Successfully Copied

क्यासेट

गायिका सुनीता प्रधान लिम्बूले आफ्नो पहिलो आधुनिक एल्बम 'आरोही' बजारमा ल्याएकी छिन् ।

गायिका सुनीता प्रधान लिम्बूले आफ्नो पहिलो आधुनिक एल्बम 'आरोही' बजारमा ल्याएकी छिन् । एल्बममा माया-प्रेमका ६ वटा गीत समावेश छन् । अनुशीलले रचना गरेका ती गीतमा राजु सिंह, कमल खत्री, हरि लम्साल, सचिन सिंह, कल्याण सिंह एवं आलोकश्रीको संगीत सुन्न सकिन्छ । एल्बममा एउटा गीतको म्युजिक ट्रयाक पनि समावेश छ । सान्त्वना रेकर्डस्ले बजार व्यवस्थापन गरेको यो एल्बमको बिक्रीबाट प्राप्त २५ प्रतिशत रकम आमाघरलाई सहयोग गरिने रचनाकार अनुशीलले बताएका छन् ।

पुस्तक

मीरा मन थापाले माटो, मुटु र मन शीर्षकको गजल संग्रह सार्वजनिक गरेकी छिन् । पुस्तकका रूपमा भर्खरै गजल संग्रह बजारमा ल्याए पनि सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट आफ्ना भावपूर्ण सिर्जनाहरूले गजल पारखीहरूको मन जित्न सफल मीराका गजलमा कतै आँसु र पीडाको पोखरी देखिन्छ भने कतै देशप्रतिको जिम्मेवारी पाइन्छ । कतै खुसी, माया र उज्यालाका लहरहरू पाइन्छन् भने कतै दु:ख र वेदनाका भुमरी देखिन्छन् । ब्रदर बुक्सले प्रकाशन एवं वितरणको जिम्मा लिएको यो पुस्तकको मूल्य १ सय २५ रुपैयाँ छ ।  

कला : क्राउड

कलाकार सौर्यगंगा दर्शनधारी क्राउड शीर्षकको यो चित्रमा मानिसको पूरै जीवनलाई खुट्टाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । मानिस जन्मिएपछि नमरुन्जेल हिँड्नुपर्छ । औंलाकै मुनि हुने शंख-चक्रले सही बाटोतर्फ लाने संकेतका साथमा चन्द्रमा पनि देखाइएको छ । मानिसले चन्द्रमाको उदाहरणबाट जीवनमा धेरै कुरा सिक्नुपर्ने चित्रमा उल्लेख छ । काम गर्नासाथ सफल भइन्छ भन्ने हुँदैन, संघर्ष नै जीवन हो । जसरी चन्द्रमाको गतिशीलतामा पूणिर्मा र औंसी आइरहन्छन् त्यसरी नै जीवनमा सुखदु:ख आई नै रहन्छन् । कमलले राम्रो कुराको संकेत गर्छ भने मानिसको जीवन माछाजस्तै चञ्चल हुने हुँदा कतिपय गल्ती नचाहेर नै हुने कुरालाई पनि यो चित्रमा देखाइएको छ । यो चित्रमा ठूला दुई खुट्टाका वरिपरि अनेकौं स-साना पाइला पनि राखिएका छन् ।

चलचित्र

सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, विक्रम सिंह तथा सिर्जना अधिकारीद्वारा अभिनीत यो चलचित्रले राजा बन्ने आकांक्षा राख्ने व्यक्तिहरूको कथा प्रस्तुत गरेको छ । जीवनसाथी फिल्मस्को व्यानरमा दीपा बस्नेतद्वारा निर्देशित यो चलचित्रमा हाम्रै समाजमा विद्यमान तर हामीले महसुस गर्न नसकेको वर्गको चरित्र चित्रण गरिएको छ । चलचित्रले जस्तोसुकै काम गरेर वा डर-धाक देखाएर भए पनि आफूलाई समाजको बलियो पात्रका रूपमा स्थापित गराउने मानिसहरूको हूललाई प्रतिनिधित्व गरेको छ ।

 Image