Successfully Copied

‘महिला लेखनबारे समाजको दृष्टिकोण बदल्नुपर्छ’

बजार र मिडियाको सत्ताले सीमित महिला लेखक सेलिब्रिटी बनाएर अधिकांशलाई गरेको विभेद र किनारीकरणका विरुद्ध सिर्जनात्मक प्रतिरोध गर्न अनि महिला लेखनप्रति समाजलाई सचेत बनाउन महिलाकै पुस्तक प्रदर्शनी गर्नुपरेको हो ।


कवि, समालोचक डा. बिन्दु शर्मा उप–प्राध्यापक हुन् । उनको कविता संग्रह ‘ओक्कल दोक्कल पीपल पात’ प्रकाशित छ । गत वैशाख ११ देखि १५ गतेसम्म राष्ट्रिय सभागृहमा पारिजात स्मृति केन्द्रबाट आयोजित अन्तरसंवाद शृंखला ‘मैले चिनेको पारिजात’ र महिला पुस्तक प्रदर्शनीकी संयोजक पनि थिइन् उनी । त्यही कार्यक्रमको सेरोफेरोमा उनीसँगको नारी–वार्ता
:
महिलाहरूको मात्रै पुस्तक प्रदर्शनी किन ? प्रदर्शनीलाई महिला र पुरुष भनेर किन छुट्याउनुपरेको ?
बजार र मिडियाको सत्ताले सीमित महिला लेखक सेलिब्रिटी बनाएर अधिकांशलाई गरेको विभेद र किनारीकरणका विरुद्ध सिर्जनात्मक प्रतिरोध गर्न अनि महिला लेखनप्रति समाजलाई सचेत बनाउन महिलाकै पुस्तक प्रदर्शनी गर्नुपरेको हो ।

यसरी महिलाको मात्रै पुस्तक प्रदर्शनी यसअघि पनि भएको थियो नेपालमा ? त्यसको इतिहास कस्तो छ ?
नेपालमा प्रथम महिला पुस्तक प्रदर्शनी २०४२ सालमा पारिजातको नेतृत्वमा भएको थियो र पारिजात स्मृति केन्द्रले पनि २०५३ सालमा गरेको थियो । २०८० सालमा पिक्चर्स लाइब्रेरीले एकदिने महिला पुस्तक प्रदर्शनी गरेको थियो । अहिले हामीले गरेको प्रदर्शनी चौथो हो ।
पुस्तक प्रदर्शनीमा महिलाको उपस्थिति र उत्साह कस्तो पाउनुभयो ?
प्रदर्शनीमा महिला तथा पुरुष लेखक, पाठक, श्रोता र क्रेता सबैको उपस्थिति एवं उत्साह भव्य रह्यो । त्यसमा काठमाडौं महानगरपालिकाको सौजन्यले हामीलाई झन् उत्साहित गर्‍यो तर मिडियाको सामाजिक दायित्व भने त्यसमा लगभग शून्य नै देखियो ।
पुस्तक प्रदर्शनीमा ‘मैले चिनेको पारिजात’ शीर्षकअन्तर्गत धेरैवटा सेसनमा पारिजातमाथिका अन्तरसंवाद भएको थियो । लेखक पारिजात, महिला लेखन र पुस्तक प्रदर्शनीको अन्तरसम्बन्ध के हो ?
पारिजातको सिर्जनात्मक सक्रियताको स्मृतिमा महिला पुस्तक प्रदर्शनी भएकाले त्यसमा पारिजातका बारेमा अन्तरसंवाद अनिवार्य थियो, त्यसले महिला लेखनबारे समाजमा रहेको कमजोर दृष्टिकोणलाई बदल्ने र महिला लेखकलाई क्रियाशील बन्न, बाहिर ल्याउन उत्प्रेरणा दिने र सत्ताको ध्यानाकर्षण गर्ने उद्देश्य रहेकाले तिनका बीच गहन अन्तरसम्बन्ध छ ।
पारिजातलाई कार्यक्रममा अधिकांश वक्ता–दर्शकले कसरी सम्झिए ? अब उनलाई कसरी सम्झिनुपर्छ ?
पारिजात लेखक मात्र होइनन्, राजनीतिक संगठक, दूरदर्शी चिन्तक र प्रगतिशील अभियन्ता पनि हुन् । उनलाई सम्झनु भनेको उनको न्यायपूर्ण विचार र कलालाई सँगसँगै राखेर समाज रूपान्तरणमा क्रियाशील हुनु हो भन्ने दृष्टिकोण वक्ता–दर्शकको थियो । अब पारिजातलाई बजारमा बिकाउन खोजिने यौन, प्रेम र व्यक्तिगत सम्बन्धका आधारमा नभई मार्क्सवादी सामाजिक–राजनीति दृष्टिकोणयुक्त चिन्तन र कलाको बृहत् फलकमा हेरेर उनको योगदानलाई सम्झनुपर्छ ।
महिलाको पुस्तक प्रदर्शनी र यस्ता कार्यक्रमले मात्रै महिला लेखन शक्तिशाली र प्रखर भएर आउन सक्ला ?
महिला लेखक र तिनका कृतिप्रति ध्यानाकर्षण गराउने, तिनका बारेमा विमर्श गर्ने र नयाँ चिन्तनसहित महिला मुक्तिका निम्ति जागृत गर्ने दिशामा यो महिला पुस्तक प्रदर्शनी त एउटा माध्यम मात्र हो । यसले पनि महिला लेखकलाई उत्प्रेरणा, आत्मविश्वास दिएर हिँड्नुपर्ने सही यात्राबारे सचेत गराएर बल दिन सक्छ ।
महिला लेखन सक्रियता बढाउन के–कस्तो कर्म गर्न सकिन्छ होला ?
पहिलो कुरा त महिला लेखकप्रतिको आर्थिक–सामाजिक दृष्टिकोणमा परिवर्तन हुनुपर्छ । त्यसपछि उनीहरूको लेखनलाई सार्वजनिक विमर्शको प्राथमिकतामा ल्याउनुपर्छ । सहभागिता र सबलीकरणका निम्ति समावेशीपनलाई कार्यान्वयन गर्नुपर्छ । महिला लेखनले कृत्रिम आदर्श, सस्तो लोकप्रियताको प्रदर्शन र स्वार्थप्रेरित प्रशंसाबाट बचेर महिलामुक्तिको वास्तविक चिन्तनलाई आत्मसात् गर्नुपर्छ ।

 Image