‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।

राजधानीको एक प्रतिष्ठित विद्यालयमा पाँच कक्षामा पढ्ने प्रतिमा राईको दसैं बिदा सुरु भयो। उनका सहपाठीहरूलाई लिन तिनका अभिभावकहरू आए। उनी आफ्नो होस्टलको चौरमा बसेर हेरिरहेकी थिइन्। साथीहरू भने आमाबुवासँग अँगालो हालेर घर जान पाएकोमा खुसी थिए तर प्रतिमालाई लिन काही आएनन्। उनलाई अनायास आफ्नी आमाको सम्झना आयो, आमालाई नदेखेको एक वर्ष भएको थियो। उनकी आमा उनलाई धेरै माया गर्थिन्। बाबा भने धेरैजसो अफिसको कामले बाहिरै हुन्थे। त्यसैले बाबा र आमा दुवैको जिम्मेवारी आमाले नै लिएकी थिइन्। एकदिन अचानक आमाले फकाउँदै भनिन्-नानु, म तिमीलाई एकदम राम्रो होस्टलमा राखिदिन्छु अनि म चाहिँ काम गर्न विदेश जान्छु।
राम्रोसँग पढ भनेर प्रतिमालाई स्कुलमा पुर्याउन पनि आमा नै गएकी थिइन्। त्यतिबेला उनलाई कत्ति रमाइलो लागेको थियो अनि आमाले नै सबै सामान मिलाइदिएकी थिइन्। एक-दुईपटक स्कुलबाट घर आउँदा-जाँदा आमासँगै गएका दिनहरू सम्झँदा उनलाई अझै पनि रमाइलो लाग्छ। पोहोर साल ठीक यसै बेला आमा विदेश गइन् अनि उनलाई त्यो दसैं निकै खल्लो लागेको थियो। यसपालिको दसैं कस्तो हुन्छ उनलाई थाहा छैन। उनलाई उनकी आमाले बोजुकहाँ छोडेर गएकी हुन्। एक-एक गरेर सबै साथीहरू घर गए, होस्टलमा उनी मात्र बाँकी रहिन्।
स्कुल बन्द हुन लाग्दा कल्पना म्याडमले उनलाई बोलाएर प्रतिमाका लोकल अभिभावकलाई फोन गरिन्। धेरै फोनको घन्टी गएपछि बल्ल कसैले फोन उठायो अनि यहाँ अहिले कोही छैन, तीन-चार दिनपछि लिन आउँछन् भन्ने जवाफ आयो। कल्पना म्याडम छक्क परिन् ती दस वर्षे अबोध बालिकालाई बेवास्ता गरी धन कमाउन गएकी प्रतिमाकी आमासँग उनलाई धेरै रिस उठ्यो अनि उनले जसरी भए पनि प्रतिमालाई उनको घर पुर्याइदिने अठोट गरिन्। प्रतिमाले बताएअनुसार उनीहरू बानेश्वर पुगे। त्यहाँ प्रतिमा त्यसै अलमलिइन्। घरी यता घरी उता गर्दै साँझ पर्यो तर प्रतिमाले आफ्नो घर पहिल्याउन सकिनन्। पछि बल्लतल्ल फोनमा सोध्दा उनको घर बानेश्वरको अर्कै कुनामा रहेछ। उनीहरू त विपरीत दिशामा भौंतारिरहेका रहेछन्। धेरै समयमा घरमा पुगेर घन्टी बजाएपछि बूढी बोजुले ढोका खोलिन्। लोडसेडिङको त्यो साँझ बोजुले प्रतिमालाई बल्ल-बल्ल ठम्याइन्। उनी घर पुग्दा कसैमा खुसी देखिएन, न उनको स्वागत नै भयो। प्रतिमालाई पुर्याएर घर र्फकदा कल्पना म्याडमको मन त्यसै अमिलो भयो अनि यसरी अबोध बालबालिकालाई छोडेर कोही पनि विदेश नजाओस् भनेर कामना गरिन्। त्यो दिनदेखि किन हो किन कल्पना म्याडमको प्रतिमाप्रतिको प्रेम बढ्दै गयो। उनी उनका आमा अनि बुवाका विषयमा चासो राख्न थालिन्।
दिनहरू बित्दै गए, प्रतिमा कक्षा चढ्दै गइन्। उनी पढ्ने विद्यालयमा अधिराज्यभरका विद्यार्थीहरू पढ्ने भएकाले उनी छोटो-छोटो बिदामा टाढा घर भएका र घर जान नपाउने साथीहरूसँग बस्थिन् भने लामो बिदामा त्यही बोजुको घर जान्थिन्। आमाले विदेशबाट पठाइदिएका चकलेटहरू खान पाउँदा निकै खुसी हुन्थिन्। ती चकलेटहरू साथीहरूलाई बाँड्दै गर्वका साथ भन्थिन्-यो मेरी आमाले पठाएको धेरै मीठो छ। उनका साथीहरूले पनि त्यसको प्रशंसा गर्दा उनी दङ्ग पर्थिन्। तर पछि आमाको मायाको महत्त्व बुझ्दै जाँदा उनलाई चकलेट होइन आमाको अभाव महसुस हुन थाल्यो।
प्रतिमालाई पनि आमाको काखमा लुटपुटिन मन लाग्थ्यो उनी बिरामी हुँदा आमा...आमा भन्दै बरबराउँथिन्, तर उनको यो चाहना पूरा नभई उनको बाल्यकालले फट्को मारिरहेको थियो। बिरामी हुँदा आमाले आफूलाई सुमसुम्याइरहेको कल्पना गर्दै निदाउँथिन् प्रतिमा।
प्रतिमाकी आमाले उनका लागि पैसा र उपहार पठाउँदा बोजुकै हातमा पहिले पथ्र्यो अनि बोजुमार्फत मात्र पाउँथिन्। यसपालि उनको जन्मदिनमा आमाले सुनको सिक्री पठाइदिएकी थिइन् तर त्यो बोजुले पछि लगाउनू भनेर आफैले राखिन्। यसरी आमाले प्रतिमाका लागि पठाइएका वस्तुहरू उनी केवल हेर्न पाउँछिन्। उमेरसँगै उनको परिपक्वतामा वृद्धि हुँदै गयो। विस्तारै उनी आमासँग सीधै सम्पर्क गर्ने भइन्। कक्षा नौमा पुग्दासम्म साथीको छनोटमा परिवर्तन भयो। जमानाअनुसारको तडक-भडकमा उनकोे ध्यान खिचियो। फलस्वरूप उनले आमासँग सीधै सम्पर्क गरी पैसा खर्च गर्न थालिन्। अहिले उनको वरिपरि लाग्ने त्यस्तै खाले साथीहरू छन् अनि पढाइमा उनको स्तर खस्कँदै छ जसले गर्दा मुस्किलले उनी कक्षा चढ्दैछिन्। प्रतिमाको यो परिवर्तन देखेर कल्पना म्याडमलाई धेरै दुःख लागेको छ। उनी बेलाबेलामा प्रतिमालाई सम्झाउने प्रयास गर्छिन्। अब त उनी कल्पना म्याडमका अगाडि सकभर देखा नै पर्दिनन्। उनको भविष्य अन्योलमा छ। उनी बीचमा उभिएकी छिन् राम्रोले तान्ने हो कि नराम्रोले त्यो त समयले बताउने छ।
- श्लेष्मा क्षेत्री