Successfully Copied

‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’

मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।


लीलादेवी गड्तौला, पूर्वमुख्यसचिव


शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेकी लीलादेवी गड्तौलाले नेपालको प्रशासन क्षेत्रमा इतिहास रचिन् । मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी उनको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ । अहिले अवकाशप्राप्त जीवन बिताइरहेकी उनीसँग बाल्यकाल, शिक्षादीक्षा र कामको अनुभव आदिका बारेमा गरिएको कुराकानी ः
तपाईंको बाल्यकाल र शिक्षादीक्षा कस्तो रह्यो ?
२०२३ सालमा तेह्रथुमको म्याङ्लुङमा मेरो जन्म भएको हो । म जन्मेको समयमा छोरीलाई ४ कक्षाभन्दा माथि पढाउने चलन थिएन । म९ दाजुभाइ–दिदीबहिनीमध्येकी कान्छी छोरी हुँ । हजुरबुवा (इन्द्रविलास गड्तौला) ले भोजपुर सदरमुकाम दिङ्लाबाट संस्कृतका शिक्षक ल्याएर घरनजिकै (साबिक पिप्ले गाविस–५, हाल म्याङ्लुङ नगरपालिका–४) स्कुल खोल्नुभयो । त्यहाँ तीन कक्षासम्म अध्ययन गर्ने मौका पाएँ । पिप्लेमै रहेको हिमालय निमाविबाट ७ कक्षा पूरा गरेँ । कक्षा ८ देखि सदरमुकामको सिंहवाहिनी माविमा पढेर त्यहीँबाट एसएलसी उत्तीर्ण गरेकी हुँ । एसएलसीपछि २०४० सालमा काठमाडौंको नेपाल ल कलेजमा भर्ना भएँ । आइएल र बीएल त्यहीँबाट पूरा गरें । एलएलएम काठमाडौं स्कुल अफ लबाट गरें । एमएड चाहिँ राजनीति शास्त्रमा प्राइभेटबाट सिध्याएँ ।
जागिरे जीवनको सुरुवात कहिलेबाट भयो ?
२०५२ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेकी हुँ । त्योभन्दा अघि पढ्दै जागिर खान्थें । त्यतिबेला आरक्षणको व्यवस्था नभएकाले प्रतिस्पर्धामा १ नम्बरमै नाम निकालेकी थिएँ । कानुन मन्त्रालयमा काम गरें । २०६३ सालमा आन्तरिक बढुवाबाट उपसचिव भएँ  । त्यसको पाँच वर्षपछि सहसचिव भएँ । उपसचिवपछि गृह र केही महिना तत्कालीन जलस्रोत, ऊर्जा र सिचाइ मन्त्रालयमा काम गरें । उद्योग र परराष्ट्रमा पनि काम गर्ने मौका मिल्यो । २०६९ सालमा सहसचिवको लिखितमा पास भए पनि अन्तर्वार्तामा उनुत्तीर्ण हुँदा दोस्रो पटक जाँच दिएर २०७० माघमा सहसचिव भएँ । त्यसपछि निर्वाचन आयोगमा झन्डै २ वर्ष काम गरें । २०७२ सालमा संविधान जारी भएपछि फेरि कानुन मन्त्रालयमा सरुवा भएर नयाँ कानुन बनाउन खटिएँ । २०७७ कात्तिकमा सचिवमा बढुवा भएपछि नेपाल कानुन आयोगमा झन्डै ३४ महिना काम गरें । २०८० मा प्रधानमन्त्री कार्यालयमा सरुवा भयो, त्यहीबीच साउन १० मा मुख्य सचिव बन्ने सौभाग्य प्राप्त भयो । २०८१ भदौदेखि अवकाशको जीवन चलिरहेको छ ।
पहिलो महिला मुख्य सचिव हुँदा कस्तो महसुस भयो ?
निमित्त, कार्यवाहक र कायममुकायम गरी ६८ दिन मुख्य सचिवका रूपमा काम गरें । सुरुको २० दिन निमित्त र साउन १० देखि मुख्य सचिवका रूपमा काम गरेकी हुँ । प्रधानमन्त्री कार्यालयमा हुँदा कानुनी क्षेत्र मात्र हेर्थें । सरकार परिवर्तन हुँदा निमित्त थिएँ । मुख्य सचिवमा बढुवा हुँदा खुसी लाग्यो, त्यो मेरो खुसी मात्र नभएर देशका लागि पनि एउटा रेकर्ड बन्यो । नेपालको पहिलो महिला मुख्य सचिव बन्न पाएँ ।
सरकारी सेवा अवधिको अनुभव कस्तो रह्यो ?
२८ वर्ष ७ महिना सरकारी कर्मचारीका रूपमा काम गरें । जे गरें देशकै हितका लागि थियो । धेरै त कानुनसम्बन्धी काम गरें, अनुभव लिएँ । संसद्मा जाने विधेयक, ऐन–नियम, गठन सबै कानुन मन्त्रालयबाट जान्छ । गाउँमा महिलाको दुःख देखेकीले विशेष फोकस महिलामै हुँदा महिलाको वकालत गर्‍यो भन्ने कुरा पनि उठ्थ्यो । कतिपय महिलाका कानुनसम्बन्धी कुरामा यतिसम्म गर्दा त बिग्रदैन भनेर कन्भिन्स पनि गरें । निर्वाचन आयोगमा हुँदा स्थानीय निकायको चुनावका बेला संसद्मा ३३ प्रतिशत पुर्‍याउनुपर्छ, पुरानै कानुनमा जाने भन्ने थियो । महिलाको प्रतिनिधित्व कहिल्यै नहुने भयो भनेर राजनीतिक दलले प्रमुख र उप–प्रमुखमध्ये एक जना महिलालाई दिनुपर्छ भनेर सुरुवात गरें । त्यो समय इला शर्मा निर्वाचन आयुक्त हुनुहुन्थ्यो । कमसेकम निर्वाचन आयोग उदार हुनुपर्छ भनेर कन्भिन्स गराएँ । अन्त्यमा, संविधान आएपछि उक्त कुरा पास भयो । धेरै महिला राजनीतिमा आए । कतिपय कुरामा ‘इनिसिएसन’ लिँदा परिणाम राम्रो हुन्छ । मुख्यसचिव हुँदा कम समय भए पनि टिकटक खुलाउने र एनसेलका बारेमा काम गरियो । जे होस्, सेवाअवधि सन्तोषजनक रह्यो ।

काम गर्दा हुने चुनौती र कठिनाइ के–के हुन् ?
महिलाले राम्रै काम गर्दा पनि ‘रिकग्नाइज’ कम हुन्छ । कतिपय अवस्थामा मैले राम्रै गर्दा पनि लीलाले राम्रो गरेकी छ भनेर खुलेर भन्न नसक्ने सोच देखियो । मैले सिकाएर गर्‍या हो समेत भन्थे । महिलाले राम्रो गर्छे, उसलाई जिम्मेवारी दिनुपर्छ, अगाडि ल्याउनुपर्छ भन्ने मानसिकता कमै छ । मुखले भने पनि अवसर, सुविधा दिने बेलामा कम दिन्थे । महिला र पुरुष दुवैले काम गर्छन्, फरक यत्ति हो महिलाले जति राम्रो काम गरे पनि पुरुषले खुलेर प्रशंसा गर्दैनन् । महिलाभन्दा धेरै जुनियर पुरुष जाँदा विश्वास गर्ने तर महिला भएपछि सुरुमै प्रश्न गर्ने गरिन्छ । छिसिक्क केही भएमा बजारीकरण गरिन्छ । महिलालाई एकातिरबाट मात्र नभई धेरैतिरबाट निगरानी हुन्छ । त्यसलाई चिर्दै अघि बढ्नुपर्ने हुन्छ ।
राजनीतिमा धेरै महिला कसरी आउने त ?
राजनीतिमा महिलाको आगमन हुन थालेपनि प्रमुख पदमा भने कमै पुगेका छन् । टिकटर अवसर दिनेमा कम छन् । महिला समयका कारण ‘डेडिकेटेड’ पनि हुन नसकेका होलान् । महिलालाई पनि सबैले सहयोग गरेर त्यही किसिमको वातावरण तय गरिदिएमा धेरैभन्दा धेरै राजनीतिमा आउँछन् ।
महिलाहरू अब कसरी अघि बढ्ने ?
सरकारी सेवा वा अन्य क्षेत्रमा जाने निर्क्योल गर्नुपर्छ । सरकारीमा जाने हो भने कामप्रति प्रतिबद्ध हुनुपर्छ, आफूले आफूलाई निखार्नुपर्छ । त्यसैगरी कामप्रति लगनशील हुनुपर्छ । व्यापार गर्ने भए त्यसैमा केन्द्रित हुनुपर्छ । अघि बढ्नका लागि शिक्षाका साथै नयाँ ट्रेन्ड र टेक्नोलोजीमा अभ्यस्त हुनुपर्छ । आफू अपडेटका साथै घरपरिवारको सहयोग पनि जरुरी हुन्छ ।

आत्मनिर्भर बन्नका लागि महिलाले के गर्नुपर्छ ?
यसका लागि शिक्षा नै पहिलो कडी हो । ग्लोबलाइजेसनको जमानामा परम्परागत शिक्षाभन्दा व्यावहारिक शिक्षा आवश्यक छ । स्कुलबाटै परिवर्तन हुनुपर्छ । प्लस–टुपछि आत्मनिर्भर हुने शिक्षामा जोड दिनुपर्छ । यसो गरेमा सहज हुन्छ । रुचिअनुसार जीवन सहज हुने किसिमको शिक्षा जरुरी छ ।
‘नारी’ मार्फत केही सन्देश छ कि ?
नारीहरू कमजोर छैनन् । दुई महिना मुख्य सचिव भए पनि दुई शताब्दीसम्म मेरो नाम रहन्छ । कसैले कुरा काटेमा दुःखी नभई अघि बढ्नुपर्छ । कसैको बहकाउमा नलागी ठीक–बेठीक छुट्याउनुपर्छ । काममा व्यस्त रहनुपर्छ । जुन काम गरे पनि त्यसमा लगनशील भई लागिपर्नुपर्छ । नजानेका कुरा जुनसुकै उमेरमा पनि सिक्न र सोध्न लजाउनुहुँदैन । आफ्नो खुट्टामा उभिन सके घरपरिवार सुखी, सन्तान सुखी हुन्छन् । जुन क्षेत्र रोजे पनि लगनशील भएर त्यसमै लागिपरेमा सफलता प्राप्त हुन्छ । सबैलाई तिहारको शुभकामना ।

 Image