Successfully Copied

ग्लोबल वुमेन पावर

५९ वर्षीया क्रिस्टिना अर्जेन्टिनाकी प्रथम निर्वाचित राष्ट्रपति हुन्। नोभेम्बर २००७ मा उनी अर्जेन्टिनाकी ५५ औं राष्ट्रपति बनेकी हुन्। आकर्षक र दमदार व्यक्तित्वकी धनी क्रिस्टिनाको तुलना पूर्व फस्र्ट लेडी इवा पेरोनसित गरिन्छ। उनलाई आफ्नो देशलाई गम्भीर आर्थिक संकटबाट बाहिर निकालेको श्रेय पनि जान्छ। आफ्नो

क्रिस्टिना फर्नान्डिज द किसेनर

५९ वर्षीया क्रिस्टिना अर्जेन्टिनाकी प्रथम निर्वाचित राष्ट्रपति हुन्। नोभेम्बर २००७ मा उनी अर्जेन्टिनाकी ५५ औं राष्ट्रपति बनेकी हुन्। आकर्षक र दमदार व्यक्तित्वकी धनी क्रिस्टिनाको तुलना पूर्व फस्र्ट लेडी इवा पेरोनसित गरिन्छ। उनलाई आफ्नो देशलाई गम्भीर आर्थिक संकटबाट बाहिर निकालेको श्रेय पनि जान्छ। आफ्नो भाषणकला, फेसनेबल लुक, स्मार्ट अन्दाज एवं राजनीतिक कौशलका साथ अहिले उनी अर्जेन्टिनाका जनताको मनमा राज गरिरहेकी छिन्।

एन्जेला मर्केल

५८ वर्षीया एन्जेला मर्केल जर्मनीकी प्रथम महिला चान्सलर हुन्। उनी नोभेम्बर २००५ देखि सत्तामा छिन्। उनको लगातार दोस्रो कार्यकाल चल्दैछ। जर्मनीको दक्षिणपन्थी पार्टी, क्रिस्चियन डेमोक्रेटिक युनियनसँग जोडिएकी मर्केललाई युरोपकी सबैभन्दा शक्तिशाली नेतृ मानिन्छ। फोब्र्स पत्रिकाद्वारा गरिएको सर्वेक्षणमा २०११ को संसारको सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा मर्केल चौथो स्थानमा थिइन्। जुलाई १९५४ मा बर्लिनको ग्रामीण इलाकामा जन्मिएकी मर्केल एक साधारण शिक्षककी छोरी हुन्। उनले विज्ञान पढिन्, फिजिक्समा डक्टरेट गरिन्। पछि १९९० मा सीडीयू क्रिस्चियन डेमोक्रेटिक युनियनसित आबद्ध भइन् र २००५ मा त्यसको प्रेसिडेन्ट बनिन्। जर्मन चान्सलरका रूपमा उनी संसारभर लोकप्रिय भइन्। विश्वमै छाएको आर्थिक मन्दीपछि समस्याग्रस्त जर्मनीको अर्थ व्यवस्थालाई उनले आफ्ना आर्थिक निर्णय एवं नीतिका आधारमा बलियो बनाइन्। परिवर्तन, शिक्षा र आर्थिक विकासलाई महत्व दिने मर्केलले एउटी महिला भएर जुन रूपमा जर्मनीजस्तो ठूलो र महत्वपूर्ण देश सम्हालेकी छिन् त्यो वास्तवमै प्रशंसनीय छ।

टारजा हेलोनेन

५६ वर्षीया सोसल डेमोक्रेट, टारजा हेलोनेन, मार्च २००० मा फिनल्यान्डकी प्रथम महिला राष्ट्रपति चुनिएकी हुन् र पछि मार्च २००६ मा उनी पुनः निर्वाचित भइन्। १९४३ मा हेलसिन्कीमा जन्मिएकी टारजा एउटा वर्किङ क्लास फेमिलीसित सम्बन्ध राख्छिन्। कानुनमा डिग्री लिएपछि उनी १९७१ मा सोसल डेमोक्रेटिक पार्टीसित आबद्ध भइन् र सफल राजनीतिक करियरको मार्गमा अघि बढिन्। सामाजिक न्याय र समानता उनका राजनीतिक करियरका प्रमुख मुद्दा हुन्।

डिल्मा रूसेफ

१ जनवरी, २०११ मा संसारको चौथो सबैभन्दा ठूलो लोकतन्त्र, ब्राजिलको बागडोर सम्हालेकी डिल्मा साउथ अमेरिकाकै प्रथम महिला राष्ट्रपति हुन्। ६५ वर्षीया डिल्मा राजनीतिमा आउनुअघि जुझारु मजदुर नेता र तानाशाह विरोधी गुरिल्ला फाइटरका रूपमा चर्चित थिइन्। निर्वाचन जितेपछि एउटा सम्बोधनबीच उनका शब्द थिए-म ती आमालाई रुचाउँछु, जसले आफ्नी छोरीको आँखामा हेरेर भन्छिन्-एउटी महिलाले सबैथोक गर्न सक्छिन्। डिसेम्बर १९४७ मा जन्मिएकी डिल्माले महिलाले सबै काम गर्न सक्छन् भन्ने राम्रो उदाहरण प्रस्तुत गरेकी छिन्। सैनिक शासन र अराजकताबाट ग्रसित यो विशाल दक्षिण अमेरिकी देशलाई एउटा मजबुत राष्ट्रका रूपमा प्रस्तुत गर्ने वर्कर्स पार्टीकी नेतृ तथा प्रथम महिला राष्ट्रपति डिल्मा कुशल शासकका रूपमा परिचित छिन्।

जनड्रंका कोसोर

जुलाई २००९ मा जनड्रंका कोसोरले क्रोसियाको प्रधानमन्त्री पद सम्हालेकी हुन्। जुलाई १९५३ मा वेस्ट क्रोएसियामा जन्मिएकी कोसोरले कानुन अध्ययन गरेकी छिन्। उनले प्रिन्ट र रेडियो पत्रकारिताको काम पनि गरिसकेकी छिन्। उनी १९९५ मा राजनीतिमा प्रवेश गरेकी हुन्। कोसोर सिंगल मदर हुन् र थुपै्र पुस्तककी लेखिका पनि, जसमा दुईवटा कविता संग्रह छन्।

एलेन जोनसन सिरलिफ

१६ जनवरी २०१२ मा एलेन जोनसेन सिरलिफ दोस्रो पटक लाइबेरियाको राष्ट्रपति छानिइन्।  उनले २००५ मा पहिलो पटक सत्ता सम्हालेकी थिइन् र उनी संसारकै प्रथम ब्ल्याक फिमेल प्रेसिडेन्ट पनि हुन्। एलेनलाई आयरन लेडी पनि भनिन्छ। नोबेल शान्ति पुरस्कार विजेता सिरलिफले पब्लिक एडमिनिस्ट्रेसनको मास्टर डिग्री हार्वर्ड युनिभर्सिटीबाट हासिल गरेकी छिन्। पछि उनी राजनीतिमा आइन्। लाइबेरिया संसारको गरिब देशमध्येको एक हो तर उनी सत्तामा आएपछि देशको स्थितिमा धेरै परिवर्तन आएको छ। त्यसैले उनी दोस्रो पटक पनि लगातार राष्ट्रपति निर्वाचित हुन सकिन्।

जुलिया गिलार्ड

जून २०१० मा तत्कालीन प्रधानमन्त्री केविन रडले लेवर पार्टीको विश्वास जित्न नसकेपछि जुलिया अस्ट्रेलियाकी प्रधानमन्त्री बनिन्। पछि चुनाव जितेर उनी प्रथम महिला प्रधानमन्त्री भइन्। ४८ वर्षीया जुलिया गिलार्डको आज संसारमा एउटा अलग पहिचान बनिसकेको छ। बेल्समा जन्मिएकी जुलिया अस्ट्रेलियाकी प्रथम अविवाहित प्रधानमन्त्री पनि हुन्। जुलिया भन्छिन्-'म जुन रूपमा एकाग्र, एकनिष्ठ र दृढनिश्चय छु, यदि विवाह भएको भए, मलाई लाग्छ, मेरो राजनीतिक करियर यस्तो हुने थिएन, जुन आज छ।’ जुलियाका अनुसार महिलाहरू त्यसरी सोच्दैनन् जुन रूपमा पुरुष सोच्छन्।

यिंकलक सिनावात्रा

अगस्त २०११ मा थाइल्यान्डको कमान यिंगलकको हातमा आयो। उनी थाइल्यान्डकी प्रथम महिला प्रधानमन्त्री बनिन्। ४४ वर्षीया यिंगलक राजनीतिमा आउनुको कारण बन्यो, उनका भाइ थाकसिनले भ्रष्टाचारको आरोपमा प्रधानमन्त्री पद छोड्नु। घरकी नवौं सन्तान र थाकसिनकी सबैभन्दा कान्छी बहिनी यिंगलक सिनावात्राको जन्म जून १९६७ मा भएको हो। उनले युएसबाट राजनीतिशास्त्रमा मास्टर डिग्री हासिल गरेकी छिन्। त्यसपछि पनि उनी कर्पोरेट वल्र्डसित जोडिइन्। एक सफल विजनेस वुमन बनेपछि उनले देशको बागडोर सम्हालिन्।

 Image