‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।
कवि, समालोचक डा. बिन्दु शर्मा उप–प्राध्यापक हुन् । उनको कविता संग्रह ‘ओक्कल दोक्कल पीपल पात’ प्रकाशित छ । गत वैशाख ११ देखि १५ गतेसम्म राष्ट्रिय सभागृहमा पारिजात स्मृति केन्द्रबाट आयोजित अन्तरसंवाद शृंखला ‘मैले चिनेको पारिजात’ र महिला पुस्तक प्रदर्शनीकी संयोजक पनि थिइन् उनी । त्यही कार्यक्रमको सेरोफेरोमा उनीसँगको नारी–वार्ता :
महिलाहरूको मात्रै पुस्तक प्रदर्शनी किन ? प्रदर्शनीलाई महिला र पुरुष भनेर किन छुट्याउनुपरेको ?
बजार र मिडियाको सत्ताले सीमित महिला लेखक सेलिब्रिटी बनाएर अधिकांशलाई गरेको विभेद र किनारीकरणका विरुद्ध सिर्जनात्मक प्रतिरोध गर्न अनि महिला लेखनप्रति समाजलाई सचेत बनाउन महिलाकै पुस्तक प्रदर्शनी गर्नुपरेको हो ।
यसरी महिलाको मात्रै पुस्तक प्रदर्शनी यसअघि पनि भएको थियो नेपालमा ? त्यसको इतिहास कस्तो छ ?
नेपालमा प्रथम महिला पुस्तक प्रदर्शनी २०४२ सालमा पारिजातको नेतृत्वमा भएको थियो र पारिजात स्मृति केन्द्रले पनि २०५३ सालमा गरेको थियो । २०८० सालमा पिक्चर्स लाइब्रेरीले एकदिने महिला पुस्तक प्रदर्शनी गरेको थियो । अहिले हामीले गरेको प्रदर्शनी चौथो हो ।
पुस्तक प्रदर्शनीमा महिलाको उपस्थिति र उत्साह कस्तो पाउनुभयो ?
प्रदर्शनीमा महिला तथा पुरुष लेखक, पाठक, श्रोता र क्रेता सबैको उपस्थिति एवं उत्साह भव्य रह्यो । त्यसमा काठमाडौं महानगरपालिकाको सौजन्यले हामीलाई झन् उत्साहित गर्यो तर मिडियाको सामाजिक दायित्व भने त्यसमा लगभग शून्य नै देखियो ।
पुस्तक प्रदर्शनीमा ‘मैले चिनेको पारिजात’ शीर्षकअन्तर्गत धेरैवटा सेसनमा पारिजातमाथिका अन्तरसंवाद भएको थियो । लेखक पारिजात, महिला लेखन र पुस्तक प्रदर्शनीको अन्तरसम्बन्ध के हो ?
पारिजातको सिर्जनात्मक सक्रियताको स्मृतिमा महिला पुस्तक प्रदर्शनी भएकाले त्यसमा पारिजातका बारेमा अन्तरसंवाद अनिवार्य थियो, त्यसले महिला लेखनबारे समाजमा रहेको कमजोर दृष्टिकोणलाई बदल्ने र महिला लेखकलाई क्रियाशील बन्न, बाहिर ल्याउन उत्प्रेरणा दिने र सत्ताको ध्यानाकर्षण गर्ने उद्देश्य रहेकाले तिनका बीच गहन अन्तरसम्बन्ध छ ।
पारिजातलाई कार्यक्रममा अधिकांश वक्ता–दर्शकले कसरी सम्झिए ? अब उनलाई कसरी सम्झिनुपर्छ ?
पारिजात लेखक मात्र होइनन्, राजनीतिक संगठक, दूरदर्शी चिन्तक र प्रगतिशील अभियन्ता पनि हुन् । उनलाई सम्झनु भनेको उनको न्यायपूर्ण विचार र कलालाई सँगसँगै राखेर समाज रूपान्तरणमा क्रियाशील हुनु हो भन्ने दृष्टिकोण वक्ता–दर्शकको थियो । अब पारिजातलाई बजारमा बिकाउन खोजिने यौन, प्रेम र व्यक्तिगत सम्बन्धका आधारमा नभई मार्क्सवादी सामाजिक–राजनीति दृष्टिकोणयुक्त चिन्तन र कलाको बृहत् फलकमा हेरेर उनको योगदानलाई सम्झनुपर्छ ।
महिलाको पुस्तक प्रदर्शनी र यस्ता कार्यक्रमले मात्रै महिला लेखन शक्तिशाली र प्रखर भएर आउन सक्ला ?
महिला लेखक र तिनका कृतिप्रति ध्यानाकर्षण गराउने, तिनका बारेमा विमर्श गर्ने र नयाँ चिन्तनसहित महिला मुक्तिका निम्ति जागृत गर्ने दिशामा यो महिला पुस्तक प्रदर्शनी त एउटा माध्यम मात्र हो । यसले पनि महिला लेखकलाई उत्प्रेरणा, आत्मविश्वास दिएर हिँड्नुपर्ने सही यात्राबारे सचेत गराएर बल दिन सक्छ ।
महिला लेखन सक्रियता बढाउन के–कस्तो कर्म गर्न सकिन्छ होला ?
पहिलो कुरा त महिला लेखकप्रतिको आर्थिक–सामाजिक दृष्टिकोणमा परिवर्तन हुनुपर्छ । त्यसपछि उनीहरूको लेखनलाई सार्वजनिक विमर्शको प्राथमिकतामा ल्याउनुपर्छ । सहभागिता र सबलीकरणका निम्ति समावेशीपनलाई कार्यान्वयन गर्नुपर्छ । महिला लेखनले कृत्रिम आदर्श, सस्तो लोकप्रियताको प्रदर्शन र स्वार्थप्रेरित प्रशंसाबाट बचेर महिलामुक्तिको वास्तविक चिन्तनलाई आत्मसात् गर्नुपर्छ ।