्रमिलाले ज्यापू युवतीहरूले लगाउने हाकु पटासी लगाएर डान्स गरिरहेको यो चित्र बनाएकी हुन् । आफ्नो संस्कृति जोगाउनुपर्छ भन्ने मान्यताका साथ महिलाहरू स-साना कुरामा कसरी खुसी हुन्छन् भन्ने कुरा यो चित्रमा देखाइएको छ ।   

पुस्तक : सरुको चिसो घाम

सानैदेखि साहित्यमा रुचि राख्ने सरु पोखरेलले थुप्रै कविता लेखेकी छिन् । कविता लेखनबाट साहित्यिक यात्रा प्रारम्भ गरे पनि पोखरेल कथा लेखनबाट आफ्नो पहिचान बनाउने जमर्को गर्दैछिन् । चिसो घाम शीर्षकको यो कथा संग्रहमा १९ वटा कथा समावेश छन् जसमा वृद्धावस्था, घरेलु हिंसा, महिला, वैदेशिक रोजगारी आदि समस्याहरू प्रस्तुत गरिएको छ । समाजशास्त्रकी अध्यापक सरु विभिन्न एफएममा साहित्यिक कार्यक्रम पनि चलाउँछिन् । यो पुस्तक अध्ययन गर्दा पोखरेल कथामा नयाँपन दिने प्रयासमा छिन् भन्ने कुरा स्पष्ट हुन्छ । शब्दहार क्रियसनले बजारमा ल्याएको यो संग्रहको मूल्य २ सय ५० रुपैंयाँ छ । 

 Image