Successfully Copied

जिब्रो पनि सफा गर्नुपर्छ ?

जिब्रोको काम स्वाद दिने पनि भएकाले यस्ता धारिलो वस्तुको प्रयोगले स्वाद दिने ग्रन्थिहरूमा असर पर्छ । सफा गर्दा नरम खालको ब्रस प्रयोग गर्नुपर्छ र सफा गर्दा धेरै घोट्नुहुँदैन ।


शरीर र मुखका लागि जिब्रो महत्वपूर्ण अंग हो । मुखलाई हामी ऐनाका रूपमा लिन सक्छौं । किनभने चिकित्सककहाँ हामी पुग्यौं भने पहिला मुख ‘आँ’ गर्नुस् भनेको सुन्छौं । जिब्रोबाट नै शरीरमा के समस्या छ भन्ने कुरा केही हदसम्म पत्ता लगाउन सकिन्छ ।
वरिपरि धारिलो र कडा संरचनाको बीचमा जिब्रो रहेको हुन्छ । जसकारण जिब्रोमा घर्षण भइरहन्छ । लगातारको घर्षणले जिब्रोमा घाउ हुने र पछि क्यान्सरसम्म हुनसक्छ । जिब्रोको क्यान्सर बढ्दो रूपमा छ । जिब्रोको सही तरिकाले हेरचाह गरिएन भने सानो समस्याबाट पनि ठूलो समस्या निम्त्याउन सक्ने जोखिम हुन्छ ।



जिब्रोको हेरचाह जरुरी
जिब्रोमा पनि रोग लाग्न सक्छ । त्यसैले जिब्रोलाई सफा र स्वस्थ राख्नु जरुरी हुन्छ । जिब्रोको नियमित हेरचाह गरिएन भने सामान्यदेखि जटिल समस्यासम्म आउन सक्छ । जिब्रोमा घाउ–खटिरा आउने, जिब्रो फुल्नेदेखि क्यान्सरसम्म हुनसक्छ । हाम्रो खानपान, जीवनशैली, दिनचर्याले जिब्रोमा धेरै असर पारेको हुन्छ । जिब्रोलाई स्वस्थ राख्नका लागि त्यस वरिपरि रहेका दाँतको संरचना सही हुनुपर्छ । दाँत नमिलेको, बाङ्गोटिङ्गो भएको, तिखो छ भने त्यसलाई मिलाउनुपर्छ । यसोगर्दा जिब्रोलाई बारम्बार घर्षण गर्दैन ।


जिब्रो सफा भएन भने मुख गन्हाउने समस्या पनि आउँछ । त्यहाँ ब्याक्टेरिया जम्छन् र सीधै पेटसम्म पुग्छन् । यसले जिब्रोलाई मात्र नभएर पेटमा पनि विभिन्न समस्या निम्त्याउन सक्छन् र ब्याक्टेरियाहरू विभिन्न अंगमा फैलिएर पूरै शरीरका अंगमा असर पु¥याउँछन् । त्यसैले कम्तीमा पनि हप्तामा एकपटक आफ्नो जिब्रोलाई ऐनामा हेर्नुपर्छ । छामेर पनि हेर्नुपर्छ कतै गाँठागुठी आएको छ कि, सेतो, रातो, कालो घाउ आएको छ कि भनेर हेर्नुपर्छ । यस्ता घाउहरू एक हप्तादेखि १४ दिनभित्रमा पनि निको भएको छैन भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।


त्यसबाहेक खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । मद्यपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थ, जंक फुडको सेवन गर्नुहुँदैन् । सकेसम्म प्राकृतिक खानेकुरा खानुपर्छ । जिब्रोको व्यायाम पनि जरुरी हुन्छ ।

ब्रस गर्ने तरिका नै गलत
जिब्रोलाई नियमित सफा गर्नुपर्छ । बिहान उठ्नेबित्तिकै र राति सुत्ने बेला ब्रस गर्दा जिब्रोलाई सफा गर्नुपर्छ । जिब्रोलाई सफा गर्नुपर्छ भन्दैमा धारिलो वस्तुको प्रयोग गर्नुहुँदैन । जिब्रोको काम स्वाद दिने पनि भएकाले यस्ता धारिलो वस्तुको प्रयोगले स्वाद दिने ग्रन्थिहरूमा असर पर्छ । सफा गर्दा नरम खालको ब्रस प्रयोग गर्नुपर्छ र सफा गर्दा धेरै घोट्नुहुँदैन । शिशुहरूको पनि जिब्रो सफा गर्नुपर्छ । जिब्रोमा सेतो बाक्लो बसेको हुन्छ त्यसलाई तातो पानीमा कपास भिजाएर बिस्तारै सफा गर्नुपर्छ ।
धेरैले ब्रस बिहान र बेलुका खानापछि गर्छन्, जुन गलत हो । तर रातिको खाना खाएपछि रातभर मुखमा ब्याक्टेरिया जमेको हुन्छ । त्यो ब्याक्टेरियालाई फाल्न बिहान उठेपछि ब्रस गर्नुपर्छ । खाना आफैमा ब्रस हो । त्यसैले व्रत बस्नेहरूले दिनको तीन पटक ब्रस गर्नुपर्छ ।



जिब्रोमा लाग्ने रोगहरू
जिब्रोमा थुप्रै रोग लाग्न सक्छन् । कसैकसैले जन्मदै रोग लिएर आएका हुन्छन् । जिब्रो सुन्निने, फंगल इन्फेक्सन, सिस्ट, ट्युमर, स–साना अल्सर आदि रोग लाग्न सक्छन् ।
(डा. घिमिरेसँग सुजाता मुखियाले गरिएको कुराकानीमा आधरित)

 Image