‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान दिँदै आएको अल्का हस्पिटलले आफ्नो क्षेत्र बिस्तार गर्दैछ । सानो हाताबाट प्रारम्भ भएको यो हस्पिटल अहिले ठूलो भू-भागमा फैलिएको छ । यसले नर्सिङ कलेज पनि संचालन गरिरहेको छ । विद्या यसको व्यवस्थापनमा बिहानैदेखि सक्रिय रहन्छिन् । विद्याको जीवनचर्या अल्का हस्पिटल तथा कलेजको सेरोफेरोमै बित्छ । साईभक्त विद्याको दिन बाबाकै आराधनाबाट प्रारम्भ हुन्छ ।
आफूकहाँ उपचार गर्न आउने जोसुकैले राम्रो सेवा प्राप्त गरून् भन्ने उनको चाहना हुन्छ । विद्या आफ्नो हस्पिटलको हरेक भागको भ्रमण गरिरहेकी हुन्छिन् । कुनै कमी-कमजोरी पाइए तुरुन्तै सच्याउँछिन् । मृदुभाषी विद्या कसैको चित्त दुखाउन चाहन्नन् । यही बानीले गर्दा उनको ठूलो टिम प्रगतिपथमा निरन्तर अघि बढिरहेको छ । विद्याले आमा, श्रीमती तथा संचालकको जिम्मेवारीलाई सन्तुलित हिसाबले अघि बढाइरहेकी छिन् । समय मिले खाना बनाउन तथा बगैंचामा रमाउन मन पराउने विद्या सात्विक भोजनका साथै व्यायाम गर्न रुचाउँछिन् ।








