Successfully Copied

बर्डफ्लु : पशुपंक्षीबाट  मानिसमा सजिलै सर्दैन

बर्डफ्लु पंक्षीबाट सर्ने रुघाखोकीजस्तो एक प्रकारको रोग हो । एच फाइब एन वान भाइरसका कारण बर्डफ्लु लाग्छ । नेपालमा बसाइ–सराइ गर्ने चराहरू पशुपंक्षीजस्तो हाँस, कुखुरा, सारस, बट्टाई आदिबाट यो रोग सजिलै सर्न सक्छ । पशुपंक्षीबाट पशुपंक्षीमा सजिलै बर्डफ्लु सरे पनि पशुपंक्षीबाट मानिसमा भने सजिलै सर्दैन । 

गत महिना बर्डफ्लुबाट पहिलो पटक एक २१ वर्षीय किशोरको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । खोकी तथा ज्वरोका कारण अस्पताल भर्ना भएका ती किशोरको पाँच दिनपछि श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको थियो । एच फाइब एन वान भाइरस सन् २००९ देखि नेपालमा पंक्षीहरूमा देखापर्दै आए पनि मानिसमै संक्रमण भै मृत्यु भएको भने नेपालका लागि पहिलो घटना थियो–त्यो ।  सोही विषयको सेरोफेरोमा रहेर डा. अनुप बाँस्तोलासँग गरिएको कुराकानी

बर्डफ्लु कस्तो रोग हो ? यो कसरी लाग्छ ?

बर्डफ्लु पंक्षीबाट सर्ने रुघाखोकीजस्तो एक प्रकारको रोग हो । एच फाइब एन वान भाइरसका कारण बर्डफ्लु लाग्छ । नेपालमा बसाइ–सराइ गर्ने चराहरू पशुपंक्षीजस्तो हाँस, कुखुरा, सारस, बट्टाई आदिबाट यो रोग सजिलै सर्न सक्छ । पशुपंक्षीबाट पशुपंक्षीमा सजिलै बर्डफ्लु सरे पनि पशुपंक्षीबाट मानिसमा भने सजिलै सर्दैन । 

बर्डफ्लुका लक्षण के–के हुन् ? 

उच्च ज्वरो आउनु, रुघाखोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, मांसपेशी दुख्नु, छाती दुख्नुका साथै पखालासमेत लाग्न सक्छ । संक्रमण फैलिइसकेपछि सास फेर्न कठिन हुन्छ अनि दम र निमोनियाँले समेत समात्छ । 

बर्डफ्लुको चर्चा चलिरहेको अवस्थामा मासु–अण्डा खान हुन्छ ? 

बर्डफ्लुको चर्चा भएपछि मानिसहरू डराएर कुखुराको मासु तथा अण्डा खाँदैनन् । यसले गर्दा कुखुरा व्यापारीलाई पनि असर पार्छ । कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर खाँदा जोखिम हुँदैन । ७० डिग्री सेन्टिग्रेडमा मासु पकाएपछि भाइरस पूर्णरूपमा मर्छ । साथै अण्डा पनि पकाएर तथा उसिनेर खान सकिन्छ । 

सचेत हुने उपाय के–के हुन् ? 

पशुपंक्षी र यसका उत्पादन, यसका सम्पर्कमा रहनेहरूले विशेष सावधानी अपनाउनुपर्छ ।

कुखुरा फर्म (पोल्टी फर्म) मा काम गर्नेहरूले एप्रोन तथा मास्क लगाउनुपर्छ । काम सकेर निस्किएपछि हातखुट्टा साबुनपानीले धुनुपर्छ । 

फर्ममा कुखुरा तथा चल्ला मर्न थाले सम्बन्धित निकायलाई खबर गर्नुपर्छ । मरेका कुखुरालाई पशु विभागमा खबर गरी उचित ठाउँमा व्यवस्थापन गर्नुपर्छ । फर्ममा बर्डफ्लु देखिए त्यहाँ काम गर्नेहरुले स्वास्थ्य परीक्षण गराउनुपर्छ । 

संक्रमित कुखुराको मासु बजारमा आउन दिनुहुँदैन । मरेका कुखुराको र्‍याल, सुली आदिको सम्पर्कमा आउँदा ख्याल राख्नुपर्छ । ती वस्तुको सम्पर्कमा आउनुअघि, पन्जा, एप्रोन तथा मास्क लगाउनुपर्छ साथै सरसफाइमा विशेष ध्यान दिनुपर्छ । 

कुखुरापालक व्यवसायी, कुखुरा काट्ने र मासु बेच्नेहरूले बढी सचेत हुनुपर्छ । कुखुराको मासु पकाउनुअघि र पकाइसकेपछि साबुनपानीले हात धुनुपर्छ । ७० डिग्री सेन्टिग्रेडमा मासु पकाउँदा भाइरस मर्छन् । काँचो मासु खानुहुँदैन । राम्रोसँग पकाएर खान सकिन्छ । वरपरको वातावरण सफा राखे संक्रमणको सम्भावना घट्छ । 

मरेका कुखुरा र चराचुरुङ्गीबाट टाढै रहनुपर्छ । कुखुराको काँचो मासु काँटछाँट गर्ने र पकाउने मानिसले नांगो हातले नाक, मुख छुनुहुँदैन । छुनैपरेमा पन्जा तथा मास्क प्रयोग गर्नुपर्छ । एप्रोन लगाएर मात्र मासुको काम गर्नुपर्छ । मरेका पंक्षीको सुलीबाट टाढै रहनुपर्छ । इन्फ्लुयन्जाको शंका लागे स्वास्थ्यसंस्थामा गई चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ । 

(डा. बाँस्तोला प्रमुख कन्सल्टेन्टको रूपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत छन् ।)

टिप्स 

सन् १९९६ मा यो भाइरस पत्ता लागे पनि विश्व स्वास्थ्य संगठनकै तथ्यांकअनुसार सन् २००३ देखि हालसम्म विश्वभरि जम्मा ८ सय ६० जना मानिसमा यो संक्रमण भएको पाइएको छ । तथ्यांकअनुसार तीमध्ये आधाजतिको मात्र मृत्यु भएको छ । यो एक प्रकारको अत्यधिक संक्रमण हुने इन्फ्लुयन्जा भाइरस हो । यसले पशुपंक्षीमा श्वासप्रश्वसाको समस्या सिर्जना गर्छ । संक्रमित पंक्षीको प्रत्यक्ष सम्पर्कमा आँउदा विशेष सावधानी अपनाए असर गर्दैन ।

 

 Image