एउटा घर सफल हुन महिलाको मुख्य भूमिका हुन्छ। शिक्षित, सभ्य एवं व्यावहारिक श्रीमतीले नै घरलाई राम्रोसँग अघि बढाउन सक्छिन्। घरलाई व्यवस्थित, श्रीमान्लाई अनुशासित एवं सन्तानलाई असल मार्गतर्फ अग्रसर गराउने मुख्य भूमिका उनकै हुन्छ। यस्तो भूमिकामा पोख्त छिन् सञ्चारकर्मी दिलभूषण पाठककी श्रीमती शिखा प्रसाईं। काठमाडौंको राम्रो परिवारमा जन्मिएकी शिखाले पोलिटिकल साइन्समा स्नातकोत्तर गरेकी छिन्। शिखा अहिले आफ्नै व्यावसायिक संस्था इन्टरफेसमा कार्यरत छिन् जहाँ उनी डाइरेक्टरको हिसाबले कन्टेन्ट डेभलपमेन्ट हेर्छिन्।
सन् २००१ मा आफन्तमार्फत यो जोडीको भेट भएको हो। काठमाडौंमा बसोबास गर्ने, एउटै उमेर र व्यक्तित्व पनि त्यस्तै देखिने भएकाले ती आफन्तले विवाहकै लागि उनीहरूको भेट गराइदिएका थिए। दुवै आ-आफ्नो स्थानमा पहिचान बनाइरहेका युवा भएकाले उनीहरूले केही समयपछि मात्र निर्णय गर्ने सोच बनाए। हुन त दिलभूषणले पहिलो पटक देख्नासाथ शिखालाई मन पराइसकेका थिए। शिखाको शारीरिक बनावट देखेर एवं विचार सुनेर दिलभूषण आकषिर्त भएका थिए भने शिखा दिलभूषणको कुरा गर्ने शैली, शारीरिक बनोट तथा आउट फिटबाट आकषिर्त भएकी थिइन्। त्यति हुँदाहुँदै पनि जीवन बिताउने कुरामा क्षणिक हेराइ र मन परेकै कारण हतारको निर्णय गर्न नहुने दुवैको बुझाइ थियो। केही महिनाको निरन्तर भेटघाट र सम्पर्कपछि उनीहरू एक-अर्कालाई अझ नजिकबाट चिन्न र बुझ्न सफल भए। फरक इस्युमा, पारिवारिक एवं साथीभाइका कुरा सेयर गर्दै जाँदा दुवैलाई दुवैको प्रस्तुति एवं कामले प्रभावित तुल्याएको थियो।
उनीहरू विवाहकै लागि भनेर भेट भएकाले विवाहको कुरा अघि बढाउन सजिलो भयो। सन् २००२ मा उनीहरूको विवाह भयो। धेरै थरिका डेभलपर अनि टुरिज्मसम्बन्धी काम गरिरहेकी शिखालाई पहिलो बच्चा पाउने बेला अफिसमा काम गर्न गार्हो भयो। छुट्टी लिएर घर त्यत्तिकै बस्न अझ गार्हो भएर नै डेभलपमेन्ट र सोसल सेक्टरमा काम गर्ने हिसाबले घरमै बूढाबूढी मिलेर इन्टरफेस रजिस्टर गराएका हुन् जसमार्फत उनीहरूले विभिन्न डकुमेन्ट्री बनाए। दुवैको मेहनतका कारण बाहिरबाट पनि राम्रै रेस्पोन्स आयो। दिलभूषणले प्रोडक्सन हेड गर्ने र शिखाले कन्सेप्ट एवं कन्टेन्ट डेभलप गर्ने काम गर्न थाले। २४ सै घन्टाजसो सँगै हुने यो जोडीलाई कहिलेकाहीँ घर र अफिसको कामले गर्दा टेन्सन पनि हुन्छ। सँगै काम गर्दा सजिलो र सपोर्ट हुने उनीहरूको ठहर छ। भान्साको सबै काम शिखाले सम्हाल्छिन् भने छोराछोरीहरूको होमवर्क, स्कुल पुर्याउने, लिन जाने तथा अतिरिक्त क्रियाकलापमा सघाउने जिम्मा दिलभूषणले लिएका छन्।
घर र अफिस सँगै भएको हुँदा ब्रेकको आवश्यकता दुवैलाई हुन्छ। उनीहरू लञ्च एवं डिनरका लागि हप्ताको एकपटक बाहिर जान्छन् भने स्वीमिङका साथै बिदामा स्वदेश तथा विदेश घुम्न पनि गैरहन्छन्। अहिले दिलभूषणका लागि श्रीमती मापसे लागेपछिकी चालक भएकी छिन्। यो दम्पती आफूलाई परिपक्व बनाई दुई छोराछोरीको प्रगतिमा सहायक हुँदै अनि आफूले क्रियटिभ काम गर्दै जीवनयापन गरिरहेको छ। अहिलेको पुस्तामा सम्बन्ध नटिक्ने कारण आपसी सम्बन्धलाई बन्धन एवं सम्झौताका रूपमा लिनुलाई मान्छन् उनीहरू।
शिखाको राम्रो पक्ष
सेन्सेटिभ छिन्, एटेन्सन खोज्छिन् र फेमिली टाइम म्यानेज गर्न सिपालु छिन्। धैर्य राम्रो छ तर अझै बढ्यो भने उनलाई प्लस प्वाइन्ट हुन्छ।
दिलभूषणको राम्रो पक्ष
स्टे्रट फरवार्ड हुनुहुन्छ। कुरा लुकाउने बानी छैन। बिहान अलि छिटो उठ्न सके अझ राम्रो हुन्थ्यो।
दुवैको मिल्ने कुरा
पहिलो त दुवैको राशि मिल्छ। स्वाद मिल्छ, सहयोग, दान एवं सेवा गर्ने भावना मिल्छ। दुवै कन्सस छन्। पेट भरिने गरी कोही खाँदैनन्। स्पाइसी, चिल्लो नखाने र पस्किएको खाना नफाल्ने बानी मिल्छ।
नमिल्ने कुरा
दिलभूषणलाई देखिन मन पर्छ भने शिखा देखिन र खान मन पराउँदिनन्। दिलभूषण जिममै गएर एक्सरसाइज गर्छन् भने शिखा जिम जान्नन्, घरमै शारीरिक व्यायाम गर्छिन्।
झगडा
कहिलेकाहीँ कामको सिलसिलामा सोच फरक हुँदा मनमुटाव हुन्छ। जसलाई पनि आफ्नो कुरा सही जस्तो लाग्छ, त्यस्तै कुरामा ठाकठुक हुने शिखा बताउँछिन्। मुख्यत: कन्टेन्टमा उनीहरूको मनमुटाव हुन्छ। उनीहरूको विवाद पनि सिर्जनशील कुरामै हुन्छ। त्यतिबेला स्टाफहरूले मध्यस्थकर्ताको काम गर्छन्। झगडामा उनीहरू मौन बस्न रुचाउँछन्। नेदरल्यान्ड घुम्न जाँदा उनीहरू धेरैजसो समय नबोली बसेका थिए।