पर्वतको पिपलटारी बितलवमा ३७ वर्षअघि शोभा पौडेल भुसालको जन्म भएको हो । उनले ‘प्लस टु’ सम्मको अध्ययन पर्वतकै श्री पूर्णेश्वर उच्च मावि बितलवबाट पूरा गरिन् । उनले पोखरास्थित पृथ्वीनारायण क्याम्पसबाट स्नातक र काठमाडौंस्थित पद्मकन्या क्याम्पसबाट ‘ग्रामीण विकास’ विषयमा स्नातकोत्तर गरेकी हुन् । स्नातक उत्तीर्ण भएसँगै उनको विवाह भयो । दुई सन्तानकी आमा उनले रुरल इनर्जी डेभलपमेन्ट प्रोग्रामअन्तर्गत माइक्रो हाइड्रो प्रोजेक्टमा सोसल मोबिलाइजरका रूपमा काम गरिसकेकी छन् । बुवा शिक्षक र आमा कामकाजी भएकाले दुवैले उनको पढाइमा जोड दिएको उनी बताउँछिन् । स्कुलमा सधै प्रथम हुँदा पाएको उपहार (कापी कलम) उनलाई वर्षदिन पुग्थ्यो । ०५८ को प्रवेशिका परीक्षामा छात्राहरूमध्ये जिल्ला टप गरेकी उनले ‘प्लस टु’ मा पनि टप गरेकी थिइन् । जीवनको ३७ वर्ष यात्रामा विभिन्न आरोह–अवरोह सामना गरेकी शोभा ०७० मा लोकसेवा उत्तीर्ण गरी नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गरेकी हुन् । प्रशासकीय अधिकृत (सातौं तह) बाट प्रवेश गरेकी उनी आठौं तहबाट एकैपटक १० औं तहमा खुल्ला प्रतियोगिताबाट केही महिनाअघि नाम निकाल्न सफल भइन् । उनले गरेका संघर्ष, भोगाइ र सफलता आदिका विषयमा केन्द्रित भई गरिएको कुराकानीको सम्पादित अंश :
महिला भएर अघि बढ्न के–कस्ता समस्या सामना गर्नुपर्यो ?
जीवनमा विभिन्न उतारचढाव आए पनि मनलाई सम्हालेर म यो स्थानमा पुग्न सकें । हौसला दिने अभिभावक, त्यही किसिमको वातावरण मिलाइदिने जीवनसाथीका कारण पनि म यो स्थानमा पुगेकी हुँ । सातौं तहबाट आठौं, नवौं तहका लागि परीक्षा दिँदा पाँच पटकसम्म असफल भएँ । पछि एकैपटक दसौं तहमा खुल्लाबाट दिँदा नाम निस्क्यो । त्यसैले एक पटक असफल हुँदैमा हरेस खानुहुँदैन । इच्छाशक्ति, कामप्रति रुचि र प्रतिबद्धताले नै व्यक्तिले हरेक चुनौतीको सामना गर्न सफल हुन्छ । पढ्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने कुरा सधै भित्री मनमा हुन्थ्यो ।
विद्युत् प्राधिकरणमा महिलाका के–कस्ता समस्या छन् ?
कार्यालयभित्र त्यस्तो नभएपनि काममा जाँदा लैंगिक विभेद भएको सुन्नमा आएको छ । जस्तो मिटर रिड गर्न जाँदा महिला कर्मचारीलाई ‘मिस विहेभ’ गर्ने, शारीरिक रूपमा छुने, मादक पदार्थ सेवन गरी जथाभावी बोल्ने गरेको गुनासो सुनिन्छ । त्यसो त महिलाबीच पनि वादविवाद हुने र इगोको समस्या पनि छ । मिटर रिडिङ गर्न फिल्डमा जाँदा अलि गाह्रो छ । मिटर अप्ठ्यारो ठाउँमा राखेकाले रिड गर्न गाह्रो हुने, कति ठाउँमा कुकुर पाल्ने हुनाले कुकुरले टोक्ने गरेको कुरा पनि सुनिन्छ ।
सरकारी जागिरमा आकर्षण बढ्नुको कारण के हो?
सरकारी जागिरले दिने आर्थिक सुरक्षा, सुरक्षाको प्रत्याभूति र सामाजिक प्रतिष्ठा पनि यसमा आकर्षण हुने कारण हुन् ।
महिला भएको ठाउँमा भ्रष्टाचार कम हुन्छ भन्ने छ नि, सही हो ?
सही होला । तर, यसो भन्दैमा सबै महिला सही छन्, पुरुष मात्रै भ्रष्टाचारी छन् भन्ने होइन । यद्यपि महिला सधै कटिबद्ध र इमान्दारीका साथ काम गर्छन् ।
महिला उच्च तहमा पुग्नका लागि के गर्नुपर्ला ?
शिक्षा पहिलो कुरा हो । त्यसपछि पारिवारिक वातावरण पनि महिलामैत्री हुनुपर्छ । साथै महिलामा पनि कामप्रतिको प्यासन हुनुपर्छ । आफूले आफैंलाई चिन्नुपर्छ । मिसन र भिजन हुनुपर्छ । कुनै पनि काम गर्दा म सफल हुन्छु भनेर सुरु गर्नुपर्छ । भिजन पूरा गर्न निरन्तर लागिरहनुपर्छ । आफ्नो काम आफैं गर्ने हो । अरुले वातावरण मात्र बनाइदिने हो । त्यसो त महिला काममा धेरै इमान्दार हुन्छन् । जिम्मेवारी दिएमा कुनै पनि महिला कम छैनन् । जुनसुकै पदमा पुगेका महिलाले आफ्नो भूमिका सही रूपमा निर्वाह गर्न अध्ययन, अनुसन्धानका साथ तयार हुनुपर्छ । हरेक कुरामा अपडेट हुनुपर्छ र आफू नेतृत्व तहमा पुगेपछि अन्य महिलालाई पनि नेतृत्वमा पुग्न त्यही किसिमको वातावरण बनाई दिनुपर्छ । महिलामैत्री वातावरण सिर्जना गरिदिनुपर्छ ताकि महिलाहरू नेतृत्वमा आउन उत्प्रेरित होउन ।
सबै क्षेत्रमा महिला सहभागिता कसरी बढाउन सकिन्छ?
सबैभन्दा पहिले ऐन, कानुन, संविधान सही हुनुपर्यो । त्यसमा समानताका कुरा पनि समावेश हुनुपर्यो । महिला पुरुष बराबर नहुँदासम्म आरक्षण पनि चाहिन्छ । समावेशीलाई सधै अधिकारको रुपमा नलिइकन एउटा अवसरको रुपमा प्रयोग गर्नुपर्छ । अधिकारसहितको सहभागितामा जोड दिनुपर्छ ।
सफलताको श्रेय कसलाई दिनुहुन्छ ?
सफलताको श्रेय मेरो परिवार, श्रीमान् र म आफैंलाई दिन्छु । साथै माथिल्लो तहमा कार्यरत सरहरू जसले मलाई धेरैपटक नजानेका कुरा सिकाइदिनुभयो, काम गर्न सहज वातावरण बनाइदिनुभयो, उहाँहरूले गर्दा नै म यो ठाउँमा पुग्न सफल भएँ । मेरा सन्तान (छोराछोरी) म यति पढेपछि समय दिन्छु भन्दा चुपचाप मेरो कुरा मानेर पढ्न दिए । सफलता एक्कासि भन्दा पनि स्टेप–स्टेप भएर प्राप्त हुन्छ । त्यो प्राप्त गर्न आफ्नो लक्ष्य के हो पत्ता लगाएर निरन्तर त्यसैमा लागिरहनुपर्छ । असहज परिस्थितिलाई पनि सहज बनाई हरेस नखाई अघि बढ्नुपर्छ । तबमात्र लक्ष्य पूर्ति हुन्छ ।
तपाईंको भावी योजना के छ ?
सबैभन्दा पहिले त अहिले पाएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने त्यसपछि डीएमडी १२ औं तह (उप–कार्यकारी निर्देशक) सम्म पुग्ने लक्ष्य छ । त्यसपछि निर्देशक तहविहीन सरकारी नियुक्ति हो । यसमा पनि पुग्छु भनेर सपना देख्छु । मेरो रिटायर्ड जीवन वकालत तथा समाजसेवा हुनेछ । जुन काममा संलग्न हुन्छु त्यसमा पूर्ण रुपमा लागिपर्नेछु ।