Successfully Copied

मनसुनमा छाता र रेनकोटको जोहो

घरबाहिर निस्कँदा जोहो गर्नुपर्ने अनिवार्य वस्तुमा थपिएका छन्, छाता र रेनकोट । दुईपाङ्ग्रे सवारीसाधनका लागि रेनकोट अनिवार्य भइहाल्यो । बाइकदेखि स्कुटरलाई लक्षित गर्दै बजारमा विभिन्न ब्रान्ड र मूल्यका रेनकोट उपलब्ध छन् ।


मनसुन सुरु भयो । घरबाहिर निस्कँदा जोहो गर्नुपर्ने अनिवार्य वस्तुमा थपिएका छन्, छाता र रेनकोट । दुईपाङ्ग्रे सवारीसाधनका लागि रेनकोट अनिवार्य भइहाल्यो । बाइकदेखि स्कुटरलाई लक्षित गर्दै बजारमा विभिन्न ब्रान्ड र मूल्यका रेनकोट उपलब्ध छन् । यीमध्ये महिला–पुरुषले प्रयोग गर्नेमा साइज, रङदेखि ब्रान्डमा पनि फरकपन भएको व्यापारीहरू बताउँछन् ।
कलंकीमा आठ वर्षदेखि मनसुनको समय छाता र रेनकोटको समेत व्यवसाय गर्दै आएका छन्, सिन्धुपाल्चोकका मंगल तामाङ । मौसमअनुसारको व्यापार गर्ने उनीकहाँ यतिबेला रेनकोट, चप्पल र छाताको व्यापार बढ्न थालिसकेको छ । ‘अहिले छाता र रेनकोट बढी बिकिरहेका छन्,’ उनी भन्छन्, ‘ग्राहकले रेनकोट पानी पर्दा मात्र खोज्छन्, छाता र चप्पल भने घाम–पानी दुवैमा रोज्छन् ।’ उनले सिंगल तथा डब्बल लेयर भएका रेनकोट पाँच सयदेखि तीन हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।
बागबजारका व्यापारी तेजनारायण श्रेष्ठ स्कुटर र बाइक चालकका लागि मात्रै होइन बालबालिकालाई उपयुक्त रेनकोट पनि बिक्री भइरहेको बताउँछन् । पछिल्लो समय बालबालिकालाई लक्षित गरेर कार्टुन प्रिन्टेड रेनकोट भित्रिन थालेका छन् । धेरै अभिभावकले विद्यालय जानका लागि बालबालिकालाई रेनकोट किनिदिने गरेको श्रेष्ठले बताए । ‘बालबालिकालाई लक्षित गरेर थुप्रै रङ र प्रिन्टमा रेनकोट उपलब्ध छन्, जसको मूल्य पाँच सयदेखि हजार रुपैयाँसम्म पर्छ ।’ नेपाली तथा चाइनिज रेनकोट बजारमा उपलब्ध हुने व्यापारीहरू बताउँछन् ।

पञ्चो रेनकोट
पञ्चो रेनकोट प्लास्टिकका रेनकोट हुन् । यी रेनकोट लामो यात्रा र टे«किङ जानका लागि उपयुक्त हुन्छन् । अन्य रेनकोटको तुलनामा यी सस्ता र हलुका हुन्छन् । महिला–पुरुष दुवैलाई लक्षित गरी विभिन्न रङमा उपलब्ध यसको मूल्य दुई सयदेखि हजार रुपैया“सम्म पर्छ ।
सिंगल रेनकोट
यो दुई पाङ्ग्रे सवारीसाधन चलाउन निकै सहज हुन्छ । सवारीसाधन चलाउँदा कुनै किसिमको दुःख हुँदैन । बजारमा यसको सुरुवाती मूल्य आठ सय रुपैयाँ पर्छ ।
डब्बल रेनकोट
बाइक वा स्कुटरमा दुईजनाले यात्रा गर्नुपरे डब्बल रेनकोट उपयुक्त हुन्छ । यसले बच्चासहित तीन जनालाई नै पानीबाट बचाउने व्यवसायी श्रेष्ठ बताउँछन् । उनका अनुसार अन्य रेनकोटको तुलनामा डब्बल रेनकोट धेरै मात्रामा बिक्री हुन्छन् । ‘बाइक, स्कुटरमा धेरैजसो दुईजना हिँड्ने भएकाले यसको माग बढी छ,’ उनले भने, ‘सात सयदेखि २५ सय रुपैयाँसम्ममा यस्ता रेनकोट पाइन्छन् ।’
टु पिस रेनकोट
ज्याकेट र ट्रयाकसहितको रेनकोट पनि धेरैको रोजाइमा पर्न थालेको छ । यसमा डब्बल र सिंगल लेयर गरी दुई प्रकारका बजारमा उपलब्ध छन् । विभिन्न रङमा पाउन सकिने यी रेनकोट पुरुषको रोजाइमा बढी पर्ने तामाङको भनाइ छ । ‘सेटमै उपलब्ध हुने भएकाले यी लगाउन र खोल्न सजिलो हुन्छ,’ उनी भन्छन्, ‘एक हजारदेखि तीन हजारसम्ममा टु पिस रेनकोट बजारमा पाइन्छ ।’

छाता -फेसनसँगै व्यापार
चर्को घाम लाग्दा होस् वा पानी पर्दा, छाता आवश्यक पर्छ । धेरै युवतीको ब्यागमा नछुट्ने सामान पनि छाता हो । विद्यार्थी रीता सुनुवारको झोलामा सधैं छाता हुन्छ । विद्यालय जाँदा होस् वा कतै घुमफिरमा, उनी छाता बोक्न छुटाउँदिनन् । छाताले छाला सुरक्षित राख्नुका साथै शीतलता दिने भएकाले सधैं बोकेर हिँड्ने र आवश्यकतानुसार प्रयोग गर्ने उनी बताउँछिन् । उनले छातामा विविधता र भेराइटी खोज्छिन् । रङदेखि डिजाइनमा फरक हुनुपर्ने उनको धारणा छ । फूलबुट्टे छाता उनको रोजाइमा पर्छ । ‘मलाई सादाभन्दा पनि फूलबुट्टे छाता मन पर्छ,’ भन्छिन्, ‘हरेकपल्ट किन्दा डिजाइन नयाँ हेर्छु ।’बानेश्वरमा व्यापार गरिरहेकी दोलखाकी सुष्मा मगर छाता फेसनसँग जोडिएको बताउँछिन् । उनका अनुसार फेसनेबल युवतीले फूलबुट्टे छाता नै रुचाउँछन् । ग्राहकहरूको आवश्यकता र रुचिका छाता व्यापार गर्दै आएकी उनले विद्यार्थी, गृहिणीदेखि जागिरेहरूको रोजाइ फरक रहेको बताइन् । उनका अनुसार कर्मचारीले सादा कालो रङको, गृहिणीहरूले ठूलो साइजको र युवतीहरूले फूलबुट्टे छाता रुचाउँछन् । चाइनिज छाताहरू बिक्री गर्दै आएकी उनी छाताको मूल्य दुई सय ५० देखि एक हजार रुपैयाँसम्म पर्ने बताउँछिन् । नेपालमा चीन, भारत र हङकङ आदि देशबाट छाता आयात गरिन्छ । बजारमा पारदर्शी (ट्रान्सप्यारेन्ट) छातादेखि आयल पेपर, कटन, सिल्क, नाइलनबाट बन्ने छाता पाइन्छन् । रङ, मूल्यदेखि छाताको डन्डीमा पनि फरक हुने गरेको व्यापारी बताउँछन् । छाताका डन्डी भने अंग्रेजी अल्फाबेटको ‘जे’ र ‘सी’ आकारका हुन्छन् ।

 Image