Successfully Copied

गुनासोः उपभोक्ताको अधिकार

किनमेल गर्ने रुचि सबैलाई हुन्छ तर कहिलेकाहीँ किनमेल गर्दा ठगिइन्छ। पसलेसँग गुनासो गर्दा उसले गल्ती मानेर सामान फिर्ता लिने सम्भावना निकै कम हुन्छ।

किनमेल गर्ने रुचि सबैलाई हुन्छ तर कहिलेकाहीँ किनमेल गर्दा ठगिइन्छ। पसलेसँग गुनासो गर्दा उसले गल्ती मानेर सामान फिर्ता लिने सम्भावना निकै कम हुन्छ। सामान महँगो छ भने त अझ नरमाइलो हुन्छ। गुनासो गर्दा त्यसको सुनुवाइ हुनुको साटो विभिन्न समस्या सामना गर्नुपर्ने बाध्यता हुन्छ। कहिलेकाहीँ सामान बजारमा हुँदा पनि अप्राकृतिक अभाव सिर्जनाका कारण उपभोक्ताहरू महँगा सामान खरिद गर्न बाध्य हुन्छन्। त्यसैले उपभोक्ता अधिकारका विषयमा जान्नु तथा आफ्नो अधिकारका लागि लड्नु आवश्यक छ। नेपाली बजारमा सामग्रीहरूको अनुगमन कमै हुन्छ। बजारमा कस्ता सामान भित्रिन्छन्, कुन नक्कली, कुन सक्कली, कसको सही दाम अन्योल छ। अन्त्यमा त्यसको मारमा उपभोक्ता नै पर्छन्। उपभोक्ताहरूको गुनासाको सुनुवाइ नहुँदा उनीहरूको अधिकारको कुनै सुनिश्चितता छैन। उनीहरू सबैतिरबाट पेलानमा परेका छन्। कुनै पनि सामान आफूले चाहेजस्तो नपाए गुहार्ने ठाउँबाट कुनै प्रकारको कदम उठेको पाइँदैन। नियम त छन् तर तिनको कार्यान्वयन हुन सकेको पाइँदैन। उपभोक्ता ऐन तथा उपभोक्ता अधिकारका लागि पर्याप्त वकालत भएको छ तर कार्यान्वयनमा निकै कमजोरी देखिन्छ। त्यसैले यसबाट बच्न उपभोक्ताहरू आफै सजग बन्नुपर्छ। आफ्नो हकको पहिचान गरी सोहीअनुसार पाइला अघि बढाउनुपर्छ। जागरुक उपभोक्ता ठगिने सम्भावना कम हुन्छ।

सामान खरिद गर्नुभन्दा पहिले पसलेसँग पक्का बिल लिनुपर्छ। ट्याक्स बचाउने लोभमा हामी बिल नलिने भूल गर्छौं तर त्यसो नगरी सामान खरिद गरेपछि बिल लिनुपर्छ। आवश्यक पर्ने सबै कुरा लेखिएको बिल मात्र स्वीकार गर्नुपर्छ। कुनै सेतो कागजमा लेखिएको बिललाई कच्चा बिल भनिन्छ। त्यसैले पसलको नाम तथा भ्याट नम्बर लेखिएको बिल लिनुपर्छ। सामान खरिद गर्दा सामानको ब्रान्ड, लट नम्बर, त्यसको मूल्य आदि सम्पूर्ण कुरा लेखिएको हुनुपर्छ।

हरेक कुरा राम्रोसँग बुझेर सामग्री खरिद गर्नुपर्छ। महँगा सामान खरिद गर्दा त्यसको ब्रोसर पढेर आफू सन्तुष्ट भएपछि मात्र सामान खरिद गर्नुपर्छ। यसको ग्यारेन्टी तथा वारेन्टीका विषयमा पनि आफू एकिन हुनुपर्छ। त्यसको मर्मत तथा आफ्टर सेल्स सर्भिसहरू के-के छन् जानकारी लिनुपर्छ। सबै जानकारी लिएपछि मात्र सामान खरिद गर्ने निर्णय गर्नुपर्छ।

कुनै पनि सामान खरिद गर्दा त्यसको बनावट तथा फङ्सनका विषयमा जानकारी लिनुपर्छ। आफूले खरिद गर्ने सामग्रीको कार्यशैलीका बारेमा विश्वस्त हुनुपर्छ।

आइएसआई तथा गुणस्तर चिन्ह जाँच गर्नुपर्छ। ग्यारेन्टी कार्ड लिन बिर्सनु हुँदैन जसमा सफा अक्षरमा लेखिएको हुनुपर्छ।  

सामान खरिद गर्दा केही जरुरी कुरा जस्तै त्यसको मेनुफ्याक्चर मिति, एक्स्पायर हुने मिति, प्रयोग गर्ने तरिका, प्रयोग गरिएका तत्व जस्ता हरेक पक्षको जानकारी लिनुपर्छ।

कहाँ गुनासो गर्ने ?

कुनै पनि सामग्रीमा दोष भए कहाँ तथा कसलाई उजुरी गर्ने विषयमा सजग हुनुपर्छ। कस्तो अवस्थामा कहाँ गुनासो गर्ने राम्रोसँग विचार  गर्नुपर्छ। आफूले खरिद गरेको उत्पादनमा कुनै दोष, लेखिएको दामभन्दा बढी पैसा लिएको वा प्रयोग भएको पाइए तथा सेवामा कमी भए गुनासो गर्न सकिन्छ।

सामग्रीमा मात्र होइन सेवा दिने निकायका सुविधाबाट आफू खुसी नभए पनि गुनासो गर्न सकिन्छ। यसमा बैंकिङ, इन्स्योरेन्स, रेल, हवाई, बस होटल, रेस्टुराँ आदि सेवा पर्छन्। जागरुक उपभोक्ता बनी आफ्नो अधिकारको रक्षा गर्दै नराम्रो काम गर्नेलाई सजायको भागिदार बनाउनुपर्छ।

उपभोक्ताहरूको अधिकार

मानिसका आधारभूत आवश्यकताभित्र राम्रो खाना, छाना, लुगा, सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सरसफाइ पर्छन्।

के गर्ने ?

- आफ्नो आवश्यकतालाई चरणबद्ध गर्ने।

- सदैव संख्याभन्दा गुणस्तरमा ध्यान दिने।

‍- ब्रान्डमा भन्दा गुणस्तरमा ध्यान दिने।

- बजारमा अभाव भएका सामग्री भण्डारण गर्ने।

सुरक्षा अधिकार

मानिसको सुरक्षाको अधिकार पनि निकै महत्वपूर्ण मानिन्छ। यसमा स्वास्थ्य तथा जीवन समाहित हुन्छन्।

के गर्ने ?

- सामान खरिद गर्दा वस्तुमा प्रयोग गरिएका सम्पूर्ण जानकारी तथा मिश्रति सामग्रीका बारेमा पूर्व जानकारी लिनुपर्छ।

- कुनै प्रकारको शंका भए विशेषज्ञबाट जानकारी लिनुपर्छ।

- बालबालिकाहरूको पहुँचबाट टाढा राख्नुहोस् भनी लेखिएका सामग्रीहरूका विषयमा जानकारी लिनुपर्छ।

- सामान खरिद गर्नुभन्दा पहिले त्यसको कुनै स्याम्पल तथा टेस्टर छ भने परीक्षण गरेर सामान खरिद गर्नुपर्छ।

छनोटको अधिकार

सामान खरिद गर्दा आफूलाई मनपर्ने, आफ्ना लागि उपयोगी हुने-नहुने छनोट गर्ने अधिकार उपभोक्ताको हो। पसल-पसल गएर तुलना गर्ने अधिकार पनि उपभोक्ताको हो।

के गर्ने ?

- सामान खरिद गर्दा आफूलाई चाहिएको, आफ्नो साइजअनुसारको छनोट गर्नुपर्छ।

- कहिलेकाहीँ सामग्री ठूला आकारका भए पनि आफूले खोजेजस्तो नहुन सक्छ।

- टेस्टर भए त्यसलाई प्रयोग गर्नुपर्छ।

- दुईको खरिदमा एक सित्तैमा  जस्ता अफरको सुविधा लिदा मूल्यको तुलना गर्नुपर्छ।

 Image