डा. सुधा देवकोटा
निर्देशक,उपचारात्मक महाशाखा, स्वास्थ्य सेवा विभाग, टेकु
बुवाआमाले पढ्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भनेकाले नै डा.सुधा देवकोटा यो स्थानसम्म आइपुगिन् । जीवनको २६ वर्ष स्वास्थ्य क्षेत्रमा बिताएकी डा. सुधाले सुगमभन्दा दुर्गममा धेरै सेवा गरेकी छिन् । उनको बाल्यकाल ललितपुरको पुल्चोकमा बित्यो । उनका स्व. आमा शारदा शिक्षिका र बुवासुदर्शन देवकोटा पत्रकार थिए । अभिभावक शिक्षित भएकाले सुधा, उनका दिदी र भाइले पनि पढ्न पाए । सुधाले स्कुले शिक्षा जावलाखेलस्थित सेन्टमेरिज स्कुलबाट पूरा गरिन् ।
हाल टेकुस्थित उपचारात्मक महाशाखामा कार्यरत उनीसँग कामको अनुभव, स्वास्थ्य सेवाको अवस्थालगायतविषयमा गरिएको कुराकानी ः
तपाईंले कसरी शिक्षा हासिल गर्नुभयो ?
स्कुले शिक्षा सेन्टमेरिजबाट पूरा गरेपछि पाटन क्याम्पसमा आइएस्सी पढें । त्यसपछि थप अध्ययनका लागि रुस गएँ ।पछि काम गर्दै जाने सिलसिलामा थाइल्यान्डको बैंककबाट पब्लिक हेल्थमा एमपीएच पनि गरें ।
यो पेसामा कसरी आकर्षण बढ्यो ?
घरमा पढ्ने वातावरण थियो । दिदी कम्प्युटर इन्जिनियर र भाइ टेलिकम्युनिकेसन इन्जिनियर छन् । त्यो समयमा डाक्टर भनेको ठूलो पेसा हो भन्ने लाग्थ्यो र पढाइ पनि राम्रो थियो । त्यसो त सानोमा सलाईको बट्टा लिएर बाबालाई डाक्टर हो भनेर सुई लगाइदिन खोज्थें रे । त्यसैले होला यो पेसामा आकर्षित भएको । मैले मेहनत गरें, मेरो इच्छालाई अभिभावकबाट सहयोग प्राप्त भयो ।
कामका धेरै वर्ष दुर्गममा बिताउनुभयो । कस्ता रहे ती दिन ?
मैले रुसमा पढाइ पूरा गरेर आएपछि दाङमा सातौं तहमा काम सुरु गरें ।सुर्खेत, नेपालगन्जमा काम गरें । त्यतिबेलातालिम लिएर सर्जरी, बिरामीको सेवामा लागें, मेडिकल अफिसरले भन्दा धेरै काम गरें । फस्ट क्लास अफिसर भएको पनि १० वर्ष भयो । नेपालगन्जस्थित तत्कालीन भेरी अञ्चल अस्पतालमा एक वर्ष काम गरें । २०५६ सालमा दाङको महेन्द्र अस्पतालमा सरुवा भयो । लामो समय दाङमै बिताएँ । दाङपछि सेकेन्ड क्लास अफिसर बनेर प्युठान गएँ । प्युठानमा रहँदा थाइल्यान्डको बैंकक गएर एमपीएच गर्ने अवसर पाएँ ।
बैंककमा पढेर नेपालआएपछि सल्यानमा केही समय काम गरें र विभागमा पुगें । त्यसपछि रसुवा र रसुवापछि गोरखामा काम गरें । २०७२ वैशाख १२ गते भूकम्प गयो । त्यो समयमा निकै दुःख गरेर गोरखामा भूकम्पका बिरामीको उपचार गरेकी थिएँ । कोशी प्रदेशमा सचिवका रूपमा पनि काम गरें । २६ वर्षे जागिरे जीवनमा ३ वर्ष पनि काठमाडौंमा काम गरेकी छैन । दुर्गम–सुगम, टाढा–नजिक नभनी सरकारले खटाएको ठाउँमा काम गरें । अहिले टेकुस्थित उपचारात्मक महाशाखामा कार्यरत छु । जिल्लामा काम गर्दा कहिलेकाहीँ सामाजिक र सांस्कृतिक भेदभावको सामना गर्नुपर्यो । कतिपयले मेरो खानपान, जीवनशैलीमा टिप्पणी गर्थे । तर कत्ति पनि विचलित नभई आफ्नो काममा दत्तचित्त भएर लागिपरें ।
पब्लिक हेल्थमा रुचि कसरी बढ्यो ?
काम गर्दै जाने सिलसिलामा जनस्वास्थ्यमा बढी रुचि भयो । सानो कुराको ज्ञान नपाएर पब्लिक हेल्थमा ठूलो समस्या छ भन्ने लागेपछि यसैमा रुचि भयो ।
बिरामीको उपचार गर्न सजिलो कि प्रशासनिक क्षेत्रमा काम गर्न ?
पहिले धेरै बिरामीको उपचार र सर्जरी गरें । त्यसमा पनि एक किसिमको खुसी मिल्थ्यो । आफूले सर्जरी गरेको शिशुले राउन्डका बेला औंला समात्दा स्वर्गीय आनन्द प्राप्त हुन्थ्यो । प्रशासनिकमा झन् ठूलो (मास) रूपमा काम गर्न पाएँ । चाहेको जस्तो गरी काम गर्न पाएँ । त्यसैले यहाँ अझ सन्तुष्ट छु । एउटा अस्पताल सुधारेमा सेवा लिन आउने कैयौं बिरामीले फाइदा लिन सक्छन् । यसमा ठूलो रूपमा काम गर्न सकिन्छ । यद्यपि चुनौती दुवैमा उत्तिकै छन् ।
अहिलेको कार्यक्षेत्र बताइदिनुहोस् न ?
पहिलो कुरा त उपचारात्मक महाशाखा आवश्यक छ कि छैन भन्ने हो । यसको कार्यक्षेत्र सीमित छ । योभन्दा पहिले पुनर्जागरण महाशाखा थियो । उपचारात्मक महाशाखालाई गुणस्तर वा अन्य महाशाखामा मर्ज गरे हुन्छ । यसको काम महत्वपूर्ण भए पनि कम बजेट र कम कर्मचारीका कारण भनेजस्तो काम हुन सकेको छैन । कम बजेटमा जिम्मेवारी बढी छ । यसमा नेपालभरकै (स्थानीय, प्रदेश) आधारभूत स्वास्थ्यका बारेमा काम हुन्छ । औषधोपचारका लागि थोरै भए पनि पैसा पठाउने, अनुगमन गर्ने र रणनीतिक योजना बनाउने काम यो महाशाखाअन्तर्गत पर्छ । तर सीमित बजेटका कारण काम गर्न अप्ठ्यारो छ ।
ग्रामीण भेगमा काम गर्दा के–कस्ता स्वास्थ्य समस्या देख्नुभयो ?
मैले काम गर्ने समयमा ग्रामीण भेगका पुरुषमा श्वासप्रश्वाससम्बन्धी समस्या बढी पाएकी थिएँ । यसैगरी महिलामा पाठेघरसम्बन्धी समस्या धेरै देखिन्थ्यो । कम उमेरमा विवाह, धेरै सन्तान जन्माउने, सरसफाइको कमीका कारण तल्लो पेट दुख्ने, योनिबाट पानी बग्ने समस्या थियो । यसैगरी बालबालिकामा पोषणको कमीका कारण रोग प्रतिरोधक क्षमता (इम्युन सिस्टम) कम हुन्थ्यो । तौल कमजस्ता समस्या थिए ।
स्वास्थ्यमा सुधार ल्याउन के गर्नुपर्छ ?
स्कुलमा स्वास्थ्यसम्बन्धी सेवा र जनचेतनाले केही सुधार भएको छ । कुनै पनि कार्यक्रम गर्दा पहिले के थियो अहिले के छ, तुलनात्मक रूपमा हेरेर के–कति विकास भयो भन्ने कुरा हेर्नुपर्छ । मातृमृत्युदर र बाल मृत्युदरमा पनि सुधार आएको छ । तर पर्याप्त मात्रामा सुधार हुन सकेको छैन, त्यसैले के गर्दा कम भई सुधार हुन सक्छ भन्ने कुरामा केन्द्रित हुनु आवश्यक छ । यसैगरी अस्पताललाई कुनै खेल खेल्ने ठाउँ नबनाई, अस्पतालजस्तो नै बनाउनुपर्छ । सबै स्वास्थ्य संस्था सुधार हुनुपर्छ ।
धेरै समय उपत्यकाबाहिर काम गर्नुभयो, यहाँ र बाहिर काम गर्दाका चुनौती ?
उपत्यकामा निश्चित काम गर्ने हुन्छ, जिल्लामा बढी चुनौती र जिम्मेवारी हुन्छ । निर्णय पनि आफैं गर्नुपर्छ । जिल्लामा भन्दा केन्द्रमा काम गर्न सहज हुन्छ ।
महिला भएकै कारण गरेका कामको कार्यान्वयन भएको छ?
जुनसुकै पेसामा पनि महिलालाई झट्ट विश्वास गर्ने परिपाटी विकास भइसकेको छैन । कुनै पनि पोस्ट दिने बेलामा गर्न सक्छे र भनेर प्रश्न उठाउने परिपाटी कायमै छ । राम्रो र ठूलो ठाउँमा जिम्मेवारी दिन हिच्किचाउने गरिन्छ । त्यसो र मिटिङहरूमा हामीले राखेका कुरा समावेश नहुँदा महिला भएकैले हो कि भन्ने महसुस हुन्छ । महिलाको आवाज सुिनँदैन ।
महिला जागरुक हुन के गर्नुपर्ला ?
मैले गर्न सक्छु भन्ने दृढता र आत्मविश्वास हुनुपर्छ ।
सफल हुने सूत्र के होला ?
धेरै कुरा आवश्यक पर्छन् । महिला आफैं सफल हुन्छु भन्दा पनि घरपरिवार, छरछिमेक, संरचना, आत्मविश्वास, चेतनास्तर, जोखिम लिन सक्ने साहस हुनुपर्छ । हाम्रो समाजमा सहयोग गर्नेभन्दा पनि हतोत्साही गर्ने धेरै भएकाले सहज र सजग भएर जोखिम उठाउनुपर्छ ।
भविष्यको योजना?
रिटायर्ड हुन ४ वर्ष बाँकी छ । त्यसैले यो क्षेत्रमै माथिल्लो तहमा पुग्न काममार्फत लागि पर्नेछु । स्वास्थ्य क्षेत्रमै काम गर्नेछु ।