Successfully Copied

महिनावारीः महंगियो प्याड रोजाइ बढ्दै कप 

सरकारले भन्सार छूट दिँदा पनि महिनावारी हुँदा प्रयोग गर्ने ‘सेनिटरी प्याड’को मूल्य घटेको छैन । अझ ७० रुपैयाँमा पाइने सामान्य प्याडको मूल्य ७८ रुपैयाँ पुगेको छ । सरकारले दिएको छूटपछि सेनिटरी प्याड अझै महँगिएको हो ।

सरकारले भन्सार छूट दिँदा पनि महिनावारी हुँदा प्रयोग गर्ने ‘सेनिटरी प्याड’को मूल्य घटेको छैन । अझ ७० रुपैयाँमा पाइने सामान्य प्याडको मूल्य ७८ रुपैयाँ पुगेको छ । सरकारले दिएको छूटपछि सेनिटरी प्याड अझै महँगिएको हो । आयातीत प्याडमा ९० प्रतिशत छूटपछि स्वदेशी उद्योग र उपभोक्ता मर्कामा परेका छन् । भन्सार सहुलियत दिँदा राजस्व स्वतः कम भएको छ भने स्वदेशी उद्योगको लगानी जोखिममा परेको छ । 

काठमाडौं शंखमूलस्थित डायमन्ड फार्मेसीकी रोजिना सुवालले हरेक सेनिटरी प्याडमा ५ रुपैयाँदेखि १२ रुपैयाँसम्म बढेर आएको बताइन् । ‘प्रति प्याकेट १४० रुपैयाँ पर्ने स्टेफ्री १५२ पुगेको छ,’ उनले भनिन्, ‘सोफी ब्रान्डको एन्टिब्याक्टेरियल प्याडको मूल्य ५ रुपैयाँ बढेर आएको छ । ७० रुपैयाँमा पाइने ह्विस्पर (नर्मल) अहिले ७८ रुपैयाँ पुगेको छ ।’ भारतीय ब्रान्डका ह्विस्पर, स्टेफ्री र सोफी नेपालमा धेरै बिक्री हुने सेनिटरी प्याड हुन् । नाइन, कम्फी, केयरफ्रीलगायत भारतीय ब्रान्ड पनि नेपालमा पाइन्छन् । भारतबाहेक चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिका आदि मुलुकबाट पनि प्याड आयात हुने भन्सार विभागले जनाएको छ । 

जेठ १५ मा प्रस्तुत बजेट अघिसम्म तयारी प्याड र त्यसको कच्चापदार्थमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको थियो । स्वास्थ्यसँग जोडिएका अत्यावश्यकीय सामग्री भएकाले विलासिताका सामग्री मानेर लगाइएको कर खारेज गर्न माग गर्दै गत असोजमा महिलाहरूले आन्दोलन गरेका थिए । ‘रातो कर माफ गर’ भन्ने ब्यानरमा भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले आयातीत प्याडमा भन्सार महसुल छूट दिने व्यवस्था गरेको दाबी गर्दै आएको छ । ‘रातो कर माफ गर’ अभियानकी सदस्य कृष्पी रमन जैसवालले सरकारले भन्सारमा ९० प्रतिशत छूट दिँदा आफूहरूको माग थोरै मात्र सम्बोधन भएको बताइन् । ‘हाम्रो माग पूरा भएको छैन, भन्सार महसुलमा मात्र ९० प्रतिशत छूट दिइएको हो, १३ प्रतिशत भ्याट कायम छ, प्याडलाई विलासिताका वस्तुअन्तर्गत नै राखिएको छ,’ उनले भनिन् । 

नयाँ व्यवस्थासँगै अहिले प्याड आयातमा १ दशमलव ५ प्रतिशत भन्सार महसुल लाग्छ भने भ्याट यथावत् छ । आयातीत प्याडमा महसुल घटाए पनि नेपालमै उत्पादन गर्नेहरूका लागि ल्याउनुपर्ने कच्चापदार्थमा भने सहुलियत दिइएको छैन । सेनिटरी प्याड उत्पादक संघका अनुसार प्याड उत्पादन गर्न ८ प्रकारको कच्चापदार्थ आवश्यक हुन्छ। ‘त्यसमध्ये ४ प्रकारका कच्चा पदार्थमा मात्र अब १ प्रतिशत भन्सार महसुल र ५ प्रतिशत अन्तःशुल्क तिरे पुग्छ,’ संघका अध्यक्ष डोलराज अधिकारीले भने, ‘बाँकी ४ प्रकारका कच्चापदार्थमा ३० प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क तिर्नुपर्छ ।’ समग्रमा भन्दा हरेक कच्चापदार्थमा ११ प्रतिशत भन्सार र अन्तःशुल्क तिर्नुपर्ने तर तयारी ल्याएर बेच्नेलाई १ दशमलव ५ प्रतिशत रहेको उनले बताए । 

‘नेपालको प्याड उत्पादन वार्षिक ३० करोड थान छ, स्वदेशी उद्योगको उत्पादन क्षमता नै ९० करोड थान छ, तर सरकारले विदेशबाट आयात हुने प्याडलाई सहुलियत दिएर स्वदेशी उद्योगलाई मर्कामा पारेको छ,’ डोलराजले भने । नेपालमा ६ अर्ब रुपैयाँ लगानीका साना तथा ठूला गरी ४० वटा उद्योगले प्याड उत्पादन गरिरहेका छन् । सरकारको विभेदकारी नीतिले प्याड उद्योगहरूमा कार्यरत ६ हजारको रोजगारीसमेत जोखिममा छ । 

नेपालमा प्याड आयात मात्र होइन, निर्यात पनि गर्न थालिएको छ । नेपालबाट निर्यात हुने प्याड धेरै मात्रामा भारतीय बजारमा जान्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ३ करोड ५१ लाख ५६ हजार रुपैयाँ बराबरको प्याड निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष १ करोड ६१ लाख ४८ हजार रुपैयाँको प्याड निर्यात भएको थियो । 

प्याडको गुणस्तर परीक्षण हुँदैन

महिलाको स्वास्थ्यसँग जोडिएको अत्यावश्यक सामग्री ‘सेनेटरी प्याड’ गुणस्तर परीक्षणबिनै नेपाल भित्रिने गर्छ । विभिन्न मुलुकबाट आयात हुने प्याड भन्सार कार्यालय हुँदै बजारमा जान्छ । नेपाल भित्रिने पहिलो नाकामै प्याडको गुणस्तर हेरिनुपर्ने हो । तर भन्सार कार्यालयमा गुणस्तर खुल्ने कागजपत्र माग्ने नियम नै छैन न त ल्याबमा लगेर गुणस्तर परीक्षण गर्नर् ेनियम छ । अधिकांश आयातकर्तासँग प्याडको गुणस्तर खुल्ने वा प्रमाणित गर्ने कागजपत्र पनि हुँदैनन्, न त भन्सार कार्यालयले माग्ने प्रावधान नै छ । ‘परिमाण र कम्पनीका नामका आधारमा जाँचपास हुन्छ, कागजपत्रमा उच्च गुणस्तर भन्ने लेखेको हुन्छ, कुनैमा हुँदैन,’ एक भन्सार अधिकृतले भने, ‘हामीसँग प्याडको गुणस्तर परीक्षण गर्न ल्याबहरू छैनन्, खाद्यान्न, 

कृषि र जिउँदो पशुपन्क्षीको मात्र परीक्षण हुन्छ ।’

आयातित प्याडको गुणस्तर परीक्षण नहुँदा महिलाको स्वास्थ्य जोखिममा छ । गुणस्तरहीन प्याड परेको अवस्थामा महिनावारीको बेलामा बग्ने रगत योनि वरिपरि लाग्ने र संक्रमण हुने प्रसूति गृहका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बताए । ‘गुणस्तरहीन प्याडको प्रयोगले चिलाउने र सेतो पानी बग्ने समस्या हुन्छ, दीर्घकालसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखमा घाउ हुनसक्छ,’ उनले भने ।

महिनावारीका बेला ५ देखि ६ घण्टासम्म बग्ने रगतलाई सोस्ने क्षमता प्याडको हुनुपर्छ। तर रगत नसोसेर लुगामा लाग्ने, जननेन्द्रियमा लाग्ने भयो भने प्याड गुणस्तरीय छैन भनेर बुझ्नुपर्ने उनले बताए । विभागको काम परिमाणका आधारमा महसुल उठाउने र छाड्ने काम मात्र रहेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए । ‘स्वास्थ्यका सामग्री भएकाले स्वास्थ्य मन्त्रालयले जाँच, परीक्षण गर्नुपर्‍यो,’ उनले भने। उच्च गुणस्तर भनेकै आधारमा स्वदेशमा ‘सेनेटरी प्याड’ भित्रिन्छन् ।

रोजाइ बन्दै कप

परम्परागत सुतीको कपडा, सेनिटरी प्याडको विकल्पमा पछिल्लो समय‘ट्याम्पोन’ र ‘मिन्स्ट्रुअलकप’ आइसकेका छन् । सेनिटरी प्याड किराना पसलदेखि अस्पतालसम्म किन्न पाइए पनि ‘मिन्स्ट्रुअल कप’ अनलाइनमा मात्र सीमित छ । बजारमा ‘मिन्स्ट्रुअल कप’ मात्र बेच्ने फेसबुक, इन्स्ट्राग्राम पेजदेखि इ–कमर्स साइटहरू छन्। ग्लो गेटर वर्ल्ड, सिरोना हाइजिन, द भी कप, स्मार्ट कप, पी सेफ, पुतली नेपालदेखि दराज, ग्यापुलगायतमा मिन्स्ट्रुअलकप पाइन्छन् ।

महिलाले महिनामा एक प्याकेट मात्रै प्याड प्रयोग गर्ने हो भने पनि वर्षमा ७० रुपैयाँका दरले ८४० रुपैयाँ खर्च हुन्छ । कहिलेकाहीँ महिनामै २ प्याकेट आवश्यक पर्छ । तर ५ सय रुपैयाँ र त्यो भन्दा बढी मूल्यको एउटा कप २ देखि १० वर्षसम्म प्रयोग गर्न मिल्छ । सेनिटरी प्याडभन्दा कम खर्चिलो, प्रयोगमा बढी सहज र ‘डिस्पोज’ गर्न समस्या नपर्ने भएकाले ‘मिन्स्ट्रुअल कप’ प्रति आकर्षण बढिरहेको छ । प्याडका कारण हुने घमौरा वा खटिरा (र्‍यासेज), एलर्जीलगायत समस्याबाट समेत छुटकारा मिलेको प्रयोगकर्ताहरू सुनाउँछन् । चिकित्सकहरू पनि सेनिटरी प्याडको विकल्प ‘मिन्स्ट्रुअलकप’ रहेको बताउँछन् ।

कप किन्नुअघि कम्पनीका बारेमा जानकारी राख्नुपर्ने भन्दै प्रसूतिगृहका डा. सुवेदीले पहिलो पटक प्रयोग गर्दा नै संक्रमण भएको खण्डमा उक्त कपलाई निरन्तरता नदिन सुझाए । ‘केमिकलबाट नै कप बन्ने हो, त्यसैले छिटो संक्रमण हुने सम्भावना हुन्छ, पहिलो पटक नै संक्रमण भयो भने अर्को कम्पनीको कप रोज्नुपर्छ,’ उनले भने, ‘महिनावारीको समयमा सरसफाइमा ध्यान दिनुपर्छ, प्रयोगकर्ताले कप निर्मलीकरण र सफाइमा अझै जोड दिनुपर्छ ।’

 

 Image