डा. ज्योति आचार्य
चिफ माइक्रोबायोलोजिस्ट, वीर अस्पताल
डा. ज्योति आचार्य भारतको नयाँ दिल्लीमा जन्मेकी थिइन् । उनका आमाबुवा भारतीय हुन् । हजुरबुवाहरूलाई पाकिस्तानबाट भारत पठाइएको थियो । उनले जगाध्रीको सेन्ट थोमस स्कुलबाट एसएलसी दिएकी थिइन् । साइन्स विषयमा प्लस टु हिन्दु गल्र्स कलेजबाट पूरा गरिन् । एमबीबीएसमा नाम ननिस्केपछि बीएस्सी एमएलटी पोष्टग्र्याजुएट गरेकोे उनी नोस्टाल्जिक हुँदै सुनाउँछिन् । ल्याबमा आफ्नो जीवनको तीन दशक बिताएकी डा. ज्योतिसँग भाइरस र उनका कामको अनुभवबारे गरिएको कुराकानी :
माइक्रोबायोलोजिस्ट बन्न कोबाट प्रेरणा मिल्यो ?
स्कुले जीवन र ब्याचलरसम्मको अध्ययन भारतबाट पूरा गरें । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज क्याम्पसबाट माइक्रोबायोलोजीमा मास्टर्स सकें । यसैगरी त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेकी छु । एमबीबीएसमा नाम ननिस्केपछि दाइले ल्याब पढ्न सल्लाह दिनुभयो । यसैगरी माइक्रोबायोलोजी पढ्न भने सिनियर सर भरतमणि पोखरेलले प्रेरित गर्नुभएको हो ।
भारतमा पढेको मान्छे, यहाँ काम गर्दा भाषादेखि अन्य समस्या परेन ?
नेपाल आएको डेढ वर्षमा ठूलो छोरा हुर्किएपछि श्रीमान्को सल्लाहबमोजिम जागिर खाने निर्णय गरें । नेपाली खासै आउँदैनथ्यो । अन्तर्वार्तामा नेपाली भाषामा सोध्नुभयो । त्यतिबेला साइन्टिफिक कुरा अंग्रेजीमा भनें । तर पछि विस्तारै नेपाली सिक्दै गएँ । २०५२ साल वैशाखबाट भक्तपुर अस्पतालमा प्रयोगशाला प्रमुखका रूपमा काम गरें । त्यहाँ ५–७ वर्ष राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा सरुवा भयो । जापनिज इन्सेफलाइटिस, मिजल्स टेस्टसम्बन्धी काम गरें । त्यसपछि आठौंमा बढुवा भयो, नवौं तह बढुवाका लागि मास्टर्स गर्नुपर्यो । आइओएम, महाराजगन्जबाट माइक्रोबायोलोजी ३ वर्षे कोर्स पूरा गरें । शुक्रराज ट्रपिकल अस्पतालमा ५ वर्ष काम गरें । नवौं तहमा नाम निस्केपछि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालमा फेरि काम सुरु गरें । झन्डै ८ वर्ष माइक्रो बायोलोजिस्ट प्रमुख भएर काम गरें । अहिले वीर अस्पतालमा कार्यरत छु ।
कोभिडका बेला काम गर्दाको अनुभव केही छ कि ?
कोभिडको बेला ल्याबमा काम गरेर घर आउँदा मलामी गएर आएजस्तो महसुस हुन्थ्यो । कोभिड हुनु केही समयअघि श्रीमान्को मृत्यु भएको थियो । घरमा भएका दुई छोरासँग टाढै बस्थें । त्यतिबेला १ दिन पनि बिदा नलिई बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पीपीई लगाएर काम गर्यौं । सुरुमा एकजना बिरामीमा कोभिड पोजेटिभ देखिँदा कसैलाई नभन्ने भनियो । कसैलाई नभन्दा त्यो एकरात बिताउन धेरै गाह्रो भएको थियो । भोलिपल्ट ल्याबमा भएका साथी र मैले साइन गरेर रिपोर्ट पठायौं । निर्देशकले मन्त्रालयमा भनेपछि मात्र हल्का महसुस भयो ।
३० वर्ष माइक्रोबायोलोजीका क्षेत्रमा काम गर्नुभयो, जीवाणुका बारेमा बताइदिनुहोस् न ।
हाम्रो शरीरमा अरबौंको संख्यामा जीवाणु हुन्छन् । कुनै पनि जीवाणु आफैंमा नराम्रो हुँदैन । रोगसँग लड्ने क्षमता कम भयो भने मात्र जीवाणुले रोग गराउने हो । कोही ट्रान्सप्लान्ट गरेको वा क्यान्सरका बिरामी किमोथेरापी लिइरहेका हुन्छन् । त्यसैले बाहिर हिँडडुल गर्दा मास्क लगाउनुपर्छ । किनभने उनीहरूलाई ‘इम्युनो सप्रेसन’ भइरहेको हुन्छ । रोगसँग लड्न सक्ने जीवाणु पनि मरिरहेका हुन्छन् । जीवाणु पनि प्रतिरोध साटासाट गर्न गर्न सक्छन् । टेक्नोलोजी बढ्दै गएजस्तै हो किटाणु पनि । एउटा किटाणुसँग एन्टिबायोटिकसँग लड्ने क्षमता छ भने उसले आफ्नो कण अरु किटाणुलाई दिएर पनि सार्न सक्छ । किटाणु धेरै हुन्छन् र यसका पहिचानका लागि टेस्ट गर्नुपर्छ । अहिलेसम्म पत्ता लागेका रोग गराउने १ सय ५० जति किटाणु होलान् ।
महिलाको कुरा गनुपर्दा जीवनकालमा युरिन इन्फेक्सन हुने कुरा अध्ययनमै उल्लेख छ । महिलाको दिसा र पिसाब गर्ने ठाउँ नजिक भएकाले दिसाबाट जाने किटाणुले पिसाबको मँध्यमबाट इन्फेक्सन गराउन सक्छन् । इ.
कोली किटाणुले सबैभन्दा बढी युरिन इन्फेक्सन गराउँछ ।
जीवाणु कसरी पैदा हुन्छ ?
जीवाणु आफैं पैदा हुन्छ । हाम्रो शरीरमा पानीबाहेक अरबौं संख्यामा किटाणु छन् । पेट र छालाभित्र पनि राम्रा किटाणु हुन्छन् । हरेक १ सय वर्षमा महामारी र मान्छेको मृत्यु हुन्छ । पहिले पनि मानिसको मृत्यु हैजा, इन्फ्लुएन्जा, प्लेग, डेंगुले भएको सुनिएको हो । कतिपय जीवाणु मान्छेले नियन्त्रण गर्न सकिन्छ जस्तो मुसा नियन्त्रण गरे प्लेग लाग्न पाउँदैन । यसैगरी फूल स्लिभ पहिरन लगाएर हिँड्दैमा डेंगुबाट पूर्णरूपमा बच्न सकिँदैन । लामखुट्टे भएसम्म इन्सेफ्लाइटिस, डेंगु, मलेरिया निर्मूल पार्न गाह्रै हुन्छ । डेंगु गराउने लामखुट्टे सफा पानीमा बस्छ । कतिपय पुराना टायरभित्र पानी जम्छ, लामखुट्टेका लागि त्यो नै सुरक्षित स्थान हुन्छ । सफा गरिँदैन । यस्ता स–साना कुरामा ध्यान नपुर्याएसम्म डेंगु निर्मूल हुँदैन ।
फ्लु, निमोनियाविरुद्धका भ्याक्सिन कत्तिको सुरक्षित हुन्छन् ? भ्याक्सिन प्रभावकारी छैन भनिन्छ नि ?
मान्छेको डिएनए हजारौं वर्षमा एकपटक परिवर्तन हुन्छ भने भाइरसको डीएनए हरेक व्यक्तिपिच्छे प्रजनन् हुँदा परिवर्तन हुन सक्छ । पहिलोपटक कोभिड हुँदा लगाएको भ्याक्सिन लगायौं त्यसबाट बच्यौँ। दादुरा, विफर र पोलियोको भ्याक्सिन एकपटक लगाउँदा पुग्छ तर कुनै भाइरसहरू हरेक वर्ष उत्प्रेरित गर्ने भएकाले समय–समयमा भ्याक्सिन लगाइराख्नु । जस्तो फ्लुको भ्याक्सिन हरेक वर्ष लिनुपर्छ । कुनै पनि भ्याक्सिन टेस्ट गरेर ल्याइने हुँदा प्रभावकारी हुन्छ । भ्याक्सिनको साइड इफेक्ट खासै हुँदैन, यो लगाएपछि ज्वरो आउनु सामान्य हो । शरीरको इम्युनिटी देखाएको हो । बाहिरको कुरा आयो, मैले लड्नुपर्छ । कुनै पनि किटाणुलाई मारेर त्यसको कण राख्ने कि निर्जीव पारेर कण हाल्ने गरिन्छ । त्यो राखेपछि शरीरले थाहा पाउँछ ।
भ्याक्सिन लगाएमा जस्तो कसैलाई टाइफाइड हुने सम्भावना छ भने त्यससँग लड्न सकिन्छ । कसैलाई कुकुरले टोकेमा रेबिज भ्याक्सिन लगाउँछौं, यसले गर्दा रेबिज हुने सम्भावना हुँदैन । भ्याक्सिन चिसोमा राखिएको छैन भने त्यो उपयोगी हुँदैन । २ देखि ८ डिग्रीसम्म राख्नुपर्छ । कुनै माइनस ८० डिग्रीसम्म राख्नुपर्ने हुन्छ । कुनै पनि भ्याक्सिन लगाउँदैमा रोग नलाग्ने भन्ने हुँदैन । रोग लागेमा पनि शिथिल र सिकिस्त हुनबाट बच्न सकिन्छ ।
कुनै पनि स्याम्पल ल्याबमा टेस्ट गर्दा शत प्रतिशत नतिजा सही हुन्छ रु ल्याबअनुसार टेस्टको नतिजा फरक आउने कारण के होला ।
सयमा १ प्रतिशत मात्र सही नहुने चान्स हुन्छ । चारवटा ल्याब छन् भने त्यहाँ प्रयोग गरिएका मेसिनअनुसार रिपोर्ट फरक हुन सक्छ । कुनै ठाउँमा सुगर टेस्ट १००, कुनैमा ९५ र कुनैमा ११० को सट्टा १०५ आएमा त्यो दायराभित्र पर्छ । जस्तो युरिक एसिडमा ४ को ४ दशमलव ५ आयो भने ठीक हो, ४ को अर्को ठाउँमा गर्दा १० आयो भने ल्याबमा भएको मेसिनको खराबी हो । कुनै पनि मेसिनमा एउटै टेस्ट १० पटक गरेमा कम मात्रामा फरक नतिजा आउन सक्छ । पहिले ल्याबमा मेसिनको प्रयोग हातबाट गर्दा म्यानुअल गल्ती हुने सम्भावना रहन्थ्यो भने अहिले प्रायः ल्याबमा अटोमेटिक मेसिन हुन्छ । त्यसैले रिपोर्टमा त्रुटि हुने सम्भावना हुँदैन ।
ल्याबमा रिपोर्ट साटिने सम्भावना कत्तिको हुन्छ ?
काम एउटाले गर्दा अनि रेकर्ड नहेरी अर्कोले भेरिफाइ गर्ने भएमा हुन सक्छ । म्यानुअल काम हुने ठाउँमा हुने संभावना बढी हुन्छ ।
महिलाले उमेरअनुसार के–के टेस्ट गर्नुपर्ला ?
महिनावारी हुने बेला भएको छ भने हेमोग्लोबिन टेस्ट गरिन्छ । उचाइ बढेको छैन भने बच्चाको शरीरमा भिटामिन र क्याल्सियमको कमी छ कि, प्रत्येक वर्ष नगरे पनि कम उमेरमा ५ वर्षको फरकमा जाँच गरिन्छ । महिलाले प्रजनन् उमेरमा आएपछि, खाना ब्यालेन्स डाइट छैन र ब्लिडिङ धेरै भइरहेको छ भने आइरन जाँच गराउनुपर्छ । यसैगरी बच्चा पाउने उमेर र सेक्सुअल्ली एक्टिभ भएपछि कुनै लक्षण नभए पनि ५–५ वर्षको फरकमा प्याप स्मेयर टेस्ट गराउनुपर्छ । हिजोआज थाइराइडको समस्या धेरैलाई देखिने भएकाले प्रत्येक वर्ष यो जाँच गराउनु वेश हुन्छ । अहिले धेरैले अफिसभित्रै बसेर काम गर्छन् । भिटामिन डीको कमी हुन सक्छ । भिटामिन डी जाँच गराउन सकिन्छ । उमेर वृद्धि हुँदै गएपछि प्रि मेनापज, मेनापजमा हर्मोन टेस्ट गराउन सकिन्छ । धेरै ब्लिडिङ भएमा क्यान्सर मार्कर चेक र अल्ट्रासाउन्ड गराउन सकिन्छ । वृद्धावस्थामा बोन डेन्सिटी टेस्ट गर्नुपर्ने हुन्छ ।
रोग लागेपछि आफूखुसी औषधि किनेर खाने गरिन्छ, यो कत्तिको सही हो ? र कस्तो अवस्थामा एन्टिबायोटिक खानुपर्ने हुन्छ ?
यो ठीक होइन । विदेशमा अस्पतालको छापसहित भेरिफाइ गरेरमात्र एन्टिबायोटिक किन्न पाइन्छ । नेपालमा सामान्य रुघा, खोकी, घाँटी दुखेमा सजिलै एन्टिबायोटिक ९एजिथ्रोमाइसिन० किनेर खान्छन् । कतिपयले घरमा कोही बिरामी हुँदा ल्याइएको अगाडिका औषधि नै हचुवाको भरमा सेवन गरिरहेका हुन्छन् । त्यसले क्षणिक रूपमा निको भएजस्तो देखिए पनि भविष्यमा असर पर्न सक्छ । डाक्टरलाई जँचाएर औषधि खाँदा पनि पूरा अवधिभर खाँदैनन् । सामान्य समस्या भएर ओपिडीमा पुगेका बिरामीलाई चिकित्सकले कल्चर गरेपछि मात्र एन्टिबायोटिक दिनु उपयुक्त हुन्छ ।
जथाभावी एन्टिबायोटिकको प्रयोग हुँदा जीवाणुले त्यो औषधि चिन्छ र औषधिलाई प्रतिरोध गर्ने क्षमताको विकास गर्छ । एन्टिबायोटिकको बढी प्रयोगले जीवाणु चलाख भइसकेका छन् । त्यसैले हामी सबै जीवाणु संक्रमणको जोखिममा पर्न सक्ने भएकाले एन्टिबायोटिकको कम प्रयोग गर्नु उपयुक्त हुन्छ । कुनै–कुनै रोगका लागि भने एन्टिबायोटिक खानैपर्ने हुनाले चिकित्सकको सल्लाहमा पूरा डोज खानुपर्छ ।
आफूजस्तै यो क्षेत्रमा आउन चाहनेलाई के भन्नुहुन्छ ?
माइक्रोबायोलोजीको क्षेत्र ठूलो छ । यसमा धेरै कुरा सिक्न र गर्न सकिन्छ । भ्याक्सिन बनाउन, अनुसन्धान गर्न सकिन्छ र मानिसमा मात्र होइन, पशुमा, वातावरणमा किटाणु हुन्छ । यस्तै विविध विषयमा अनुसन्धान गर्न सकिन्छ । यसमा स्कोप छ, त्यसैले केही नयाँ गर्न चाहने यो क्षेत्रमा आउँदा हुन्छ ।
कसरी स्वस्थ हुने ?
कुनै पनि कुराको सीमा हुन्छ, नियम बनाउनुपर्छ । सन्तुलित रूपमा खाना खानुपर्छ । कीटनाशक औषधी राखेको खानेकुरा वा तरकारी खाँदा शरीरमा असर पर्ने भएकाले अर्गानिक खानेकुरा खानुपर्छ । काँचो सलाद भन्दा पनि केही बेर उसिनेर खान सकिन्छ । हरेक कलरका फलफूल खानुपर्छ । किनभने राता र सेता फलफूलबाट भिन्नै तत्व पाइन्छ । नियमित रूपमा व्यायाम गर्नुपर्छ ।
भविष्यको योजना ?
वीर अस्पतालमा एमआइसीअन्तर्गत ब्याचलरको पढाइ सुरु गर्ने योजना छ । रिटायर्ड जीवन अध्ययन–अध्यापनमै बिताउनेछु ।