आकर्षक घरमा सुखपूर्वक जीवन बिताउने चाहना सबैमा हुन्छ। यही चाहनाका कारण गोदावरीस्थित यो घर ५ रोपनी जग्गामा बनेको छ। पहिले रिसोर्ट रहेको यो ठाउँमा रमा सिलवालले बस्नकै लागि यो घर बनाएकी हुन्। गोदावरीको मूल बाटैमा अवस्थित यो घर अगाडि र पछाडि बगैंचा एवं करेसाबारीका लागि प्रशस्त जग्गा छुट्याइएको छ। गेटबाट छिर्नासाथ ढुंगा बिछ्याइएको रोडबाट भित्र पुगिन्छ भने दायाँ-बायाँ भागमा फूलबारी र करेसाबारी बनाइएको छ। हरियाली बीचको यो घर टाढैबाट शीतल देखिन्छ। घरभित्र छिर्ने ठाउँमा बस्न मिल्ने गरी चारैतिर पेटी बनाइएको छ। घरको मूलद्वारमा महादेव, गणेश, कलश आदिका आकृति कुँदिएका छन्।
भित्र छिर्नासाथ ओपन लिभिङ रुम आउँछ। आधुनिक र्फनिचरहरूले लिभिङ रुमलाई आधुनिक टच दिन खोजिएको छ भने भुइँमा टायल र मार्बल बिछ्याइएको छ। लिभिङ रुमबाट चिल्ड्रेन रुम र भान्सा जोडिएको छ। माथि जाने भर्याङको खाली स्पेसमा शोकेश बनाइएको छ। त्यसमा रक्सी, वाइन आदि सजाएर बारको लुक्स दिइएको छ। सेतो र गुलाबी रंग प्रयोग गरिएको लिभिङ रुम ठूलो झुम्मरले गर्दा अझ आकर्षक देखिन्छ। पहिलो तल्लामा २ वटा बेड रुम तथा एउटा सानो लिभिङ रुम छ। दोस्रो तल्लामा एउटा गेस्ट रुम तथा कौसी छ। हरेक तल्लामा अगाडि र पछाडिको भागमा टेरेस बनाइएको छ, जसले गर्मीमा बाहिर बस्न सजिलो हुनुका साथै घरभित्र पर्याप्त उज्यालो प्राप्त हुन्छ। यो घरको पछाडि फलफूलहरूका साथै अन्य ठूल्ठूला रूख पनि देखिन्छन् भने नजिकैको शान्तिवन तथा गोदावरीको जंगलका कारण घर जंगलको बीचमा बनेको हो कि भन्ने प्रतित हुन्छ। हरियालीलाई प्राथमिकता दिइएकाले यो घर स्वास्थ्यको हिसाबले पनि उत्तम छ। काठ, मार्बल एवं टायल प्रयोग गरिएकाले घरको आन्तरिक सज्जा पनि सफा एवं सुन्दर देखिन्छ।