‘परिश्रम गरेपछि बाँच्ने गरी पारिश्रमिक पाउनुपर्छ’
नेतृत्वमा भएका महिलाले पनि महिलालाई कसरी अगाडि बढाउने र टिकाउने भन्ने कुरा नीतिगत रूपमा हेर्नुपर्छ ।

आजका युवा के चाहन्छन् ?
आजका युवाहरूले चाहेका कुरा वयस्कहरूको भन्दा खासै फरक छैनन् । युवाहरू पनि सुशासन, सकारात्मकता एवं मौलिकपनको विकास, कानुनी राज्य तथा सेवक सरकार चाहन्छन् ।
यसभन्दा भिन्न युवाहरू आफू जुन क्षेत्रमा बढी घुलमिल छन् त्यो क्षेत्रमा सहज रूपले बस्न, काम गर्न पाइयोस् भन्ने चाहन्छन् । साथै कलेजमा उचित ढङ्गले सुलभ मूल्यमा पढाइ होस्, विविध बहानामा बाधा सिर्जना नगरियोस्, आफूले रोजेको विषयमा मज्जाले पढ्न तथा छलफल गर्न पाइयोस्, अध्ययनसँगै ‘पार्ट टाइम’ जबको अवसर तथा अध्ययन पूरा भएपछि जागिर पाइयोस् भन्ने चाहना आम युवाको छ ।
त्यस्तो चाहना कसरी पूरा होला त ?
युवाहरूलाई टाढा पारेको मनपर्दैन । समय–समयमा युवाहरूको आवाज तथा भनाइ सुन्ने र सकेजति कार्यान्वयनमा ल्याउने काम गर्दा युवाहरूको आवाज सम्बोधन हुनसक्छ । युवाको भाषा बोलिदिने नेताहरू नै युवाहरूको रोजाइमा पर्छन् । युवाहरू अघि बढ्न उनीहरू स्वयंको भूमिका त छँदैछ, सँगै विभिन्न क्षेत्रमा वर्षौंदेखि कार्यरत व्यक्तिहरूको पनि भूमिका छ । युवाहरू सधै उत्प्रेरणा खोजिरहेका हुन्छन् । उनीहरू डुइङ बाइ लर्निङमा विश्वास गर्छन् ।
युवाहरूको प्रगतिको बाधक के होला ?
सर्वप्रथम त ‘प्रगति’ केलाई मान्ने भन्ने कुरा नै महत्वपूर्ण छ । कसैका लागि प्रगति धेरै धन आर्जन गर्नु हुनसक्छ त कसैका लागि धेरै पढ्नु । समग्रमा भन्दा हरेक क्षेत्रमा युवाको अग्रसरता र नेतृत्व नै वास्तविक प्रगति हो । सबैभन्दा पहिले आफूलाई विश्वास गर्ने पहिलो व्यक्ति आफू स्वयं हो तसर्थ आफ्नो मनोबल बलियो बनाउँदै त्यसमै अडिग रही कदम चाल्नुपर्छ । यसमा परिवार एवं समाजले बालबालिका हुर्काउने संस्कारमै परिवर्तन ल्याउनु जरुरी छ । यो कुरामा शिक्षक तथा विद्यालयको समेत महत्वपूर्ण भूमिका हुन्छ । त्यसपछि सरकारको रणनीति एवं युवामैत्री वातावरणको कुरा आउँछ ।
हरेक क्षेत्रमा युवा नेतृत्व आउन किन कठिन भैरहेको होला ?
अहिले धेरै युवा विदेश जान तल्लीन छन् । देशमा रहेका युवाहरू पनि आफ्नो शैक्षिक, पारिवारिक एवं व्यावसायिक काममा अल्झिएका छन् । युवाहरूलाई ‘यस्ता–यस्ता क्षेत्रहरू छन् है’ भनेर राम्रो जानकारी गराइएको छैन ।
युवाहरूका लागि अबको मुद्दा के हुनसक्छ ?
अबको मुद्दा भनेको नेपाल सुहाउँदो नीति र त्यसको प्रभावकारी कार्यान्वयन नै हो । कला, संस्कृति एवं सम्पदाको देश नेपालको मौलिकता जोगाउँदै आर्थिक उन्नतितर्फ लम्किनुपर्छ तर आर्थिक उन्नति र विकास विदेशको जस्तो होइन नेपाली माटो सुहाउँदो हुनुपर्छ ।
युवा जमातभित्र महिलाहरूको स्थिति कस्तो छ ?
महिलाहरूको स्थिति बदलिँदो छ, सशक्तीकरणतर्फ उन्न्मुख छ । यद्यपि अझै अघि बढ्न महिलाहरूले नै बढी मेहनत गर्नुपर्छ । फिल्म, टिभी तथा सिरियलका कथामा भुलेर समय र क्षमता बर्बाद गर्नुहुँदैन ।
नेपाली युवाले सुधार गर्नुपर्ने पक्ष ?
नेपालको मौलिकता, नेपालको संस्कृति बुझ्दै अघि बढ्नु पर्छ । राजनीतिका बारेमा चासो लिनुपर्छ र सुधार हुनुपर्ने पक्षका बारेमा छलफल चलाउनुपर्छ ।
प्रस्तुति : लक्ष्मी भण्डारी थापा