Successfully Copied

छोटोमीठो कुराकानी

भर्खरै कान्तिपुरको लाइफ इज ब्युटिफुलमा भिजेका रूपमा काम गर्न थालेकी छु भने अध्ययन र इभेन्टहरूमा पनि सक्रिय छु।

भिजे : शुभेच्छा खड्का

अहिले केमा व्यस्त हुनुहुन्छ?

भर्खरै कान्तिपुरको लाइफ इज ब्युटिफुलमा भिजेका रूपमा काम गर्न थालेकी छु भने अध्ययन र इभेन्टहरूमा पनि सक्रिय छु।

टेलिभिजनमा कसरी प्रवेश गर्नुभयो?

आरजे र भिजेमा पहिलेदेखि नै रुचि थियो। मैले १२ कक्षामा पढ्दादेखि नै न्युज २४ मा काम गर्नर् थालेकी हुँ। १ वर्ष त्यहाँ काम गरेर अनुभव बटुलेपछि इसीएसमा पनि काम गरें। अहिले कान्तिपुरमा छिरेकी छु, अझ राम्रो गर्ने योजना छ।

टेलिभिजनका आकर्षक व्यक्ति तथा कार्यक्रम?

भूषण दाहाल र उनको फायर साइड, सुरजसिंह ठकुरी र उनको परिवर्तन तथा लाइफ इज ब्युटिफुल तथा प्रभा अमात्य।

म्युजिक भिडियोमा एकदमै कम देखिनुको कारण?

मैले जम्मा दुईवटा म्युजिक भिडियोमा अभिनय गरेकी छु। गीत, टिम र थिम चित्त बुझ्यो भने मात्र काम गर्ने भएकीले संख्या कम भएको होला।

आफू कस्ती युवती भएजस्तो लाग्छ?

मिलनसार, सहयोगी तथा मानिसहरूसँग घुलमिल भैहाल्ने।

नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ?

पहिले हेर्दिनथें तर अहिले राम्रा चलचित्र बनिरहेकाले हेर्न थालेकी छु।

अहिलेसम्म हेरेका चलचित्रमध्ये राम्रो लागेको चलचित्र?

कबड्डी। जसको सुरुदेखि अन्त्यसम्म कुनै सिनमा बोर फिल भएन।

चलचित्रमा आउने सोच छैन?

अहिलेसम्म कुनै सोच बनाएकी छैन तर राम्रो प्रोजेक्ट भयो भने विचार गर्न सक्छु।

तपाईंको आइडियल पर्सन?

मेरी मामु। उहाँले आफ्नो ठाउँ आफैले बनाउनुभएको छ। म पनि उहाँजस्तै आफ्नै खुट्टामा उभिन चाहन्छु।

तपाईंको रुचि केमा छ?

घुम्न मन पराउँछु, खानामा भिन्न-भिन्न स्वाद चाख्न चाहन्छु । मुभी हेर्न, पुस्तक पढ्न र डान्समा पनि उत्तिकै रुचि छ।

घरको काम कत्तिको गर्नुहुन्छ?

खासै गर्नुपर्दैन तर आफ्नो कोठा सफा गर्छु र ममीलाई सघाउँछु।

पकाउन आउँदैन?

आउँछ, मुड आयो भने युट्युब हेरेर मीठा-मीठा परिकार बनाएर ख्वाउँछु।

कत्तिको फेसनेबल छु जस्तो लाग्छ?

फेसनेबल भन्दा पनि फेसन कन्सियस छु।

नायिका बन्दै भिजे आश्मा

तीन वर्षदेखि टिभी फिल्मी च्यानलमा भिजेका रूपमा काम गरिरहेकी आश्मा डिसीले चलचित्रमा नायिका बन्छु भन्ने कल्पनासम्म गरेकी थिइनन्। वान डे विथ शीर्षकको टिभी शो चलाउन डिसीले धेरै सेलिब्रेटीको एक दिन गरिन्। कार्यक्रमकै सिलसिलामा भेटेका निर्देशक सुरेन्द्र पौडेलले पहिलो भेटमै स्क्रिप्ट पढेर सुनाएपछि आश्मा ठूलोपर्दामा देखिन लागेकी हुन्। भर्खरै सुटिङ सम्पन्न भएको चलचित्र आभाषमा उनले नायिकाका रूपमा अभिनय गरेकी छिन्। सानैदेखि चलचित्र हेर्ने तथा नृत्यमा कुशल डिसी नायिका गौरी मल्लको अभिनय रुचाउँछिन् भने अहिलेका नम्रता श्रेष्ठ तथा प्रियंका कार्कीको अभिनयबाट प्रभावित छिन्। नायकमा आफ्नै प्रेमी संयम पुरी, सौगात मल्ल तथा विल्सन विक्रम राईको अभिनय राम्रो लाग्छ। आश्माले स्कुल पढ्दादेखि नै आमाहरूको देखासिकीमा तीजको व्रत लिन थालेकी हुन्। राम्रो श्रीमान् पाउने आशामा व्रत बस्न थालेकी आश्मा एकपटक निराहार व्रत बसेकी छिन्। स्वास्थ्यका दृष्टिले अहिले उनी जुस एवं पानी पिएर व्रत बस्छिन्। चलचित्र आभाषको परिणाम हेरेर मात्र चलचित्रमा निरन्तरता दिने कि नदिने निर्णय गर्ने डिसीले बताइन्।

रहेनन्  श्रीकृष्ण

नेपाली चलचित्र जगत्का लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठ निमोनियाँ एवं बोन क्यान्सरका कारण गत साउन २४ गते सबैबाट टाढिएका छन्। अभिनयमा पोख्त तथा नृत्यमा अब्बल नायक श्रेष्ठ सबै उमेर समूहका दर्शकबीच प्रिय थिए। उनी गत असार २३ गते मात्र नायिका श्वेता खड्कासँग विवाह बन्धनमा बाँधिएका थिए। ६ वर्षअघि कहाँ भेटिएलामा सँगै काम गरेपछि यो जोडीलाई धेरैले रुचाएका थिए।

त्यसपछि उनीहरूले कलिउड प्लानेटजस्ता केही विजनेस पनि सँगै गरेका थिए। श्रीकृष्णले निर्माण गरेको डि्रम प्रोजेक्ट कोहिनूर पनि उनी बित्नुभन्दा एक दिनअघि मात्र प्रदर्शनमा आएको थियो। चलचित्रको परिणाम नै थाहा नपाई नायक श्रेष्ठ आफ्ना दर्शक, परिवार, साथीभाइ एवं नवविवाहिता जीवनसंगिनीबाट टाढा भए। श्रीकृष्णको निधनबाट चलचित्र क्षेत्र स्तब्ध एवं शोकाकुल छ।

 Image