Successfully Copied

फरफर फ्यान

हाते पंखा होस् वा बिजुलीबाट चल्ने यसले गर्मीको तापबाट हामीलाई राहत प्रदान गर्छ । तराईमा त अझ गर्मी महिनामा पंखा नभई हुँदैन ।

हाते पंखा होस् वा बिजुलीबाट चल्ने यसले गर्मीको तापबाट हामीलाई राहत प्रदान गर्छ । तराईमा त अझ गर्मी महिनामा पंखा नभई हुँदैन । पंखाबिना दिन बिताउन निकै कठिन हुन्छ । हिजोआज विश्वमै तापक्रम बढ्ने क्रम बढिरहेकाले काठमाडांैमा पनि पंखा नभई हुँदैन । जेठदेखि भदौसम्म काठमाडौंमा पनि पंखा चाहिने भएको छ । सस्तो तथा गर्मीका लागि भरपर्दो साथी पंखा सबैका लागि आवश्यकता बनेको छ । बिजुलीको माध्यमबाट चल्ने पंखा नहुँदा गाउँघरमा कपडा तथा हातबुना पंखा प्रयोगमा ल्याइन्थ्यो तर अहिले समयसँगै विद्युतीय पंखाको अवधारणा विकसित भएको छ र सिलिङ फ्यान, स्टयान्ड फ्यान, टेबुल फ्यान आदि घर-घरमा देखिन्छन् जसले गर्मीमा निकै राहत पुर्‍याउँछन् ।

एस के ट्रेडर्सका ललित राठीका अनुसार गर्मी महिनामा अहिले तराईमा मात्र होइन नेपालका अधिकांश भूभागमा प्रचण्ड गर्मी हुन थालेको छ । त्यसैले गर्मीका लागि पंखा निकै आवश्यक भएको छ । पंखाको स्वरूपमा पनि अहिले निकै परिवर्तन आएको राठी बताउँछन् । अहिले बजारमा आकर्षक एवं लोभलाग्दा पंखा भित्रिएका छन् । एसी तथा कुलर खरिद गर्न नसक्नेहरूका लागि अहिले पंखा वरदान साबित भएका छन् । पंखा सबै स्तरका मानिसले खरिद गर्न सक्छन् । जे-जस्तो भए पनि बजाज, खेतान, आदिका पंखाको माग अहिले पनि निकै राम्रोे छ । अहिले पंखामा रिमोट पनि समाहित हुन्छ भने टाइम सेट गरी आफूलाई चाहिने समयका लागि पंखाको समय निर्धारण गर्न सकिन्छ ।

महाराजगंजकी मेनका कार्की गर्मीका लागि पंखा नभई नहुने सामग्री भएको बताउँछिन् । अझ जेठ महिनाको प्रचण्ड गर्मीका लागि त पंखा वरदान नै साबित हुन्छ । कार्की भन्छिन्-हामीजस्ता मध्यम वर्गका लागि एसी तथा कुलर बजेट बाहिर छ । त्यसैले पंखा नै खरिद गर्नुपर्ने बाध्यता छ । जस्तै उत्कृष्ट पंखा खरिद गर्न ३ देखि ६ हजारसम्म भए पुग्ने कार्की बताउँछिन् । हुन पनि गर्मी लाग्दै जाँदा पसलहरूमा पंखाको प्रदर्शनी पर्याप्त मात्रामा हुने गरेको छ । पंखा लामो समयसम्म टिक्छ । एकपटक खरिद गरेपछि यसलाई वषौर्ं प्रयोग गर्न सकिन्छ । विद्युतीय पंखा स्वीच अन गर्नेबित्तिकै चल्न थाल्छ । यसलाई आफ्नो इच्छाअनुसार बढाउन तथा घटाउन सकिन्छ । नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डलगायत चाइनिज ब्रान्डको माग पनि उत्तिकै छ ।

चाइना टाउनका व्यापारी रोहित श्रेष्ठ नेपालीहरू सस्तो भएकाले चाइनिज सामग्रीहरूतर्फ आकषिर्त भएको बताउँछन् । श्रेष्ठ भन्छन्-अरू ब्रान्डभन्दा चाइनिज पंखा सस्ता छन् । त्यसैले पनि नेपाली ग्राहकहरू चाइनिज पंखातर्फ आकषिर्त भएका हुन् । अहिले चाइनिज पंखा पनि विभिन्न आकारमा खरिद गर्न सकिन्छ । सस्ता एवं राम्रा चाइनिज पंखा पनि अहिले बजारमा उपलब्ध छन् । पंखाले हावा फाल्न थालेपछि कोठाको वातावरणमा परिवर्तन आउँछ । जुनसुकै पंखा घडीको चालमा चल्छ । बिजुली कम खपत गर्ने चाहना छ भने पनि पंखा निकै उपयोगी हुन्छ । यसलाई आफ्नो सुविधाअनुसार जताततै प्रयोग गर्न सकिन्छ । विश्वप्यापी रूपमा पंखाको सुरुवात सन् १८८० देखि भएको मानिन्छ ।

सिलिङ फ्यान

सिलिङ फ्यान घरको आन्तरिक सज्जाको अभिन्न अंग बन्दै गएको छ । अहिले सिलिङ फ्यानमा बत्ती जडान गरिनुका साथै विभिन्न आकृति कुँदिएको पाइन्छ । यसले चिसो हावा दिनुका साथै कोठामा हावा प्रसारण गर्छ । यसको गतिलाई आफ्नो सुविधाअनुसार कम तथा बढी बनाउन सकिन्छ । सिलिङ फ्यान निकै प्रभावकारी हुन्छ । कोठामा जडान गरेपछि यसलेे चारैतिर समान रूपमा हावा फ्याँक्छ । यो विभिन्न रंगमा खरिद गर्न सकिन्छ । अहिले कोठाको आकारअनुसार ठूला तथा साना आकारका पंखा खरिद गर्न सकिन्छ ।

टेबल फ्यान

टेबलमा राखेर प्रयोग गरिने फ्यानलाई टेबल फ्यान भनिन्छ । यो पनि विभिन्न आकार तथा रंगहरूमा उपलब्ध छ । अहिले यसमा रिमोट पनि समाहित गरिएको छ । यो रेन्जमा पोर्टेबल तथा ननपोर्टेबल फ्यानहरू पनि खरिद गर्न सकिन्छ । यसलाई मुभ तथा स्ट्यान्ड मोडमा राख्न सकिन्छ ।

स्ट्यान्ड फ्यान

जताततै लगेर चलाउन सकिने स्ट्यान्ड फ्यान बहुउपयोगी छ । अहिले यो फ्यान विभिन्न साइज एवं रंगमा उपलब्ध हुन थालेको छ । रिमोटको सहायताले यसमा टाइम सेट गर्न सकिन्छ । यसलाई आफ्नो सुविधाअनुसार अग्लो-होचो बनाउन सकिन्छ ।

 Image