Successfully Copied

आँखाको शोभा चश्मा

आँखामा विभिन्न आकार तथा रंगका चश्मा लगाउने चलन अहिले सामान्य भएको छ । चश्मा जुनसुकै मौसममा पनि फेसनमा छ ।

आँखामा विभिन्न आकार तथा रंगका चश्मा लगाउने चलन अहिले सामान्य भएको छ । चश्मा जुनसुकै मौसममा पनि फेसनमा छ । चश्मा केका लागि भन्ने प्रश्नमा आजभन्दा २० वर्षअघि आँखाको सुरक्षा भन्ने उत्तर आउँथ्यो भने अहिले यो फेसनको पर्याय बनेको छ । घाम चश्मा वा सनग्लास अहिले सबै उमेरका महिलाले लगाउन थालेका छन् । सनग्लासले आँखालाई बाहिरी प्रदूषण, कीरा-भुसुना, पतिङ्गर तथा चिसो हावाबाट जोगाउँछ । सनग्लास तथा गगल्सजस्ता नामले चिनिने चश्मा गाडी, सडक तथा स्कुटरमा हिँड्ने महिलाहरूले लगाउँछन् । स्कुटर चलाउँदा त गगल्स अनिवार्यजस्तै मानिन्छ । ब्रान्डेड तथा ननब्रान्डेड सबै सनग्लासको माग उस्तै छ । माग बढेसँगै सडकदेखि मलसम्म सनग्लास खरिद गर्न सकिने भएको छ ।

मोडल जानकी गुरुङ सनग्लासकी सौखिन हुन् । उनी अरू कुरा बिर्सिए पनि आफ्नो व्यागमा सनग्लास राख्न कहिल्यै भुल्दिनन् । गुरुङसँग विभिन्न किसिमका सनग्लासको संकलन छ । उनी ब्रान्डेड तथा ननब्रान्डेड सबै प्रकारका सनग्लास लगाउँछिन् । जानकी विशेष गरी आफ्नो परिधानसँग सनग्लास मिलाउँछिन् । चश्मामा उनलाई मनपर्ने ब्रान्ड पोलिस र रेव्यान नै हो । गुरूङ सस्तो चश्मा लगाउने पक्षमा छैनन् । उनी भन्छिन्-'सस्तो चश्माले आँखा बिगार्छ ।' सनग्लासको प्रत्यक्ष सम्बन्ध हाम्रो आँखासँग भएकाले यसको खरिदारी तथा चयनमा निकै ध्यान पुर्‍याउनुपर्ने व्यवसायीहरू बताउँछन् । आँखा शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो र आँखाबिना संसार अँध्यारो हुन्छ । त्यसैले गुणस्तरीय चश्मा लगाउनु उपयुक्त हुने यसका पारखीहरूको सुझाव छ ।

काठमाडौंमा अहिले चश्माका सबैजसो ब्रान्डका आधिकारिक शोरुम छन् । ब्रान्डेड सनग्लासको मूल्य पनि बढी नै छ तर पनि यस्ता चश्मा लगाउँदा आनन्द आउनुका साथै धेरै समय टिक्छन् पनि । छिट्टै कोरिने तथा लगाउँदा आँखालाई सकस हुनेजस्ता समस्या ब्रान्डेड सनग्लासमा देखिँदैन । विशेषगरी जाडो महिनाभन्दा गर्मी महिनामा सनग्लासको आवश्यकता बढी हुन्छ । यसले आँखालाई सूर्यबाट आउने हानिकारक किरणबाट जोगाउँछ । यसले आँखाको सुरक्षा कवचको काम गर्छ । नेत्ररोग विशेषज्ञ कल्पना विष्ट सनग्लास फेसनका लागि मात्र होइन आँखाको सुरक्षाका लागि पनि उपयोगी भएको बताउँछिन् । यसले आँखालाई विभिन्न संक्रमणबाट जोगाउँछ तर सनग्लास छनोटमा सावधानी अपनाउनुपर्छ । सस्ता सनग्लास लगाउनुभन्दा आँखा खुल्लै राखेर हिँड्नु फलदायक मानिन्छ । अहिले बजारमा सनग्लासका थुप्रै विकल्प उपलब्ध छन् जसमध्ये पोलोराइज्ड सनग्लास खरिद गर्नु उपयुक्त हुन्छ ।

अप्सनका मनोज श्रेष्ठ बर्सेनि नयाँ-नयाँ शैलीका चश्मा आयात गर्छन् । श्रेष्ठ भन्छन्-'अहिले फेरि पुराना आकारका सनग्लासको फेसन आएको छ । सनग्लास आकर्षक छ भने ननब्रान्डेड भए पनि त्यसको बिक्री राम्रो हुन्छ ।' बजारमा ५ सय रुपैंयाँदेखिका सनग्लास खरिद गर्न सकिन्छ । सनग्लासमा रेबन, च्यानल, गुची, डी एन केको माग राम्रो छ । अहिले कालोभन्दा रातो एवं सेतो रंगका सनग्लासको बिक्री बढी छ । सनग्लास हलिउड, बलिउड एवं कलिउड सबैतिरका सेलिब्रेटीहरूको प्रिय एसेसरिज पनि हो । सन् १९२० देखि फिल्म स्टारहरूमाझ लोकप्रिय हुन थालेको यो एसेसरिजको लोकप्रियता सन् १९२९ मा न्युजर्सीबाट चुलिएको हो ।

लेन्स

अहिले बजारमा विभिन्न रंगका लेन्स खरिद गर्न सकिन्छ । कालो तथा खैरो रंग प्रचलित भए पनि अरु रंगका लेन्सको माग क्रमश: उकालो लाग्दैछ । लेन्सको रंग फेसन, स्टाइल तथा रुचिमा भर पर्छ । पहिले लेन्स सिसाबाट निर्मित हुन्थ्यो तर अहिले हाइ टेक्नोलोजी प्लास्टिकबाट निर्माण गरिएको हुन्छ । अहिलेका लेन्स हलुका तथा सूर्यको किरण रोक्ने खालका हुन्छन् । अहिले बजारमा पोली काब्रोनेट, टि्रभेक्स, पोलोराइज्ड तथा हाइ इन्डेक्स प्लास्टिक लेन्स उपलब्ध छन् ।

फ्रेम

चश्माको फ्रेम विशेषगरी प्लास्टिक, नाइलन तथा मेटलबाट बनेको हुन्छ । स्पोर्ट्स सनग्लासका लागि नाइलनको फ्रेम उपयोगी हुन्छ । यसलाई सजिलै मोड्न सकिन्छ भने यो अनुहारमा खुल्छ पनि । मेटलको फ्रेम निकै बलियो हुन्छ । अहिले फेसनको पर्याय बनेको फ्रेम पनि विभिन्न आकारमा खरिद गर्न सकिन्छ । उमेर सुहाउँदो फ्रेम छनोट गर्न सके आफ्नो व्यक्तित्व थप खुल्छ । कोरियन चलचित्रको क्रेजले गर्दा बटरफ्लाई सेपका रंगीचंगी फ्रेमको बिक्री पनि निकै राम्रो भएको व्यवसायीहरू बताउँछन् ।

सनग्लास छनोट गर्दा

आफ्नो अनुहार तथा प्रयोजन हेरी सनग्लास छनोट गर्नुपर्छ । सनग्लास लगाउँदा बढी खुकुलो तथा टाइट हुनु हुँदैन । यो सजिलै नाकमा अडिने हुनुपर्छ ।

आखीभौं चश्माको फ्रेममा लाग्नु हुँदैन ।

सनग्लास खरिद गर्दा बक्स तथा पुछ्ने कपडा लिन बिर्सनु हुँदैन ।

अहिले बजारमा उपलब्ध बटरफ्लाई, गुगल, ओभल, राउन्ड, रेबान, बुल्गरी तथा ओक्ली सेपमध्ये आफ्नो अनुहारको आकारअनुरूप सनग्लास छनोट गर्न सकिन्छ ।

सनग्लासको हेरचाह

सनग्लास सफा गर्दा मुखको बाफ प्रयोग गर्न सकिन्छ । जुन पायो त्यही कपडाले सनग्लास सफा गर्नुहुँदैन ।

सनग्लासलाई सदैव राम्रोसँग बट्टामा राख्नुपर्छ ।

राम्रो टिस्युले सनग्लास सफा गर्नुपर्छ ।

सनग्लास सफा गर्न साबुन प्रयोग गर्नुहुँदैन ।

 Image