डा. बिहानी संज्याल
आयुर्वेद स्त्रीरोग विशेषज्ञ, सफल अस्पताल
एकजना दिदीले भन्नुभयो, ‘तिमीलाई थाहा छ, म आजभन्दा ५ वर्षअघि कति पातली थिएँ, जे खाए पनि पचाउँथें तर अहिले ३० वर्ष हुँदा पनि मेरो तौल धेरै बढेको छ । पुरानै जस्तो खान्की भए पनि मोटाउँदै गएकी छु ।’ साथमा उहाँले महिनावारी नियमित नहुने कुरा पनि बताउनुभयो ।
यो समस्या उहाँको मात्र नभएर आम दिदिबहिनीको हो । निश्चित उमेरपछि हाम्रो शरीरको बेसल मेटाबोलिक रेट (बीएमआर) कम हुने तथा शारीरिक व्यायामको कमीले मोटोपनसँगै हर्मोनल गडबडी हुने समस्या आउँछ । यस्ता तमाम रोगमध्ये अहिले विकराल बन्दै गएको समस्या हो, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) ।
पीसीओएस सामान्यतया किशोरीमा धेरै हुने भए पनि प्रजनन उमेर समूहका सबै महिलालाई हुनसक्छ । हरेक १० महिलामध्ये एक जनामा यो रोग पाइन्छ । अहिलेसम्म यसको खास कारण पत्ता नलागे पनि आनुवंशिक तथा जीवनशैलीलाई यसको कारक मानिएको छ । असन्तुलित खानपान, व्यायामको कमी, कुलत, अनिद्रा, तनाव आदिका कारण यो रोग निम्तन्छ । इन्सुलिन हर्मोन (जो हाम्रो प्याङ्क्रियाजबाट निक्लन्छ) को मात्र रगतमा अत्यधिक हुने तर कार्य क्षमता नहुने हुँदा ओभरीको कार्यमा बाधा पुग्छ । र, ओबुलेसनलाई प्रभावित पारी स–साना पानीका फोकाजस्ता सिस्ट बन्छन् । साथै पुरुष हर्मोनको मात्रा बढी हुन्छ । परिणामस्वरूप महिनावारी गडबडी, डन्डिफोर आउने, अनुहारमा तथा छातीमा रौं पलाउने आदि हुन्छ ।
कसरी थाहा पाउने ?
यसका लागि एउटा मापदण्ड छ, जसलाई ‘रोटेरडम क्राइटेरिया’ भनिन्छ । तीनमध्ये दुई लक्षण छन् भने मात्र हामीले बिरामीलाई पीसीओएस छ भनेर डायग्नोसिस गर्न मिल्छ ।
महिनावारीमा गडबडी भएको लक्षण सोधेर पनि थाहा पाउन सकिन्छ । यसैगरी एन्ड्रोजन हर्मोन (पुरुष हर्मोन) को मात्रा बढी हुँदा, अनुहारमा अनावश्यक रौं पलाउने लक्षणका आधारमा पनि अनुमान लगाउन मिल्छ । ओभरीमा सिस्ट (१०–१२ वटा) भए/नभएको भिडियो एक्स–रेबाट थाहा पाउन सकिन्छ । अन्य लक्षण पनि सँगै आउन सक्छन् । जस्तैः मोटोपन, छालाको रङ कालो हुने (विशेषतः गर्धन तथा काखीमा), सुत्न गाह्रो हुने, घुर्ने आदि ।
पत्ता लागेपछि के गर्ने ?
पीसीओएस भएको थाहा भएपछि चिकित्सकको परामर्शअनुरूप उपचार गर्नुपर्छ । विवाह भएको छैन र उमेर ३५ भन्दा कम छ भने चिकित्सकले दिने सुझाव भनेको जीवनशैली परिवर्तन नै हो । वर्तमान चिकित्सा प्रणालीमा हर्मोनको प्रयोग, मेटफर्मिन, ओबुलेसन गराउने औषधिको प्रयोग गरिन्छ । तर यस्ता औषधिको दीर्घकालीन दुष्प्रभाव हुने र परिणाम पनि सन्तोषजनक नहुने भएकाले थप सुरक्षित र प्रभावकारी उपचार विधिको खोजी भइरहेको छ । फलस्वरूप प्राचीनकालदेखि प्रयोग भइरहेको आयुर्वेद चिकित्साको उपयोगिता अझ बढी सान्दर्भिक देखिन्छ ।
आयुर्वेद उपचार
आयुर्वेदमा पीसीओएसका बारेमा ठ्याक्कै वर्णन नभए पनि दोष, धातु तथा लक्षणका आधारमा चिकित्सा वर्णन गरेको पाइन्छ । बन्ध्या, अरजस्का योनिव्यापद, आर्तवव्यापदअन्तर्गत आर्तव क्षय, नष्टआर्तव वा पुष्पघ्नी, जातहारिणी आदि रोगसँग पीसीओएसको तुलना गर्ने र चिकित्सामा पनि अवस्था हेरेर यिनको सिद्धान्त अपनाउने गरिन्छ । त्यसैगरी धात्वग्नि, जन्य बीज दृष्टिसँग पनि चिकित्सा सम्बन्धित छ ।
पीसीओएसका सन्दर्भमा आयुर्वेद उपचारको मुख्य काम भनेको शरीरको आन्तरिक वातावरणलाई सही गर्नु हो । हर्मोनल गडबडी, मेटाबोलिक डिसअर्डरलाई कम गर्न शरीरको शोधन जरुरी हुन्छ, जसलाई पञ्चकर्म विधिबाट गरिन्छ । पञ्चकर्मले शरीरको दोष हटाएर पुनर्ताजगी दिन्छ । शरीरमा भएका असन्तुलन स्वतः सन्तुलनमा आउँछन् र त्यसको प्रभाव दीर्घकालसम्म रहन्छ ।
शरीर शुद्ध गर्नेपाँच विधिलाई पञ्चकर्म भनिन्छ । यसमा वमन, विरेचन, बस्ती, रक्तमोक्षण र नस्य पर्दछन् । आवश्यकतानुसार बिरामीमा वातपित्त कफको विकृत हेरेर पञ्चकर्म कुन गर्ने भन्ने निर्धारण गरिन्छ । वमन र विरेचन प्रक्रियाले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छन्। यी प्रक्रियाले हर्मोन सन्तुलनमा सुधार ल्याउने र वजन घटाउन सहयोग पुर्याउँछन् । एक अध्ययनअनुसार ६ महिना लामो उपचारपछि ८५ प्रतिशत महिलामा पीसीओएसका लक्षणमा सुधार देखिएको थियो । महिनावारी चक्रको नियमितता र हर्मोन स्तरमा सुधार आएको थियो ।
अनुसन्धानले देखाउँछ कि आयुर्वेदिक पञ्चकर्म उपचारले अनियमित महिनावारी, पीडादायक महिनावारी (डिस्मेनोरिया) र छालाको रङ परिवर्तन जस्ता लक्षण घटाउँछ । ४० बिरामीबीचको अध्ययनमा उपचारपछि ५७.५ प्रतिशत महिलाले सामान्य महिनावारीको अनुभव गरेका थिए । नियमित पञ्चकर्म गराउँदा महिलाको जीवनशैलीमा सकारात्मक परिवर्तन देखिएको छ । सन् २०१७ माभारतको जयपुरमा गरिएको अनुसन्धानमा पीसीओएस भएका महिलामा पञ्चकर्म वमनपछि महिनावारी गडबडी, मोटोपन तथा हिर्सुटिज्ममा सकारात्मक प्रभाव पाइएको थियो ।
पीसीओएसले गर्दा हुने निःसन्तानपनको आयुर्वेद उपचारका विषयमा भारतमा गरिएको अनुसन्धानमा आयुर्वेद औषधि जस्तैः चन्द्रप्रभावटा, शतपुष्पा, शतावरी, गुडुची, बाला आदिको राम्रो प्रभाव भएको पाइयो । अन्य अनुसन्धानले पनि विभिन्न जडीबुटीको प्रभावकारिता पुष्टि गरेका छन् । अनुसन्धानहरूका अनुसार पीसीओएसकोउपचारमा निम्न केही आयुर्वेदिक औषधि उपयोगी रहेका छन् ः
–शतावरी (कुरिलो) ले महिला प्रजनन हर्मोन सन्तुलन गरी महिनावारी चक्रलाई नियमित बनाउन र अण्डा (ओभम) विकासमा सहयोग पुर्याउँछ ।
–अश्वगन्धाले तनाव घटाउन र हर्मोनल सन्तुलनमा सुधार गर्न मद्दत गर्छ ।
–गुग्गुलले वजन घटाउन, मेटाबोलिजममा सुधार गर्न र कोलेस्ट्रोल स्तरलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
–त्रिफलाले पाचन सुधारी मोटोपन कम गर्न र शरीरको विषाक्तता हटाउन मद्दत गर्छ ।
–काञ्चनारले अण्डाशयको स्वास्थ्य सुधार्न र हर्मोनल असन्तुलनलाई कम गर्न मद्दत गर्छ।
–दशमूलको प्रयोगले महिनावारी नियमित गर्नुका साथै अण्डाको गुणस्तर वृद्धि गर्दै प्रजनन स्वास्थ्य लाई सुधार गर्छ ।
के खाने, के नखाने ?
धेरैजसो बिरामीले आफूलाई समस्या भएको थाहा पाएपछि निकै दुःख गरेर खानेकुरा बार्ने चलन छ, तर त्यो दीर्घकालीन हुँदैन । समयको अभाव र व्यस्तताले गर्दा केही समयपछि पुनः पहिलेको अवस्थामा फर्किने, दिक्क मान्ने, आफूप्रति नकारात्मक भावना विकास हुने गर्छ । त्यसको न्यूनीकरणका लागि वातावरण अनुकूल खानाको व्यवस्थापन गर्नुपर्छ । सकेसम्म कार्बोहाइड्रेटहुने तथा तयारी खानाकम खाने गर्नुपर्छ । फाइबर र प्रोटिनमा जोड दिनुपर्छ । एकै पटकमा धेरै नखाने र होसपूर्वक खाँदा मोटोपन कम गराउन सकिन्छ । सकेसम्म महिनावारीका बेला धेरै मसालेदार र पिरो नखाने र दुग्धजन्य पदार्थ र फलफूलमा जोड दिनुपर्छ ।
व्यायाम तथा योग
पीसीओएसकोउपचारमा एक महत्वपूर्ण पक्ष व्यायाम हो । हप्तामा कमसेकम ५ दिन, हरेक दिन १ घण्टा पसिना आउने किसिमको व्यायाम गर्नाले इन्सुलिनको अवरोध कम हुन्छ । अन्य लक्षण पनि कम हुने अनुसन्धानले देखाएको छ । तनाव कम गर्न तथा हर्मोनल चक्रलाई सन्तुलनमा राख्न पनि व्यायाम आवश्यक हुन्छ ।
पीसीओएसमायोगको भूमिका नकार्न मिल्दैन । किनकि योगले शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्रवर्धन गर्न मद्दत गर्छ । नियमित योग अभ्यासले महिलाको टेस्टोस्टेरोन स्तरमा २९ प्रतिशत कमी ल्याउँछ । तनाव, चिन्ता र डिप्रेसनलाई घटाउँछ । महिनावारी चक्रलाई नियमित बनाउन सहयोग पुर्याउँछ भने इन्सुलिन संवेदनशीलता बढाउँदै मेटाबोलिजमलाई सुधार्छ । विशेष योगासनले प्रजनन अंगलाई सक्रिय पार्न र रक्त प्रवाह बढाउन सहयोग गर्छन् । यसरी, नियमित योगाभ्यासले शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण सुधार ल्याउँछ ।
आयुर्वेद विधिबाट उपचार गर्दा पीसीओएसकोतत्काल सही व्यवस्थापन गर्न सकिन्छ भने दीर्घकालमा हुने अन्य जटिलता (मुटुरोग, मधुमेह, निःसन्तानपन आदि) पनि न्यूनीकरण गर्न सकिन्छ । यसका लागि सम्बन्धित विषय विज्ञसँग परामर्श गरी उपयुक्त आहारविहार तथा उपचार प्रक्रिया अपनाउनुपर्छ ।