डा. बेन लिम्बु
नेत्र रोग विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान
रेटिनोब्लास्टोमा कस्तो रोग हो ?
पाँच वर्षमुनिका बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो । यो क्यान्सर आँखाको भित्री भाग (रेटिना) बाट पलाउँछ भने आँखाको पूरै भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्छ । यसको उपचार ढिलो भए शरीरका अन्य भागमा फैलिएर ज्यानै जान सक्छ ।
यो क्यान्सर कति जना शिशुमा देखिएको छ ?
२० हजार नवजात शिशुमध्ये १ जनामा देखा पर्छ । यो रोगले शिशुको एउटा वा दुवै आँखामा असर गर्न सक्छ । यद्यपि धेरै बालबालिकाको एउटा आँखामा मात्र असर परेको पाइन्छ ।
आँखाको क्यान्सर भए नभएको कसरी थाहा पाउन सकिन्छ ?
प्रारम्भिक अवस्थामा डिजिटल क्यामेरा, मोबाइलले अँध्यारो कोठामा शिशुको अनुहारको तस्बिर खिच्दा आँखाको नानी रातो नदेखिएर सेतो देखिए चिकित्सकको परामर्श लिनुपर्छ । फोटो खिच्दा आँखाका नानी रातो देखिनु सामान्य हो ।
यसका लक्षण के–के हुन् ?
आँखाको नानी सेतो देखिनु, आँखा डेढो हुनु, आँखा लामो समयसम्म असामान्य रूपमा रातो हुनु तथा आँखा दुख्नु हुन् । आँखा आफै ठूलो भएर बाहिर निस्कन थाल्यो भने रेटिनोब्लास्टोमा भएको हुनसक्छ । यो रोग कतिपयमा एउटै आँखामा त कतिपयमा दुईवटै आँखामा हुनसक्छ ।
रेटिनोब्लास्टोमा बढी हुने सम्भावना कसलाई हुन्छ ?
रेटिनोब्लास्टोमा रोगले असर गरेका बुवाआमाका बालबालिकालाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ । ५ वर्षमुनिका बालबालिकामा यो रोग देखापर्न सक्छ ।
रेटिनोब्लास्टोमा भएका मानिसका छोराछोरीमा यो रोग लाग्ने सम्भावना कत्तिको हुन्छ ?
परिवारमा पहिले कसैलाई रेटिनोब्लास्टोमा भएको छ भने शिशुमा पनि रेटिनोब्लास्टोमा हुने सम्भावना ४० प्रतिशत हुन्छ । उसको परिवारमा पहिले कसैलाई रेटिनोब्लास्टोमा भएको छैन तर उसको एउटा आँखामा रेटिनोब्लास्टोमा छ भने शिशुमा रेटिनोब्लास्टोमा हुने सम्भावना ८ प्रतिशत हुन्छ ।
परिवारमा पहिले कसैलाई भएको छैन तर उसको दुवै आँखामा रेटिनोब्लास्टोमा छ भने उसको शिशुमा रेटिनोब्लास्टोमा हुने सम्भावना ४० प्रतिशत हुन्छ ।
रेटिनोब्लास्टोमा भए–नभएको कुरा कसरी थाहा पाउने ?
आँखा रोग विशेषज्ञले आँखा–पर्दा (रेटिना) को जाँच गरी यो रोग पत्ता लगाउन सक्छन् । यसैगरी आँखाको अल्ट्रासाउन्ड, आँखा तथा मस्तिष्कको सिटिस्क्यान वा एमआरआई गरेर पनि यो रोग पत्ता लगाउन सकिन्छ ।
यसको उपचार कसरी गरिन्छ ?
लेजर, क्रायोथेरापी, केमोथेरापी, रेडियोथेरापी तथा शल्यक्रिया आदि यो रोगका प्रमुख उपचार पद्धति हुन् । आँखाको क्यान्सरको किसिम, आकार, फैलावट र एक वा दुवै आँखा प्रभावित भएको अवस्थाअनुसार उपचार गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ शिशुलाई एकभन्दा बढी उपचार पद्धति एकै पटक वा धेरै पटक पनि आवश्यक हुन सक्छ ।
आँखा निकालिएका बिरामीलाई कसरी पुनर्स्थापना गर्न सकिन्छ ?
शिशुको ज्यान बचाउन आँखाको डल्लो पूर्णरूपमा निकालेपछि कृत्रिम आँखा राखेर आँखाको सौन्दर्य तथा शिशुको आत्मविश्वास कायम राख्न सकिन्छ । यसरी राखिएको कृत्रिम आँखाले देख्न भने सकिँदैन ।
विशेष
समयमै यो क्यान्सरको पहिचान नभए शिशुको ज्यानै जान सक्छ ।
जन्मजात रूपमा आउने यो क्यान्सरको पहिचान छिटो र समयमै उपचार भए शिशुको दृष्टि, आँखा तथा जीवन रक्षा गर्न सकिन्छ ।
यो रोग पाँच वर्षमुनिका बालबालिकामा लाग्ने भएकाले तीन वर्षभित्र आँखाको जाँच गरेर शिशुको जीवन बचाउन सकिन्छ । ९० प्रतिशतमा ३ वर्ष नपुग्दै देखिन्छ ।
पहिले–पहिले बिरामीहरू क्यान्सरले आँखा नै बाहिर निस्किएपछि मात्र उपचारका लागि आउँथे भने अहिले आँखाको नानीेमा टीका देखिनेबित्तिकै आउन थालेका छन् ।
नेपाललगायत विकासोन्मुख मुलुकमा यो रोगबाट मृत्यु हुने रोगीको संख्या ३० देखि ७० प्रतिशत छ तर विकसित देशमा १ प्रतिशतभन्दा कम पाइन्छ ।