Successfully Copied

‘ पृथ्वी सबैको साझा हो’

पृथ्वीको मानवका रूपमा मैले मेरो अधिकारको कुरा गरिरहँदा आफ्ना वरिपरिका जीवनजन्तु, बोटबिरुवाको पनि अधिकारको कुरा विचार गर्नुपर्नेरहेछ ।


सरला गौतम सामाजिक सरोकारमा चाख राख्ने स्वच्छन्द कलमजीवी हुन् । रेडियोमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पत्रपत्रिकामा लेख लेख्ने गर्छिन् । समाजशास्त्रमा स्नातकोत्तर सरला यात्रालाई समेत समाज पढ्ने साधना ठान्छिन् । गत असार अन्तिममा उनको उपन्यास ‘अम्रिकाने काशी’ प्रकाशित भएको छ । यो उनको तेस्रो पुस्तक हो । यसभन्दा अघि उनका‘पिंजडाको मान्छे’ र ‘डुमेरो’ पुस्तक सार्वजनिक भइसकेका छन् ।
सरला गौतम (लेखक)

अम्रिकाने काशी कस्तो पुस्तक हो ?
हाम्रो साहित्य र सञ्चारजगत्मा हालसम्म मानव पात्रकै वर्चस्व देखिन्छ । ती पात्रमध्ये पनि विश्वव्यापी रूपमा चर्चित व्यक्तिहरू बढी देखिन्छन् तर यो पुस्तकको मूल पात्र जनावर छ । यो कुकुरको कथा मात्रै होइन । कुकुरसँग हात्ती, घोडा, बिरालो आदि अन्य जनावर पनि छन् । यो पुस्तकभित्र जनावरको आँखाबाट संसारलाई हेरिएको छ । अहिले बिग्रँदै गएको पर्यावरणीय चक्र र जनावरको दृष्टिकोणबाट संसार नियाल्दा मान्छे निर्मम देखियो । तसर्थ मानिसको स्वभाव र चरित्र बदल्नु जरुरी देखिन्छ । मानिसमा जनावर, पृथ्वी र प्रकृतिप्रतिको प्रेमको आवश्यकतालाई यो पुस्तकले औंल्याएको छ ।
यसले दिन खोजेको सन्देश के हो ?
जुन आर्थिक, सामाजिक, राजनीतिक व्यवस्थामा हामी बाँचिरहेका छौं यो पूर्ण मानवमैत्री छैन । शक्तिशाली मानवमैत्री संरचना फेरबदल हुनु आवश्यक छ । पृथ्वी नामको साझा घरभित्र भएका सम्पूर्ण प्राणी जगत्, बोटबिरुवा सबैको अधिकार छ । त्यसलाई मनन गर्नुपर्छ भन्ने सन्देश छ ।
तपाईंको बुझाइमा अधिकार के हो ?
आफ्नो खुसी, सुख, आनन्द प्राप्त गर्नु मात्रै अधिकार होइन । अधिकारसँग कर्तव्य पनि जोडिएर आउँदो रहेछ । आफूमा मात्रै केन्द्रित हुँदा अरुको अधिकार छिनेका त छैनौं भन्ने कुरा पनि हुँदो रहेछ । पृथ्वीको मानवका रूपमा मैले मेरो अधिकारको कुरा गरिरहँदा आफ्ना वरिपरिका जीवनजन्तु, बोटबिरुवाको पनि अधिकारको कुरा विचार गर्नुपर्नेरहेछ । शुद्ध पानी, शुद्ध हावा उपयोग गर्न पाउनु हाम्रो अधिकार हो तर यो प्राप्तिका लागि हामीले कर्तव्य निर्वाह गर्नुपर्दोरहेछ ।
कुन वर्गका पाठकका लागि यो उपयुक्त पुस्तक हो ?
वर्ग छुट्याएका छैनौं तर मैले पुस्तकलाई युवामैत्री बनाएको छु । जनावरको कथा भएकाले सहज छ । १० वर्षमाथिका जुनसुकै उमेरकाले बुझ्न सक्छन् । यो पुस्तक पढ्ने १५ वर्षदेखि माथिकाले आफूले बाँचेको विश्वबारे विश्लेषण गर्न सक्छन् र भविष्यमा आउने चुनौतीबारे पनि आँकलन गर्न सक्छन् ।
प्रकाशनपछि आफैंले पढ्दा यो नराखेको भए हुने वा यो राख्न बिर्सिएछ भन्ने केही लागेको छ ?
नराखेको भए हुन्थ्यो भन्ने केही छैन । पुस्तक लेखनको अवधिमा मैले अत्यन्तै सुन्दर समय बिताएँ । यो मेरो स्वर्णिम अनुभव हो । ‘काशी’ एउटा पुस्तक लेखेर मात्रै यो कथा सकिँदैन । हाम्रो टिमले अझ गहिरो–फराकिलो अध्ययन गर्दैछ, यसभित्र राख्नुपर्ने अझ थुप्रै कुरा बाँकी छन् । यसका लागि ‘स्टे ट्युन’ भन्न चाहन्छु ।

 Image