Successfully Copied

संस्कार पैसाको

फजुल खर्चबाट जोगिने प्रयास गर्नुपर्छ किनभने बालबालिकाहरू आफ्ना आमाबाबुकै अनुशरण गर्छन्।

फजुल खर्चबाट जोगिने प्रयास गर्नुपर्छ किनभने बालबालिकाहरू आफ्ना आमाबाबुकै अनुशरण गर्छन्। छोराछोरीले इमोसनल भएर जे पायो त्यही खरिद गरिरहेका छन् भने उनीहरूको पकेट खर्च एकसाथ दिनुको साटो हप्ताको एकपटक दिनुपर्छ। बालबालिकाहरूलाई पैसा बाँड्न पनि सिकाउनुपर्छ। उनीहरूलाई भाइबहिनीका लागि सामान खरिद गर्न सिकाउनुपर्छ। उनीहरूलाई गरिब बालबालिकाहरूलाई सहयोग गर्न सिकाउनुपर्छ। बालबालिकाहरूलाई जन्मदिन तथा चाडपर्वमा कुनै सामान दिनुको साटो नगद दिनुपर्छ। यसो गर्दा उनीहरूमा बचत गर्ने बानीको विकास हुन्छ।

हामी आफ्ना बालबालिकाहरूलाई राम्रो संस्कार दिने प्रयास गर्छौं तर जब कुरा पैसाको आउँछ तब त्यसलाई बिर्सन्छौं। उनीहरूलाई घरको आर्थिक पक्षबाट टाढा राख्छौं र व्यवहारका सम्बन्धमा बताउँदैनौं।

बालबालिकाहरू निकै जिज्ञासु हुन्छन्। उनीहरू स-साना कुरामा प्रश्न गर्छन्। त्यसैले उनीहरूलाई सुरुदेखि नै पैसा व्यवस्थापनका सम्बन्धमा जानकारी दिनुपर्छ। यसो गर्दा बालबालिकाहरू पैसा व्यवस्थापनमा पोख्त हुन्छन्। उनीहरूलाई फजुल खर्च तथा लगानीका बारेमा राम्रो जानकारी प्राप्त हुन्छ।

खेलखेलमा सिकौं ः दुई वर्षपछि स-साना बालबालिकाहरू बोल्न तथा हिँड्न थाल्छन्। यो उमेरमा उनीहरू आफूभन्दा ठूलाको नक्कल गर्ने प्रयास गर्छन्। आफ्ना अभिभावकहरूले पैसा सम्हालेर राखेको देखी उनीहरूलाई त्यो कुनै महत्वपूर्ण वस्तु भएजस्तो अनुभव हुन्छ। नोट पसलमा दिँदा त्यसको साटो उनीहरूले चकलेट तथा खेलौना प्राप्त गर्छन्। उनीहरूलाई पैसाबिना पर्स बोक्नु फजुल काम जस्तो लाग्छ। त्यसैले उनीहरू पर्समा साँच्चिकै पैसा नै चाहन्छन्। बालबालिकाहरूलाई पैसाको व्यवस्थापन गर्ने कला सिक्ने खालको खेल खेलाउनुपर्छ। उनीहरूसित आफू पनि सामेल भएर खेल्दा उनीहरूले बुझाउन लागेको कुरा राम्रोसँग सिक्छन्।

पैसा कहाँबाट आउँछ ? ः चार वर्षपछि जब बालबालिकाहरू आफ्ना आमाबुबाका साथमा पैसा निकाल्न एटिएम मेसिनसम्म जान्छन् तब उनीहरू यसबाट कसरी पैसा निस्कन्छ। आफू पनि पैसा निकाल्न पाए हुन्थ्यो भन्ने सोच्छन्। त्यसैले उनीहरूलाई मेसिनबाट निस्कने पैसा आफ्नै पैसा जम्मा भएर निस्किएको हो भनेर सम्झाउनुपर्छ। यो पैसा निस्कने सीमा हुन्छ। त्यसैले सीमामा रहेर पैसा निकाल्नुपर्छ। आफूले चाहेको सबै कुरा एकसाथ खरिद गर्न सकिँदैनभन्ने कुरा सिकाउन उनीहरूलाई खुत्रुके खरिद गरिदिनुपर्छ। यसले उनीहरूमा बचत गर्ने बानीको विकास हुन्छ। जब खुत्रुके भरिन्छ तब त्यसलाई फोडेर पैसा गन्न सिकाउनुपर्छ। यो उनीहरूको बचतको रुपैयाँ हो। यसबाट आफूलाई चाहिएको पैसा निकाल्न सकिन्छ। त्यसबाट उनीहरूलाई मन परेको सामग्री खरिद गरिदिनुपर्छ।

फरक आवश्यकता र रुचि ः बालबालिकाहरूलाई कुन सही र कुन गलत भनेर सम्झाउनुपर्छ। ६ वर्षपछि बालबालिकाहरूलाई उनीहरूका लागि आवश्यक सामान के हो बुझाउनु आवश्यक छ। बिलासिता तथा आवश्यकतासम्बन्धी कुरा आफ्ना बालबालिकाहरूलाई बताउनुपर्छ। लन्च तथा डिनरका लागि ठूला रेस्टुराँमा जानु, ब्रान्डेड कपडा खरिद गर्नु र महँगा घरमा बस्नु हाम्रो आवश्यकता होइन बिलासिता हो। हरेक महिना किनमेलको लिस्ट बनाउँदा आफ्ना बालबालिकाहरूलाई आफ्नो साथमा राख्नुपर्छ। लिस्टका बारेमा उनीहरूको राय लिने प्रयास गर्नुपर्छ। कुन सामान कटौती गरी पैसा बचाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्छ। बालबालिकाहरूलाई आवश्यक सामानहरूको लिस्ट बनाउन सिकाउनुपर्छ। घुमाउरो पाराले उनीहरूलाई पैसाको महत्व बताउनुपर्छ। उनीहरूलाई किनमेल गर्न सँगै लानुपर्छ। यसो गर्दा उनीहरूमा आवश्यकताको पहिचान एवं वस्तुहरूको मूल्य तुलना गर्ने बानीको पनि विकास हुन्छ।

साँचो अनुभव ः दस वर्षको उमेरमा उनीहरूको सामाजिक स्थितिका बारेमा अनुभव दिलाउनु आवश्यक हुन्छ। यसो गर्दा उनीहरूमा हीन भावना उत्पन्न हुन पाउँदैन। बालबालिकाहरूलाई सम्झाउनुपर्छ। हरेक परिवारको आर्थिक स्थिति समान हुँदैन। कसैसँग धेरै पैसा हुन्छ भने कसैसँग कम हुन्छ। पैसाले आफूले चाहेको सुख-सुविधा खरिद गर्न सकिन्छ। कसैसँग पैसा कम हुन्छ र उनीहरू आफ्नो सीमित आवश्यकतामा बाँच्छन्। कसैकसैले आफ्नो आधारभूत आवश्यकता पूरा गर्न मजदुरी गर्नुपर्छ। आफ्ना सन्तानलाई गरिब मानिसहरूलाई सहयोग गर्न सिकाउनुपर्छ। उनीहरूको तुलनामा हाम्रो जिन्दगी सजिलो भएको अनुभव दिलाउनुपर्छ। उनीहरूलाई पैसाले खुसी खरिद गर्न सकिँदैन भन्ने अनुभव गराउनुपर्छ।

बालबालिकाहरूलाई पकेट खर्च दिनुपर्छ ः अभिभावकहरूलाई छोराछोरीले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरिरहेको अनुभव भएपछि उनीहरूलाई पकेट खर्च दिन थाल्नुपर्छ। महिनामा एकसाथ पैसा दिनुभन्दा हरेक हप्ता दिनुपर्छ। यसो गर्दा उनीहरू पैसा बचत गर्न सक्छन्। पकेट खर्च प्राप्त भएपछि उनीहरू आफ्ना लागि आवश्यक सामग्री आफै खरिद थाल्छन्। सामानको मोलतोल गर्न सक्षम हुन्छन्। विचार पुर्‍याएर खर्च गर्छन्। अर्थात् आर्थिक मामिलामा उनीहरू जिम्मेवार बन्छन्। सामान्यतया १२ वर्षको उमेरपछि बालबालिकाहरूलाई पकेट खर्च दिन सकिन्छ। यद्यपि उनीहरूलाई मनमानी गर्न दिनु हँुदैन। दिइएको पैसा कसरी खर्च गरिरहेका छन् त्यसको जानकारी लिनुपर्छ।

उदाहरण बन्नुपर्छ ः बालबालिकाहरूलाई पैसाको महत्व थाहा भए उनीहरू आफ्ना अभिभावकहरूको खर्चको विषयमा पनि संवेदनशील हुन्छन्। किनमेल गर्दा छोराछोरीलाई साथमा लिएर जानुपर्छ। कुनै पनि सामान खरिद गर्नुभन्दा पहिले त्यसको मोलतोल गरेर मात्र सामान खरिद गर्नुपर्छ। विस्तारै बैंकिङ कार्यका बारेमा पनि उनीहरूलाई बताउनुपर्छ। उनीहरूलाई बचत तथा खर्चको अन्तर सम्झाउनुपर्छ। उनीहरूको दृष्टिकोणलाई सन्तुलित बनाउनुपर्छ।

 Image