Successfully Copied

चलचित्र : ऋतु

युगल जोडीको प्रेममा आउने उतारचढावको कथामा निर्मित चलचित्र ऋतुमा राजबल्लभ कोइराला तथा पूर्व मिस नेपाल मलिना जोशीको

युगल जोडीको प्रेममा आउने उतारचढावको कथामा निर्मित चलचित्र ऋतुमा राजबल्लभ कोइराला तथा पूर्व मिस नेपाल मलिना जोशीको मुख्य भूमिका छ। ऋतु बदलिएजस्तो बदलिरहने जीवनका तीता-मीठा पलहरूलाई पर्दामा उतारिएको यो चलचित्रको निर्देशन मनोज अधिकारीले गरेका हुन्। संदीप बडालको कथामा निर्मित यो चलचित्र अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको हो। चलचित्रमा राज र मलिनाका साथमा रिमा विश्वकर्मा तथा विष्णु न्यौपाने पनि महत्वपूर्ण भूमिकामा देखा पर्छन्।

पुस्तक : सुमती उपन्यास चर्चा-परिचर्चा

नेपाली साहित्यको कथा, उपन्यास र कविता यात्रामा अनवरत लागिरहेकी साहित्यकार हुन्-शुभ श्रेष्ठ। पाल्पा, तानसेनमा जन्मिएकी शुभका केही कविता संग्रह, उपन्यास, यात्रा संस्मरण आदि प्रकाशित छन्। नेपाली साहित्यका प्रथम उपन्यासकार विष्णुचरण श्रेष्ठद्वारा रचित उपन्यास सुमतीका सम्बन्धमा विस्तृत जानकारी दिने हिसाबले श्रेष्ठले यो विवेचनात्मक कृति तयार पारेकी हुन्। सुमती उपन्यासका लेखक विष्णुचरण श्रेष्ठमा पर्याप्त विशेषता र उत्कृष्ट साहित्यिक सिर्जनशीलता भएर पनि ओझेलमा परेको यथार्थलाई यो कृतिमा समीक्षागत रूपमा प्रस्तुत गरिएको छ। उपन्यासकार श्रेष्ठको जीवन र कर्मका विशिष्ट पक्षहरूको गहन शोधखोज र विश्लेषणसहित शुभ श्रेष्ठले सुमती उपन्यास ः एक चर्चा-परिचर्चा शोध कृति तयार गरेकी हुन्। एरिना मानन्धरको आवरणले सजिएको यो कृतिको मूल्य एक सय रूपैयाँ छ।

कला : सरिताको रुखको कथा

कलाकार सरिता डंगोल सानैदेखि प्रकृतिप्रेमी थिइन्। त्यसैको असर उनको कलामा पनि परेको देखिन्छ। उनका धेरैजसो कलाकृति प्रकृतिलाई नै मुख्य विषय बनाएर तयार पारिएका छन्। यो चित्र पनि एक्सप्रेसन अफ नेचर थिममा कोरिएको छ जसमा प्रकृतिको भित्री आवाज, उथलपुथल, सौन्दर्य एवं भावनालाई समेटिएको छ। एउटा रुखको आत्मकथा प्रस्तुत गर्ने क्रममा कलाकार डंगोलले आकाश, सूर्य, हावा र पानीले कसरी रुखलाई प्रभाव पार्छन् भन्ने कुरा नाटकीय रूपमा प्रस्तुत गरेकी छिन्।

क्यासेट : चन्द्रकला न्यौपानेको प्रसाद

संगीतलाई पूजाका रूपमा लिने चन्द्रकला न्यौपानेले ६ वटा भक्ति गीत समावेश गरेर प्रसाद शीर्षकको सिडी बजारमा ल्याएकी छिन्। उमेरले नातिनातिना देखेकी न्यौपानेले भक्ति संगीत गाउँदा मन स्थिर हुने र आनन्द मिल्ने विश्वासका साथ यो सिडी  तयार पारेकी हुन्। उमा गौतमको रचना तथा रामचन्द्र अञ्जानको संगीतले सजिएको भक्ति एल्बम प्रसादमा ६ वटा भजनका साथमा एउटा ट्रयाक पनि समावेश छ। कलानिधि रेकर्डिङ म्युजिकले उत्पादन गरेको यो सिडीलाई भाइब्स् क्रियसनले बजारमा ल्याएको हो।

 Image